सुर्खेत। भैरव माध्यमिक विद्यालय, वीरेन्द्रनगर–४, सुर्खेतले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता पाएपछि विद्यालयले सफल विद्यार्थीहरूलाई विशेष कार्यक्रममार्फत सम्मान गरेको छ।
विद्यालयबाट एसईईमा सहभागी १०२ विद्यार्थीमध्ये ९३ जनाले ग्रेड प्राप्त गरेका छन् भने ९ जना ननग्रेडेड भएका छन्। ग्रेडेडमध्ये १३ जनाले ‘ए प्लस’, ३४ जनाले ‘ए’, ३५ जनाले ‘बी प्लस’ र ११ जनाले ‘बी’ ग्रेड हासिल गरेका छन्।
विद्यालयकी भावना बुढा ३.९५ जीपीए सहित जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी बनिन्। यस उपलब्धिलाई स्मरणीय बनाउने उद्देश्यले बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नीलकण्ठ खनालले विद्यालयको प्रगति र विद्यार्थीहरूको मेहनतको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा स्थानीय सरकारको निरन्तर सहयोग रहने स्पष्ट पारे। विद्यालय प्रशासनले सामुदायिक शिक्षाको स्तर उकास्न यो सफलता प्रेरणादायी बन्ने विश्वास व्यक्त गरेको छ।










