२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका



अ+ अ-

टीकापुर । बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि टीकापुरमा बालबालिका खोजी थालिएको छ । टीकापुरमा सङ्घीय सरकार र स्थानीय पालिकाको प्रयासबाट छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको पोषणको लेखाजोखा गरेर पोषण सुधारका कार्य भइरहेका छन् । यसका साथै प्रदेश स्वास्थ्य निर्देशनालयले समेत कुपोषण भएका बालबालिकाको खोजीमा सघाइरहेको छ ।

टीकापुर अस्पतालसहित पाँच स्वास्थ्य संस्थामार्फत बालबालिकाको पोषण लेखाजोखा गर्ने, कुपोषित बालबालिकाको उपचारका कार्य भइरहेका छन् । टीकापुरमा अहिले ३० बालबालिका शीघ्र कुपोषण भएका र एक सय २० बालबालिका कुपोषणको जोखिममा रहेका तथ्याङ्क छ । स्वास्थ्यकर्मी नै समुदायमा तौल र लम्बाइसमेत नापजाँच गरी पोषणको लेखाजोखा गर्न थालेपछि गत वर्षका तुलनामा टीकापुरमा यस वर्ष कुपोषण भएका बालबालिका बढी भेटिएका नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । सरकारले देशैभरि कुपोषणको जोखिममा रहेका बालबालिका खोजीका लागि स्मार्ट सर्भे गरेको छ, जसमा देशैभरि कुपोषित बालबालिकाको सङ्ख्या बढी देखिएको छ ।

विगतमा महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा पाखुराको नाप र तौललाई मात्र आधार मानेर गरिने कुपोषण परीक्षण हाल स्वास्थ्यकर्मी स्वयंले उचाइ र तौलका आधारमा मापन थालेपछि कुपोषण भएका बालबालिका बढिरहेका छन् । टीकापुर वनगाउँकी मीना चौधरीको दोस्रो बच्चा १५ महिनाको छ । उहाँको बच्चालाई कुपोषण भएको छ । पन्ध्र महिनामा छ केजीमात्र तौल भएपछि टीकापुर अस्पतालमा उपचारपछि उपचारात्मक तयारी खाना खुवाइरहनुभएको छ । एक महिना नियमित खाना खुवाएपछि एक केजी तौल बढेको छ ।

चिकित्सकका अनुसार तीन महिनासम्म नियमित तयारी खाना खुवाउन भनिएको छ । विगतमा राम्ररी बच्चा स्याहार गर्न नसकेकी मीना आजभोलि बच्चाकै स्याहारमा लागिरहनुभएको छ । “गाउँघर क्लिनिकमा बच्चाको वृद्धि अनुगमनका बेला स्वास्थ्यकर्मीले शीघ्र कुपोषण भएको छ भन्नुभयो”, उहाँ भन्नुहुन्छ, “पहिलो बच्चा स्वस्थ थियो, दोस्रो बच्चा राम्ररी हुर्काउन सकिएन, अहिले तयारी खाना खुवाइरहेकी छु ।”

प्रादेशिक अस्पताल टीकापुरमा शीघ्र कुपोषण भएका छ बच्चाले हाल तयारी खाना खाइरहेका छन् । अस्पतालमा वडावडामा हुने वृद्धि अनुगमन र बहिरङ्ग कक्षमा उपचार सेवा लिन आएका बच्चाबाट पहिचान भएका बच्चाको पोषण सुधारका लागि उपचार र खाना खुवाउने गरिएको अस्पतालका नर्सिङ निरीक्षक निलम रावल बताउनुहुन्छ । “यसरी आउने बच्चामा मध्यम शीघ्र कुपोषण देखिएकालाई ६० प्याकेट बालभिटा दिएर उपचार गर्ने गरिएको, पोषणको महत्वबारे आमा र परिवारका सदस्यलाई सचेत गराउने गरेका छौँ”, रावल भन्नुहुन्छ, “शीघ्र कुपोषण भएकालाई उपचारात्मक तयारी खाना दिन्छौँ ।”

यसका साथै यसरी कुपोषण भएका बच्चाको उपचार पालिकाका वडास्तरमा रहेका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा पनि हुने गरेको छ । वडास्तरमा रहेका स्वास्थ्य संस्थामा पोषण सुधारका लागि थुप्रै प्रयास भइरहेका छन् । स्वास्थ्य संस्थामै पोषण कर्नर राखेर जानकारी दिने लगायतका कार्य गर्ने गरिएको धनसिहपुर स्वास्थ्य चौकीका पोषण फोकल पर्सन तथा अनमी पुनम साउद बताउनुहुन्छ । “हामीले गर्भावस्थादेखि नै पोषणबारे जानकारी दिन्छौँ, गर्भमै हुँदा आमा र बच्चा स्वस्थ हुनुपर्छ”, उहाँले भन्नुभयो, “स्वस्थ्य जन्मिएको बच्चा सही तरिकाले स्याहार गरेमा कुपोषण हुनबाट जोगाउन सकिन्छ ।”

टीकापुर नगरपालिकाले पोषण सुधारका लागि थुप्रै प्रयास गरेको छ । विगतमा टीकापुर अस्पतालमा मात्र रहेको पोषण प्रवर्द्धन बहिर्गमन उपचार केन्द्र हाल वडास्तरमा रहेका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा समेत विस्तार गरिएको छ । हाल टीकापुर अस्पतालसहित नारायणपुर, धनसिंहपुर स्वास्थ्यचौकी, विजयनगर, अस्नेहरी सहरी स्वास्थ्य केन्द्रमा समेत उपचार केन्द्र स्थापना गरी बालबालिकाको पोषण सुधारका प्रयास भइरहेका छन् ।

टीकापुर नगरपालिकाका सिनियर अहेव अधिकृत तथा पोषण फोकल पर्सन कमलबहादुर रावल स्वास्थ्यकर्मी नै कुपोषित बालबालिका खोज्न खटेपछि अहिले बालबालिका बढेका छन् । ‘‘बालबालिका देखिने शीघ्र कुपोषण न्यूनीकरणमा जनचेतना फैलाउन स्वास्थ्य संस्थामा पोषण कर्नर, गाउँघर क्लिनिक तथा खोप कार्यक्रममा पोषणबारे जानकारी दिने, गर्भावस्थादेखि नै पोषण सुधारका कार्य गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, ‘‘साम र माम देखिएका बच्चा खोजीका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य शिविर, सर्वेक्षण, घरदैलोजस्ता कार्यमा खटाएका छौँ ।” रासस