८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती
अ+ अ-

तानसेन, (पाल्पा) । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।

टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताउनुभयो । यहाँका प्रायजसोले बारीभरी टिमुर लगाएको उहाँले बताउनुभयो ।

“यहाँका सबैजसो किसानले बारी र बाँझो जमिनमा टिमुर लगाएका छन्, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ”, घर्तीले भन्नुभयो । टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उहाँको भनाइ छ ।

पहिले मकैखेती लगाउँदै आउनुभएकी घर्तीले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाउनुभएको छ । दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुुरखेती गर्न थालेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन् । मेहिनत गरेर लगाएको बाली भित्र्याउने बेलामा आएर वन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाइदिएकी हुँ”, टिमुरबाट राम्रो आम्दानीसमेत हुने घर्तीको भनाइ छ । उहाँ मात्र हैन यहाँका अधिकांश किसान अन्नबाली छाडेर टिमुरखेतीमा लागेका छन् ।

यहाँका सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोटको देउराली, पालुङमैनादी, कुसुमखोला, फेकका गाउँमा अन्नबाली वन्यजन्तुले सखापै बनाउन लागेपछि किसानले वनबालीअन्तर्गत टिमुरको व्यावसायिक खेती गर्न थालेका हुन् ।

रिब्दीकोट गाउँपालिका ठिमुरे ढुस्टुङका वुद्धबहादुर राना पहिला–पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे । जब टिमुर आम्दानीको बलियो माध्यम बन्यो, त्यसपछि भने बारी ढाक्ने गरी सबैले टिमुर लगाउन थालेको उहाँ बताउनुहुन्छ । बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुरखेतीले जिल्लाका दुई हजारभन्दा बढी किसानलाई फाइदा पुगेको छ ।

असारको अन्तिम सातादेखि असोज–कात्तिक महिनासम्म टिमुर बिक्री गरेर यहाँका किसानले वार्षिक रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन् । टिमुरबाट वार्षिक रु दुई लाख आम्दानी गरेको रिब्दीकोट–६, ठिमुरेका किसान शिवबहादुर जिसीले बताउनुभयो । चार वर्षअघि बाँझो जग्गामा लगाइएको टिमुरका बोटले अहिले राम्रो फाइदा दिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढेका कारण सहरी क्षेत्रमा टिमुरको माग अत्यधिक छ । बजारमा अचार बनाउन, तरकारी पकाउँदा तथा मसला बनाउन र औषधि बनाउन टिमुरको प्रयोग हुँदै आएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बस्ने मानिसहरूले टिमुरको प्रयोग बढाएकाले टिमुरले राम्रो मूल्य पाएको किसानको भनाइ छ ।

अग्लो र ओसिलो स्थानमा यसको खेती गर्न सकिने भएकाले पाल्पाको अधिकांश स्थानमा टिमुरको खेती गर्न सकिने किसानको भनाइ छ । बाँदरले अन्य खेतीमा आक्रमण गरिरहेका बेला टिमुरखेती किसानका लागि फाइदाजनक र सुरक्षित भएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुर खेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ ।” एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौसम्म फाइदा लिन सकिने भट्टराईको भनाइ छ । टिमुरको पकेट क्षेत्र बनाउन कार्यालयबाट बिरुवासमेत वितरण गर्ने गरेको उहाँँले बताउनुभयो । जिल्लाका पूर्वखोला र निस्दी गाउँपालिकाका विभिन्न स्थानमा टिमुरखेती हुने गरेको उहाँको भनाइ छ । रासस