काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् ।
शुक्रबार दिउँसो भएको खेलमा संकटा र सातदोबाटोले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।
संकटाका गोलकिपर राजा बाबु थापाले बल क्लियर गर्दा सुशीललाई लागेर गोल हुन पुगेको थियो ।
यता, खेलको ३२ औं मिनेटमा जया गुरुङले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
दिपेश आले मगरले दिएको पासलाई उनले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै संकटालाई बराबरीको स्थितीमा ल्याए ।
दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै संकटाले ८ खेलमा १४ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ भने सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
खेलको प्लेयर अफ दि म्याच संकटाका जया गुरुङ घोषित भए भने सातदोबाटोका आकाश बुढा मगरले इमर्जिङ प्लेयरको अर्वाड जिते ।











