९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षण अस्पतालमा फेरि आन्दाेलन, नवनियुक्त डिन शाह विरूद्ध उत्रिए विद्यार्थी



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा डा दिव्यासिंह शाहको नियुक्तिको विरोध गर्दै सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले डिनकाे कार्यालयमा तालाबन्दी गरेको छ । अनेरास्‍ववियूको महाराजगञ्ज चिकित्सा क्याम्पस कमिटीले आईओएममा तालाबन्दी गरेको हो ।

विद्यार्थी संगठनले डा शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेकाे छ ।

वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा सिंहलाई नियुक्ति गरिएको अनेरास्ववियूकाे दाबी छ । क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले आफूहरुको यो कदमप्रति प्राध्यापक तथा कर्मचारीका संगठनहरुको समर्थन रहेको समेत बताए ।

प्रा डा प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीले नाम सिफारिस गरे लगत्तै बुधबार त्रिवि कार्यकारी परिषदले डा शाहलाई आईओएमको डिनमा नियुक्ति गरेको थियाे । शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् ।

प्रधानमन्त्री र शक्तिकाे आडमा वरिष्ठताको राेलक्रम मिचेर डिन नियुक्त गरिएको संगठनकाे भनाइ छ ।

विद्यार्थी नेता पंगेनीले डा गोविन्द केसीको लगातारको अनशनपछि आईओएममा वरिष्ठताको आधारमा डिन छान्ने पद्धति बसेको भन्दै अहिले उक्त पद्धति मिचेर गरिएको निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी जारी रहने बताए ।