१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

हिमपात र सञ्चार अभावले पिरोलिएको याङ्मा

हिमपात र सञ्चार अभावले पिरोलिएको याङ्मा
फाईल फोटो
अ अ+ अ-

फुङ्लिङ । चाँदी जस्तै टल्किने हिमालहरू ।  चारैतिर त्यसको पहिलो दृश्यबाट प्रत्येक दिनको हेराइ शुरुआत हुन्छ । बिहान उठ्नेबित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिए जस्तै हिउँले छोपिएका हिमाल देख्दा ताप्लेजुङ्बासी आफूलाई गर्वको महसुस गर्छन् । त्यही हिमालको पीडाले यहाँ मानिसलाई त्यत्तिकै सताएको पनि छ । 

यही पुस १३ र १४ गते हिमाली जिल्लाहरूमा बाक्लो हिमपात भयो । ताप्लेजुङका लेकदेखि बेंसीसम्म हिउँ आइपुग्यो । धेरैको जनजीवन प्रभावित हुन पुग्यो । मिक्खोला गाउँपालिका-५ पापुङका बाबुछोरा चौँरी गोठ सर्ने क्रममा हिमपहिरामा परे । तिनको उद्धारका लागि अल्टिच्युड एयर कम्पनीको हेलिकप्टरमार्फत दुई दिन पहल गर्दा पनि बसेको ठाउँ पत्ता लाग्न सकेन । ओढारमा बसेको छ दिनमा मात्र उनीहरू आफैँ हिँडेर गाउँ आइपुगे । समुद्र सतहदेखि चार हजार २०० मिटरको उचाइमा रहेको याङ्मा बस्ती भने हिमपातसँंगै अहिले सम्पर्कबिच्छेद बनेको छ । 

चीनको सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ याङ्मामा  हिमपात भएसंँगै अहिलेसम्म गाउँका समुदायसँग सम्पर्क हुन नसकेको ताम्लिङ शेर्पाले बताउनुभयो । सदरमुकाम फुङ्लिङदेखि एक दिन सवारी साधन र बाँकी दुई दिन पैदल यात्रामार्फत तीन दिनमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङ्गोलाको याङ्मा पुगिन्छ । जिल्लाकै उच्च तथा दुर्गम बस्ती याङ्मामा हिमपात भएसँगै त्यहाँका समुदायसँग सम्पर्कबिच्छेद भएको हो । 

एघार घरका करिब ४० जनाको स्थायी बसोबास  रहेको यहाँको मुख्य पेसा पशुपालन हो । उच्च हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । सो बस्ती पशुपालनमा पनि याक गोठमा निर्भर रहन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का आर्थिक तथा प्राविधिक सहयोगमा याङ्मा क्षेत्रमा  चार सय, ओलाङ्चुङ्गोला क्षेत्रमा ४३५ र घुन्सा क्षेत्रमा  ३६  याकको बिमासमेत गरिएको परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयो । चीनका विभिन्न क्षेत्रमा नेपाली याक, तिनका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने भएकाले  याङ्मा समुदायले याक गोठ छाड्न सकेको छैन । 

चीनका बजारमा प्रतियाक रु ६० हजारदेखि रु  एक लाख ५० हजारसम्ममा बिक्री हुने गरेको स्थानीयवासी बताउँछन् । छुर्पी र घिउ प्रतिकिलो रु एक हजार २०० सयमा बिक्री हुने गरेको याङ्माका फिम्जो शेर्पाले बताउनुभयो । याङ्मा समुदायको प्रमुख आम्दानीको स्रोत नै याक पालन हो । करिब तीन वर्षदेखि भने चीनतर्फको नाका बन्द छ । यसबाट आर्थिक सङ्कटसमेत खेप्दै आएको समुदायलाई अहिले हिमपातले सताएको छ । 

विकास पूर्वाधारबाट धेरै टाढा रहेको बस्तीमा  स्वास्थ्य, शिक्षा, सञ्चार र यातायात जस्ता भौतिक पूर्वधार पुग्न सकेको छैन । विगतमा विद्यालय भए पनि विद्यार्थी नभएपछि बन्द भयो । यहाँ अहिलेसम्म स्वास्थ्यचौकीस्थापना भएको छैन । यहाँका मानिस बिरामी भएमा जङ्गलमा भएको जडिबुटी   नै औषधोपचारको स्रोत रहिआएको छ । यहाँ अहिले बिजुली बत्तीसमेत छैन । परिषद्ले दिएको सौर्य ऊर्जाले हिमपात तथा घाम नलाग्दा काम गर्दैन । त्यस समयमा अन्धकारमा नै बस्नुपर्ने हुन्छ । 

याङ्मा गाउँमा सञ्चारको पहुँच सहज छैन । सञ्चार आदानप्रदान गर्नुप¥यो भने खोला तरेर दुई घण्टा हिँडेपछि बल्ल स्काईको नेटवर्क भेट्न सकिए पनि  गत साता बाक्लो हिमपात भएसंँगै याङ्मा समुदाय सम्पर्कमा आउन नसकेको  ताम्लिङ शेर्पाले बताउनुभयो । हिमपात हुनुअघि नै शेर्पा भने सदरमुकाम फुङ्लिङ झर्नुभएको थियो । ताम्लिङले भन्नुभयो, “मेरा छोराबुहारी याङ्मामै छन् । एक याक गोठ छ । ७० वटा याक छन् । अहिलेसम्म फोन सम्पर्क भएको छैन ।”  उनीहरूसँग सम्पर्क हुन सक्दा आफू चिन्ताले निदाउनै नसकेको ताम्लिङले बताउनुभयो । 

लामो समयसम्म फोन सम्पर्कमा नआउँदा याङ्मा बस्तीबारे आफूलाई पनि चिन्ता हुने फक्ताङलुङ गाउँपालिका—६ घुन्साका सेराप शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो पनि ससुराली याङ्मा हो तर हिमपात भएयता कोही पनि सम्पर्कमा आउनुभएको छैन ।” याङ्मा गाउँको समुदायले हिमपात हुनु अगाडि नै आवश्यक पर्ने खाद्य पदार्थ तथा न्यानो कपडा र याकका लागि घाँसको जोहो गरेर राखेकाले हिमपातमा सुरक्षित हुन सक्ने फक्ताङलुङ गाउँपालिका—७ का वडाध्यक्ष छेतेन लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “याङ्मा गाउँ जाउँ भने हिउँले बाटो बन्द भएको छ तर  हिउँ पर्ने समयमा  याक गोठहरू पनि हिमपहिराबाट जोगिन सक्ने ठाउँहरूमा सारिएको छ । ”

वरिपरि हिमालले घेरेको र याङ्मा खोलाको किनार खोँचमा रहेको याङ्मामा कहिलेदेखि बस्ती बस्न थालेको हो भन्ने थाहा नभएको स्थानीयवासी ६५ वर्षीय ताम्लिङ शेर्पाले बताउनुभयो । सञ्चार सुविधा नहुँदा सूचना आदानप्रदानमा समस्या रहँदै आएको छ । देशमा विकास र परिवर्तनले धेरै गति लिए पनि याङ्मा बस्ती अहिलेसम्म ओझेलमै रहेको ताम्लिङले गुनासो गर्नुभयो । 

याङ्माकै  छाम्जे शेर्पाले पनि सञ्चार सुविधा नहुँदा धेरै समस्या रहेको बताउनुभयो । भारतको दार्जिलिङलगायत सहरमा अध्ययन गर्ने आफ्ना छोराछोरी र अन्य आफन्तसँग सम्पर्क नहुँदा सधैंँ मनमा पीडा हुने गरेको ताम्लिङ  बताउनुहुन्छ । छोराछोरी र आफन्तसँग एकार्काको खबर तथा सूचना आदानप्रदान गर्न नपाउँदा मनमा चिन्ताले घर गरिरहने पीडा उहाँ व्यक्त गर्नुहुन्छ । 

उहाँहरू जस्तै सञ्चार सुविधा नहुँदाको पीडा याङ्मावासी सबैलाई  छ । सञ्चार पहुँच नभएकै कारण मरिमराउ र कुनै संवेदनशील अवस्थाको खबर समयमा नपाउँदा समस्यामाथि समस्या हुने गरेको छ । जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एकदिन पैदल हिँडेर ओलाङ्चुङ्गोला पुग्नुपर्छ । ओलाङ्चुङ्गोलामा भने करिब एक वर्षअघि नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेपछि सञ्चार सम्पर्कका लागि सहज भएको छ । मोबाइल टावर राख्नुअघि ओलाङ्चुङ्गोलामा पनि सञ्चारको समस्या उस्तै थियो । 

बर्खामा याङ्मा–ओलाङ्चुङगोला आवतजावत  पनि बन्द हुन्छ । पुस, माघ, फागुन र चैतमा हिमपात हुने भएकाले याङ्मा जान सकिँदैन । याङ्मा खोलामा हिउँदमा काठेपुल लगाएर आउजाउ गर्ने गरिन्छ भने बर्खामा पुल बगाउने हुँदा  याङ्मासंँग सम्पर्क टुट्ने  गर्छ । याङ्मा गाउँदेखि एक÷डेढ घण्टा टाढा डाँडाडाँडामा नेटवर्क खोज्दै जाँदा कुनै बेला स्काई मोबाइलमा सम्पर्क हुने गरेको छ । स्काईमा सम्पर्क भइहाले पनि कुराकानी भने सहजरूपले गर्न पाइँदैन । 

थोरै परिवार र कम जनसङ्ख्याको बस्ती भएकाले याङ्मामा सञ्चारको पहुँच पु¥याउने तत्काल कुनै योजना नभएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । ओलाङ्चुङगोलाबासीसमेत रहनुभएका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेनले याङ्मासम्म सञ्चार पहुँच विस्तार गर्ने कुनै योजना नरहेको बताउनुभयो । केही वर्षअघिसम्म विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का सहयोगमा सञ्चालित स्याटेलाइटमार्फत एसटिएम प्रविधिको टेलिफोन सेवा बिग्रिएपछि हाल याङ्मा सञ्चार पहुँच बाहिर छ ।

छेतेनका अनुसार याङ्मासम्म कुनै सूचना आदानप्रदान गर्नुपरेमा मानिस नै जानुपर्ने र चिठ्ठीपत्र पठाउनुपर्ने अवस्था  छ । याङ्मा गाउँसम्म केही सूचना पु¥याउनु परेमा मान्छे नै गएर सूचना दिने वा चिठ्ठी पठाउनुपर्ने हुन्छ । कुनै पनि सञ्चारमाध्यमको नेटवर्क नचल्ने हुँदा सञ्चार प्रवाहमा स्वयं मानिसको उपस्थिति र चिठ्ठीपत्रबाहेक अरू विकल्प नरहेको छेतेनले बताउनुभयो ।   

प्रायः याक गोठमा समय बिताउने याङ्माबासीले गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँँडामा निस्केर ठूलो आवाजमा कराउनुपर्छ वा सुसेली हाल्नुपर्छ । ठूलो आवाज र सुसेली सुनेपछि बल्ल एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको स्थानीयवासी याक गोठाला कान्देग्याबु शेर्पाले बताउनुभयो । 

स्थानीय शैलीको खबर आदानप्रदानले हालसम्म सञ्चार चले पनि अहिलेको सूचना र प्रविधिका समयमा पूरै गाउँबस्ती सञ्चारविहीन हुनु अन्धकारको संसारमा रहनुसरह भएको कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष विष्णुकुमार लिम्बू बताउनुहुन्छ ।

हाल तीनै तहका सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पु-याउनका लागि आवश्यक पहल गर्नुपर्ने लिम्बूको सुझाव छ । हाल ताप्लेजुङमा २० मोबाइल टावर सञ्चालन भइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ । नौ टावरमा फोरजी सेवा सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय प्रमुख शिवकुमार सिंहले बताउनुभयो । एघार टावरले टुजी सेवा सञ्चालन हुँदै आएको छ । अहिले सञ्चारको पहुँज नपुगेको याङ्मा क्षेत्रमा मोबाइल सेवा पु¥याउन सरोकार पक्षसँग समन्वय गरिने प्रमुख सिंहले बताउनुभयो ।

 गत असोजको दोस्रो साता जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले  जिल्लाका १० स्थानमा सञ्चार पूर्वाधार तथा उपकरण व्यवस्था गर्न नेपाल टेलिकमको ध्यानाकर्षण गराउनुभएको थियो । पूर्वमन्त्री भट्टराईले  टेलिकमका महाप्रबन्धक डिल्ली अधिकारीलाई भेटी सोसम्बन्धी मागपत्र बुझाउँदै टेलिफोनको गुणस्तर सुधार तत्काल गर्न आग्रह गर्नुभएको थियो  । 

ताप्लेजुङ  पर्यटन, कृषि, ऊर्जा, व्यापारलगायत क्षेत्रमा अत्यन्तै राम्रो सम्भावनायुक्त जिल्ला भए पनि   आधुनिक सूचना र सञ्चारको सहज पहुँच नहुँदा यहाँका व्यापार, व्यवसाय र पर्यटनको क्षेत्र मात्र नभएर सर्वसाधारणको दैनिक जीवन पर्ने समस्यामा छ । जिल्लामा अप्टिकल फाइबार तत्काल जिल्ला पु¥याउनका साथै टेलिफोन सम्पर्क नहुने स्थानमा तत्काल सुधार गर्न आग्रह गरिएकोे छ । 

मैवाखोला गाउँपालिका वडा नं  २ ढुङ्गेसाँघु, मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बु, फक्ताङलुङ – ६ लुवाडाँडा, आठराई गाउँपालिका फूलबारी, फुङलिङ नगरपालिका दोखु, देउलिङ्गे, मिक्खोला – ५ किलिङ, सिरिजङ्घा गाउँपालिका वडा नं ५ खेवाड, सिदिङ्वा गाउँपालिका  वडा नं  १ कालीखोला, फक्ताङ्लुङ –७ याङ्मालगायत क्षेत्रमा टेलिफोन टावर राख्न माग गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा माग  गरिएको मोबाइल टावर राख्ने हो भने सबै क्षेत्रमा सञ्चारको पहुँच पुग्ने जनाइएको छ ।  रासस