२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवराज सुवेदीले भने– मैले राप्रपा त्यागेको छैन, न्याय माग्न निर्वाचन आयोग आएँ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगको अध्यक्षबाट पदमुक्त भएका नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

उजुरी पश्चात पत्रकारसँग कुरा गर्दै उनले आफूमाथि अन्याय भएको र न्याय माग्नका लागि निर्वाचन आयोग आएको बताए ।

पदबाट हटाइएकोबारे सञ्चारमाध्यमबाट थाहा पाएको बताउदै उनले भने, ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि निर्णय लिनु अगाडि मलाई सोध्नुपर्थ्यो । मलाई सोधिएको छैन । चिठी लेखेर दिएको पनि छैन । मैले मिडियाबाट थाहा पाएँ, मलाई निकाल्नुभयो र अर्को मान्छे राख्नुभयो रे भनेर ।’

सुवेदीले पार्टीभित्र अनेक षड्यन्त्र भइरहेको दाबी गर्दै भने, ‘म त पार्टीमा अन्याय हुन लाग्यो भनेर त्यसको विरोध स्वरूप आएको हुँ । पार्टी फुटोस् भन्ने चाहना होइन, षड्यन्त्र नहोस् भन्ने चाहना हो ।’

यस्तै, पत्रकारको तपाईँले त आफैँ राप्रपा त्यागे भनेर सार्वजनिक रूपमा घोषणा गर्नुभएको होइन र ? भन्ने पश्नमा उनले आफूले संयुक्त जनआन्दोलन समिति घोषणा हुँदा राप्रपा परित्याग गरिसकेको भनेर कहीँकतै नभएको बताए । उनले भने, ‘त्यो भाषणको अगाडि र पछाडि हेर्नुपर्छ । मैले भनेको थिएँ, संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र र हिन्दू राष्ट्रको निम्ति जुनसुकै सेक्रेफाइस गर्न पनि तयार छु, पार्टीबाट राजीनामा दिनुपर्‍यो, छोड्नुपर्‍यो भने पनि तयार छु, तर यो पद म छोड्दिन भनेको थिएँ । जे सुविधा लाग्छ त्यही काटेर पोर्सन मात्रै हाल्नुभयो । ममाथि पार्टीमा अन्याय भएको छ ।’