काठमाडौं । विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ चयन भएका छन् ।
अफ्रिकी मुलुक ताञ्जानियामा भएको काउन्सिलको शिखर सम्मेलनले श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेको हो ।
यसअघि श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव थिए ।
काउन्सिलको आगामी ३ वर्षका लागि सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन भएको हो । यद्यपी चुनावका सम्पूर्ण प्रक्रिया पूरा गरिएको थियो ।
नेपाल (श्रेष्ठ) को प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरुमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा.तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा थिए ।
काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्ष अली हान्सेर्ली (साइप्रस) निर्वाचित भएका छन् । त्यस्तै, तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष भएका छन् ।
अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो चयन भएका छन् ।
सोमबारदेखि तान्जानियाको आरुसामा जारी काउन्सिलको विश्व सम्मेलन शुक्रबार सम्पन्न हुने छ । सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधि सहभागी छन् ।










