१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

साँघुरा सडक र चालकको लापरबाहीः दुर्घटनाको बढ्दो जोखिम

साँघुरा सडक र चालकको लापरबाहीः दुर्घटनाको बढ्दो जोखिम
अ अ+ अ-

पाल्पा । पाल्पामा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् ।

गत आइतबार पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको बस दुर्घटनामा पनि साँघुरो सडक र चालकको लापरबाहीलाई नै प्रमुख कारण मानिएको छ । शव तथा मलामी बोकेको सो बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । सो बस दुर्घटना हुनुमा साँघुरो सडक र चालकको लापरबाही नै प्रमुख कारणको रुपमा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार तानसेन–हार्थोक– रिडी सडकअन्तर्गत लघुवा पक्की सडकमा मोड नपुग्ने घुम्तीमा चालकको लापरबाहीका कारण दुर्घटना भएको थियो । तीव्र गतिमा बस गुडिएकाले घुम्ती कटाउन नसक्दा दुर्घटना भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । “उकालो, साँघुरो र चिप्लो सडक दुर्घटनाको कारण देखिएको छ”, प्रहरी नायब उपरीक्षक त्वातीले भन्नुभयो, “अधिकांश दुर्घटनामा जीर्ण सडकमा चालकले सावधानी अपनाउन नसकेको देखिन्छ ।”
    
बसमा सवार मलामीहरुले चालकको लाहपरबाहीकै कारण दुर्घटना भएको बताइएको छ । बसमा यात्रा गरेदेखि दुर्घटनाका लक्षणहरु चालकले देखाएको थियो । चालकको लापरबाही देखेर आफू होसियार भएको हो । बस दुर्घटना आफू बाँचियो र नयाँ जीवन पाएको बसमा सवारी मलामी शिवप्रसाद भुसालले बताउनुभयो । उहाँ बुटबलबाट सोही गाडीमा रिडी मलामी हिँडेका थिए । सडक विस्तार गर्दा मापदण्ड विपरीत निर्माण गरिएकाले दुर्घटना रोकिएको छैन । हार्थोक–रिडी सडक निकै साँगुरो, ओरालो, घुम्ती र चिप्लो रहेकै कारण पटक पटक दुर्घटना हुने गरेको स्थानीयवासीको भनाइ छ । 

विगतका वर्षमा यही स्थानबाट पाँचपटक सडक सवारी दुर्घटनाको स्थानीय बासिन्दा सुरेश घर्तीले बताउनुभयो । आफूहरुले पटक पटक सरोकारवाला निकायलाई सडक फराकिलो बनाउन अनुरोध गरिए पनि सो काम नहुँदा मानवीय क्षति भएको स्थानीयवासीको गुनासो छ । हार्थोक–रिडी सडकअन्तर्गत अधिकांश सडक साँगुरा तथा ओरालो सकिएसँगै घुम्ती सुरु हुन्छ । तीव्र गतिमा आएका सवारीसाधन घुम्तीमा बढी दुर्घटना भएका छन् । यस क्षेत्रको दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालय पाल्पाले घुम्ती कटानमा चासो दिएको छैन । 

स्थानीयवासी विश्व कार्कीले सडकका घुम्ती कटान गरी फराकिलो बनाउन आवश्यक देखिएको बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना र चेकजाँचमा कडाइ गरिए पनि सडकको जीर्ण अवस्था र चालकको लापरबाहीले दुर्घटना न्यूनीकरणमा चुनौती थपिएको प्रहरी नायब उपरीक्षक त्वातीको भनाइ छ । 

कच्चीरुपमा विस्तार भएका अधिकांश सडकको अवस्था जीर्ण रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको जानकार बताउँछन् । पहाड, अक्करे भिर हुँदै विस्तार भएका अधिकांश सडक एकतर्फी मात्रै यातायात सञ्चालन हुने अवस्थाका छन् । अधिकांश ग्रामीण सडकमा एम्बुलेन्स पुग्न सक्ने अवस्था छैन । दोहोरो वारपार गर्नसमेत मुस्किल पर्ने सडकको स्तरोन्नतिमा प्रभावकारी योजना सञ्चालन हुन सकिरहेका छैनन् । हरेक स्थानीय तहले सडकलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट खर्च गरेको भएपनि सडकलाई स्तरीय बनाउन नसक्नु विडम्बनापूर्ण छ ।

सडक मर्मत र स्तरोन्नतिको काममा जनप्रतिनिधि स्वयंका डोजर परिचालन हुने र गुणस्तर र मापदण्ड पुरा नगर्ने प्रचलनका कारण सडकमा खर्चिने बजेट बालुवामा पानी हाले सरह हुने गरेको स्थानीयवासीको भनाइ छ । “सडक मर्मतमा बजेट विनियोजन हुन्छ, खर्च पनि हुन्छ, तर सडकमा डोजर फन्को मारेर काम सक्ने प्रवृत्तिले सडकको अवस्था सुधार हुन सकिरहेको छैन, यसतर्फ वडा र पालिकाका जनप्रतिनिधिले विशेष ध्यान दिन जरुरी छ”, स्थानीयवासी विश्व कार्कीले भन्नुभयो ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारमार्फत समेत सडक स्तरोन्नतिमा जिल्लामा बर्सेनि करोडौँ रकम खर्च हुने गरेको छ । सडककलाई फराकिलो बनाउँदै ग्रेडिङ, नाली, पर्खाललगायतका पूर्वाधार निर्माण गरी स्तरोन्नति गर्नुपर्ने भए पनि अधिकांश योजनामा डोजर चलाएरै बजेट सक्ने प्रवृत्ति बढेकाले सडकको अवस्थामा सुधार आउन नसकेको गुनासो बढिरहेको छ । (रासस, कृष्ण दर्नाल)