२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जुम्लाका तीन स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम’



अ+ अ-

जुम्ला । बेरोजगार तथा विपन्न घरपरिवारलाई रोजगारी दिने उद्देश्यले यहाँका तीन स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुआत भएको छ ।  

कनकासुन्दरी , तातोपानी  र हिमा गाउँपालिकाले सो कार्यक्रम कार्यान्वयनमा ल्याएका हुन्  । कनकासुन्दरी २७२, हिमा १६१  र तातापानीकका २६३ जनालाई सो कार्यक्रमअन्तर्गत १५ दिनको रोजगारी दिइने जनाइएको छ ।   

रोजगारका लागि योजना छनोट  शुरु गरेको कार्यक्रमका संयोजक हंशराज न्यौपानेले बताउनुभयो । लकडाउनमा सामाजिक दूरी कायम गरी मास्क, स्यानिटाइजर र साबुनको प्रयोग गर्ने गरी  काम शुरु गरिएको हो । 

उहाँले भन्नुभयो, “डिलेचौरदेखि लेकपोर गाउँसम्म जाने ग्रामीण सडक निर्माण गर्ने काम भइरहेको छ ।” दैनिक रु ८०० ज्याला दिने गरी ग्रामीण सडक निर्माण गर्ने काम भइरहेको छ । रोजगार कार्यक्रमको बजेट रु ३३ लाख ७१ हजार रहेको छ । 

त्यसैगरी हिमा गाउँपालिकाले  कार्यक्रमअन्तर्गत आर्थिक अवस्था कमजोर भएका १६१ जनालाई रोजगारी  दिएको छ । यही १५ जेठदेखि जेठ मसान्तसम्म १५ दिन रोजगारको काम शुरु भएको हो ।  
    
गाउँपालिकाभित्रका विभिन्न वडामा आरसिसी, गोरेटोबाटो, सिँचाइ कुलो, ढल निकास, कृषि सडक निर्माणको काम दिएको छ । गाउँपालिकाले तयार पारेको तथ्याङ्कअनुसार अति विपन्न र बेरोजगारलाई जारी बन्दाबन्दीको समयमा काम दिएको कार्यक्रम संयोजक दीपेन्द्र पौडेलले बताउनुभयो । 

लकडाउन जारी रहँदा घरखर्च चलाउन गाह्रो भएका अति विपन्नलाई गाउँपालिकाले रोजगारीको अवसर प्रदान गरेपछि रोजगार कार्यक्रममा आबद्ध भएका मजदुर खुशी भएको स्थानीय जयबहादुर रोकायाले बताउनुभयो ।

कार्यक्रमले कामदारलाई दैनिक रु ६६० पारिश्रमिक प्रदान गरिने गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । 

कार्यक्रमका लागि गाउँपालिकाका एक हजार ७८५ रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका थिए । सो कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा गाउँपालिकालाई रु ४२ लाख रकम सशर्त अनुदान बजेट रहेको छ । सोही कार्यक्रममार्फत गाउँपालिकामा विभिन्न आयोजना सञ्चालन गरिने गाउँपालिकाको कार्यक्रम शाखाले जनाएको छ । 

यसैगरी तातोपानी गाउँपालिकामा कार्यक्रमअन्तर्गत सूचीकृत भई विपन्नको प्राथमिकतामा परेका व्यक्तिलाई रोजगारीको काम शुरुवात गरिएको छ ।  गाउँपालिका–१ का २४ जना र वडा नं ७ बाट ५५ जनालाई काम दिइएको कार्यक्रम संयोजक सरिता शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं १ मा २४ जनाबाट काम शुरुवात गरिएको छ । यसैगरी सबै वडाका अति विपन्नलाई रोजगारीको काम दिइनेछ । 

तातोपानीका आठवटा वडाका २६३ जनालाई एक महिनाका लागि रोजगारको काम दिइएको गाउँपालिकाले जनाएको छ ।  कार्यक्रमअन्तर्गत प्राथमिकतामा परेका वडा नं १का २४, वडा नं २ का ४४, वडा नंं ३ का २१,  वडा नं ४ का ४०, वडा नं ५ का १९, वडा नं ६ का ३८, वडा नं ७ का ५५  र वडा नं ८ का २२ जनालाई पहिलो चरणमा प्राथमिकताका क्रममा काम दिइएको जनाइएको छ । 

अति विपन्नलाई काम दिएर रोजगारी शुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । सो गाउँपालिकामा तीन हजार २६० जना सूचीकृत भएका थिए ।  कार्यक्रमका लागि रु ५३ लाख ८८ हजार रकम रहेको गाउँपालिकाले जनाएको छ ।  रोजगारी पाउनेले प्रतिदिन रु ६६० ज्याला पाउने छन् ।

गुठीचौर, तिला, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाले अहिलेसम्म सो कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् । अतिविपन्न र बेरोजगारको तथ्याङ्क सङ्कलन गरे पनि लकडाउनका कारण रोजगार कार्यक्रम सञ्चालन हुन नसकेको जनाइएको छ । 

सो कार्यक्रममार्फत थप दुई लाख रोजगारी सिर्जना गर्ने सरकारले लक्ष्य लिएको छ । यसका लागि आगामी आवमा  कार्यक्रमका लागि रु ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।