१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कुलिङ पिरियड र अडान छोडेको रास्वपा

कुलिङ पिरियड र अडान छोडेको रास्वपा
अ अ+ अ-

नेपालमा कुलिङ पिरियड सम्बन्धी हालसालैका घटनाक्रमले सार्वजनिक प्रशासनमा पारदर्शिता र निष्पक्षताको मुद्दालाई सतहमा ल्याएको छ । यो नीति निजामती कर्मचारी वा सरकारी सेवाबाट अवकाश प्राप्त व्यक्तिहरूलाई निश्चित समयसम्म संवैधानिक वा राजनीतिक लाभको पदमा नियुक्त हुनबाट रोक लगाउन बनाइएको हो ।

कुलिङ पिरियडको अवधारणा नेपालको प्रशासनिक सुधारको हिस्सा हो । जसले स्वार्थको द्वन्द्व रोक्न र संवैधानिक निकायहरूमा निष्पक्षता कायम गर्न जोड दिन्छ । यो प्रावधानले अवकाशप्राप्त कर्मचारीलाई तत्कालै संवैधानिक आयोग (जस्तैः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग) वा राजनीतिक पदमा नियुक्त हुनबाट रोकेर प्रशासनिक निष्पक्षता सुनिश्चित गर्छ । संसद्मा दर्ता भएको संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयकमा शुरुमा कुलिङ पिरियडको प्रावधान थिएन । तर राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा सांसदहरूले अवकाश भएको दुई वर्षसम्म संवैधानिक वा राजनीतिक नियुक्तिमा रोक लगाउनुपर्ने माग गरियो । र यो प्रावधान थप्ने सहमति भएको थियो । पूर्वप्रशासक काशीराज दाहालको नेतृत्वमा गठित समितिले १० वर्षअघि नै दुई वर्षको कुलिङ पिरियड लागू गर्न सिफारिस गरेको थियो । जसले संवैधानिक निकायको निष्पक्षता र क्षमता अभिवृद्धिमा जोड दिएको थियो । अमेरिकामा उच्चपदस्थ कर्मचारीका लागि दुई वर्ष र अन्य कर्मचारीका लागि एक वर्षको कुलिङ पिरियड लागू छ ।

विवादको शुरुवात

कुलिङ पिरियड सम्बन्धी विवाद तब शुरु भयो, जब राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकमा समावेश यो प्रावधान संसद्मा पेश हुँदा हटाइएको वा तोडमोड भएको खुलासा भयो । प्रतिनिधि सभाबाट छलफल गरेर पनि पारित भइसकेपछि कुलिङ पिरियड सम्बन्धी सहमति भएको प्रावधान हटाइएको पाइयो । छलफल भएर पारित हुन्जेलसम्म सांसदहरुले यसबारेमा आवश्यक ध्यान दिन सकेनन् । समितिका सभापति रामहरि खतिवडाले यो हेरफेर गम्भीर त्रुटी भएको बताए । उनले संसदीय प्रक्रियामा भएको अनियमितताको छानबिन गर्न सभामुखलाई आग्रह गरे र यो प्रावधान हटाइएको विषयमा आफूलाई जानकारी नभएको दाबी गरे ।

संसदीय प्रक्रियामाथि प्रश्न

यो प्रकरणले संसदीय प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको कमी देखाएको छ । कुलिङ पिरियड हटाउन कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच मिलेमतो भएको आशंका पनि उठेको छ । यो विवादको अनुसन्धान गर्न प्रतिनिधि सभाले सात सदस्यीय विशेष संसदीय समिति गठन गरेको छ । जसलाई २१ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी छ । समितिको संयोजक नेपाली काँग्रेसका सांसद जीवन परियारले गरेका छन् । परियार नेपाली काँग्रेसका सहमहामन्त्री समेत हुन् । यही विषयलाई लिएर स्वार्थको द्वन्द्व बाजिने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले भने समिति गठन र समितिको नेतृत्वमा असन्तुष्टि जनायो । सात सदस्यीय संसदीय छानविन समितिका सदस्यहरुको नाम सभामुखले सुनाउनुभएसँगै र संयोजक नेपाली काँग्रेसबाट जीवन परियारलाई तोकेसँगै रास्वपाले असहमति जनाएको थियो । सात सदस्यीय समितिमा नेपाली काँग्रेसका दुई, नेकपा एमालेका दुई, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक÷एक जना सदस्य छन् । जसमा काँग्रेसबाट संयोजक परियारसहित सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन् ।

सभामुखले संसदीय समितिका सदस्यहरुको नाम भनिसकेपछि बोल्दै रास्वपाका सांसद मनिष झाले भन्नुभएको थियो, ‘जुन दलका नेतामाथि औंला उठेको छ, त्यही दलले त्यसको नेतृत्व नगर्ने भन्नेकुरा एक वर्ष अघि चलेको थियो । आज त्यो अभ्यास बिर्सिंदै हुनुहुन्छ । जुन व्यक्तिमाथि औंला उठ्दैछ, त्यो व्यक्तिको नाम जोडेर नै समितिको नाम बन्नुपर्छ भनेर हप्तौँसम्म तपाईंहरुले विभिन्न किसिमको प्रपञ्च गर्नुभयो । आज त्यो पनि बिर्सिनुभयो ।’

समितिको मुख्य लक्ष्य कुलिङ पिरियडको प्रावधानमा भएको हेरफेरको कारण र जिम्मेवार पक्ष पत्ता लगाउनु हो । समितिले अहिले कुलिङ पिरियड हटाउन संलग्न पक्षको जवाफदेहिता सुनिश्चित गर्न छानबिन गरिरहेको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधि सभाको २३ गतेको बैठक बहिष्कार गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग सभापति खतिवडाले राजीनामा दिनुपर्ने माग गर्नुभयो । आफूहरुको असन्तुष्टिकाबीच पनि संसदको सार्वभौमिकता, स्वतन्त्रता र संसद बचाउन पार्टीबाट गणेश पराजुलीलाई समितिमा पठाइएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘पहिलो कुरा त सभापतिले राजीनामा दिनुपर्छ । सम्बन्धित समिति सचिव त्यहाँ रहनु हुँदैन । मेरो एउटा निवेदन छ, नेपाली काँग्रेसलाई तपाईंले यो नेतृत्व नगर्नुस् । यो मिल्दैन । यो लोक लाज पनि हुन्छ । जनताको माझमा जाँदा हामीले जनताको विश्वसनियताको भरपर्दो काम गर्नु पर्दैन ? भन्दा त्यसलाई गम्भीरताका साथ लिइएन । संसदको कुरा भएको भएर त्यसो हुँदा हुँदै पनि संसदको सार्वभौमिकता, स्वतन्त्रता र संसद बचाउन हाम्रो तर्फबाट माननीय सदस्य गणेश पराजुलीलाई त्यहाँ पठाएका छौँ ।’

यता प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) भने संसदीय समितिको नेतृत्व काँग्रेसले गर्नुलाई स्वभाविक रुपमा लिएको बताउँछ । ठूलो राजनीतिक दलले नै समितिको नेतृत्व गर्ने परम्परा रहेकाले यसलाई स्वभाविक रुपमा लिनुपर्ने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाको भनाइ छ । पार्टीगत सांसदहरुको संख्याअनुसार नै समितिमा सदस्यहरु रहने कुरा सामान्य रहेको उहाँले बताउनु भयो ।

रास्वपाको द्वेध चरित्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुलिङ पिरियड प्रकरणमा भुमिका उल्लेखनीय भएपनि यसको अडान र व्यवहारमा केही विरोधाभास देखिएको छ । जसलाई द्वेध चरित्रको रूपमा विश्लेषण गर्न सकिन्छ ।

रास्वपाको शुरुको अडान

रास्वपाले कुलिङ पिरियडको प्रावधान हटाइएको विषयलाई संसदीय प्रक्रियामा कलङ्कित कथाको संज्ञा दिँदै गम्भीर अनियमितताको रूपमा प्रश्तुत ग¥यो । उनीहरूले निष्पक्ष छानबिनको माग गर्दै समितिको नेतृत्व नेपाली काँग्रेसलाई दिन नहुने कडा अडान राखे ।  रास्वपाले यो प्रकरणले कर्मचारीतन्त्रको बद्मासी र नेतृत्वको लाचारी उजागर गरेको तर्क ग¥यो । नेपाली काँग्रेसको नेतृत्वप्रति असहमति जनाए पनि रास्वपाले छानबिन समितिको बैठकमा सक्रिय सहभागिता जनाएको छ । यो सहभागिताले उनीहरूको शुरुको कडा अडानलाई केही नरम बनाएको देखिन्छ । समितिको बैठकमा रास्वपाले कुलिङ पिरियडको महत्व र जवाफदेहिताको पक्षमा तर्क राखे पनि समितिको नेतृत्वप्रति सहमति राख्नुले उनीहरूको दोहोरो चरित्र झल्किन्छ ।

रास्वपाको शुरुको अडानले उनीहरूले समितिको नेतृत्वमा काँग्रेसको संलग्नताले छानबिनको निष्पक्षतामा असर पर्ने आशंका व्यक्त गरेको थियो । तर पछि समितिमा सहभागी भएर काम गर्नुले उनीहरूको अडानमा लचकता वा रणनीतिक परिवर्तन देखाउँछ । यो व्यवहारले रास्वपालाई एकातर्फ संसदीय प्रक्रियामा सुधारको वकालत गर्ने र अर्कोतर्फ त्यही प्रक्रियामा सम्झौता गर्ने पक्षको रूपमा प्रश्तुत गरेको छ ।
रास्वपाको यो द्वेध चरित्रलाई राजनीतिक रणनीतिका रूपमा बुझ्न सकिन्छ । उनीहरूले शुरुमा कडा अडान लिएर आफूलाई सुशासन र पारदर्शिताको पक्षधरको रूपमा स्थापित गर्न खोजे । तर समितिमा सहभागी भएर उनीहरूले छानविन प्रक्रियालाई प्रभावित गर्ने र आफ्नो उपस्थिति कायम राख्ने अवसर उपयोग गरे । यस्तो व्यवहारले रास्वपालाई अवसरवादी वा व्यावहारिक राजनीतिको अभ्यासकर्ता बनाएको छ ।

कुलिङ पिरियडको दीर्घकालीन महत्व

कुलिङ पिरियडको प्रावधानले नेपालको सार्वजनिक प्रशासन र संवैधानिक निकायमा महत्वपूर्ण प्रभाव पार्नसक्छ । यो नीतिले अवकाशपूर्व वा पछिको समयमा कर्मचारीले आफ्नो पदको दुरुपयोग गरी लाभ लिने सम्भावनालाई कम गर्छ । संवैधानिक निकायहरूको विश्वसनीयता बढाउन यो महत्वपूर्ण छ । ललिता निवास जग्गा प्रकरणजस्ता घटनामा उच्च कर्मचारीले आफ्नै निर्णयलाई संवैधानिक निकायमा बसेर सदर गरेको उदाहरणले कुलिङ पिरियडको आवश्यकता देखाउँछ । कुलिङ पिरियडको अवधारणा उपभोक्ता अधिकारसँग पनि जोडिन्छ । जहाँ उपभोक्ताले खरिद गरेको वस्तु वा सेवा तोकिएको समयभित्र बिना शुल्क फिर्ता गर्न सक्छन् ।

हाल कुलिङ पिरियड सम्बन्धी प्रावधानलाई पुनः संघीय निजामती सेवा विधेयकमा समावेश गर्न राष्ट्रिय सभालाई आग्रह गरिएको छ । सात सदस्यीय छानबिन समितिको प्रतिवेदन र राष्ट्रिय सभाको निर्णयले यो प्रावधानको भविष्य निर्धारण गर्नेछ । रास्वपाले यो प्रक्रियालाई नजिकबाट नियालिरहेको छ । यो प्रकरणले संसदीय प्रक्रियामा सुधारको आवश्यकता उजागर गरेको छ ।

कुलिङ पिरियड सम्बन्धी बहसले नेपालको सार्वजनिक प्रशासनमा निष्पक्षता र पारदर्शिता कायम गर्ने प्रयासलाई जोड दिएको छ । यो प्रकरणले संसदीय प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र निष्पक्षताको कमी भएको प्रश्न उठाएको छ । कुलिङ पिरियडको कार्यान्वयनले नेपालको प्रशासनिक सुशासन र संवैधानिक निकायको विश्वसनीयता अभिवृद्धि गर्नसक्छ । तर यसका लागि संसदीय प्रक्रियामा सुधार र सबै पक्षको प्रतिवद्धता आवश्यक छ ।

अनुपम भट्टराई/न्युज एजेन्सी नेपाल