काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद् क्षति न्युनिकरणका लागि चीनसँग समन्वय बढाउनु जरुरी रहेको बताएको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले चीनसँग सूचना आदानप्रदान नहुने हो भने नेपाल जतिबेला पनि दुर्घटनाको जोखिममा रहेको बताएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद्बाट लड्न चीनसँग स्थायी समन्वय जारी राखि रहनु जरुरी रहेको बताउनु भयो । उहाँले युएनडिआरआरको प्रपोजल बनाउने चरणमा आफूहरु रहेको उल्लेख गर्नुभयो । उहाँले पूर्वसूचना प्रणाली अहिले नेपालकोले मात्रै काम गरिरहेको र चीनसँग यसबारेमा सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालकै पूर्वसूचना प्रणालीले मात्रै नपुगेको भन्दै अझै विस्तार गर्न जरुरी देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘चीनसँग स्थायी समन्वय जारी राखि रहनुपर्नेछ । त्यो दिशामा अघि बढ्नेछौँ । युएनडिआरआरको प्रपोजल बनाउने चरणमा पनि छौँ । चीन र हाम्रो बीचमा इन्फरमेसन एक्सचेन्ज नहुने हो भने हामी जतिबेला पनि दुर्घटनाको संघारमा छौँ । अर्लि वार्निङको हाम्रो आफ्नो देशको सिस्टमले काम गरिरहेको छ । अझै त्यसलाई बढाउन जरुरी छ ।’
उहाँले विपद्को कुरा यही हुन्छ भन्न नसकिने तर पूर्वसूचना जारी गरेर जनधनको क्षति कम हुनबाट रोक्ने प्रयासमा आफूहरु रहेको बताउनु भयो ।










