काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना आज शुक्रबार भत्काउन सुरु गरिएको छ ।
बिहानैदेखि नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले १२ जना कामदार खटाएर ती संरचना भत्काउन थालेको हो । अहिलेसम्म जस्तापाता, वरिपरिको पर्खाल र तारजालीको बार गरी अधिकांश संरचना भत्काइसकिएको जनाइएको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको थियो । मन्त्री प्रेम आलेले अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिलाई निर्देशन दिनुभएको थियो ।










