‘सम्बन्धको मामिलामा म भाग्यमानी छु ।’ कस्तो ठुलो आत्मविश्वास ।
प्रेम र सम्वन्धको फरक बुझ्न नसकेर हैरान एक हुल युवावयका कवि कलाकारहरुमाझ उनी बोलिरहेका थिए, ‘सम्बन्ध भनेको जीवनलाई सन्तुलनमा राख्ने उपाय मात्र हो ।’
उनी अझ खुले, ‘जीवन कतातिर बगेको छ, सम्बन्ध त्यही अनुसारको हुन्छ । हो, समय र परिस्थितिअनुसार सम्बन्धहरू फरकफरक हुँदै जान्छन् ।’
उनको कुराले म नजिकै चियाबारीलाई ढाक्दै आएको भुँइकुहिरोमा एकोहोरिन्छु । ‘परास्त प्रेम’ को तयारीमा रहेको म उनका शब्दहरुमा कायल हुन्छु । पछि २०६७ मा प्रेम र सम्वन्धहरुमाथि लेखिएका मेरा कथाहरुको संग्रह परास्त प्रेम निक्लियो । एक दुई संस्करणसम्म त्यसले राम्रै चर्चा र बजार पायो ।
विक्रमसम्वत २०६६ वैशाखको दोस्रो साता हुनुपर्छ । हामी एक हुल कवि र कलाकारहरु अँध्यारोविरुद्धको अभियान लिएर पूर्व हान्निएका थियौं । मधेश आन्दोलनले आक्रान्त मधेश र पहिचानका स्वरहरु मुखरित हुँदै गरेको पूर्वी पहाडी जिल्लाहरुमा हामीले नाटक मञ्चन र कविता वाचन गर्दै हिँडेका । यसको संयोजन गरेका थिए रंगकर्मी घिमिरे युवराजले । उनी अहिले शिल्पी थियटर चलाएर गज्जव गज्जवका नाटकहरु गरिरहेका छन् ।
त्यहि बेला मुलुकमा भर्खर आएको गणतन्त्रमा सबैभन्दा ठूलो विवादका रूपमा तातिएको थियो प्रधानसेनापति प्रकरण । हतियारधारी विद्रोहबाट ब्यालेटको मार्ग हुँदै सत्तामा आएका तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको वर्ष दिन पुग्दै थियो । प्रधानसेनापती रुकमाङगत कटुवालसँगको उनको टकरावले प्रधानमन्त्री दाहालको कुर्सी धरमर भइरहेका बेला हामी कविता र नाटक मञ्चन गर्दै थियौं – अँध्यारोका विरुद्ध । सच्याउनु र सुधार गर्नुपर्ने कुराहरु धेरै थिए र छ । समाज रुपान्तरणका लागि हामीले नाटक र कविताको सहारा लिएका थियौं, त्यतिखेर । यो उपाय गलत थिएन । तर अहिले सोच्दा त्यसले मात्र नपुग्ने रहेछ भन्ने लाग्यो ।
त्यसो त हामी पूर्वमा नै हुँदा २०६६ वैशाख २१ गते प्रधानसेनापति प्रकरणकै कारण मावोवादी दवदवाकै बीच पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिए । उक्त प्रकरण नभएको भए नेपाली राजनीतिको दिशा नै फरक हुन्थ्यो भन्नेहरूको संख्या अहिले पनि कम छैन ।
त्यहीबेला हामी इलाम पुगेका हौं । इलाम बजार र फिक्कल दुई ठाउँमा हामीले केही कविताहरु सुनायौं । नाटक देखायौं । त्यही मेसो हामीले आफ्नै जीवनले लखेटेर फिक्कल पुगेका कवि कलाकार संगीतकर्मी गणेश रसिकलाई भेट्यौं ।
इलामको पान्दामस्थित चिटिक्क परेको घर । आसपास हरियो चियाबारी । धूपी सल्लाका बोटहरू । लहलह फूलहरू । फिल्महरुमा देखिनेजस्तै आकर्षक घर ।
हामी हल्ला गर्दै पुग्यौं ।
उनी आफ्नो चिरपरिचित मुस्कानमा हात जोड्दै काठको भरेङबाट ओर्लिए, ‘ओहो भाइहरु ।’
‘होइन । बहिनीहरु पनि छन् है दाजु ।’ कलाकार लुनिभा तुलाधर चिच्याइन् । रेनु र दुर्गा हाँसे । हामी पनि हाँस्यौ ।
उनले हामीसबैको जोडिरहेको हात पालैपालो समाएर निकै आत्मिय रुपमा माथि जान आग्रह गरे । एक एक गरेर हामी सबै उनको माथिपटिको कोठामा पुग्यौं । किताव र बाजागाजाले भरिएको कोठामा सानो चिटिक्क परेको बेड र केही कुर्सीहरु थिए ।
‘म चिया बनाउँछु है ।’ गणेश रसिक दाजु भान्छातिर लागे ।
बैशाख भएपनि हामीलाई चिसै लाग्यो इलाम । भुइँ कुहिरोले ढम्म ढाकेको थियो । भुइँ कुहिरो ठोक्किएर धूपीको बोटबाट तपतप पानी चुहिँदै थियो । केही साथीहरु चियाबारीमा लडिबुडी गर्दै फोटो खिच्न थाले । र पुरै कपडा भिजाए । समाज रुपान्तरणका लागि कैयौं पहल गरेका वरिष्ठ सर्जक गणेश रसिक भान्सामा चिया पकाइरहेका थिए ।
उनी उपमाजस्तै मान्छे – ज्यादै रसिक । एकदमै मिजासिला । शान्त र सौम्य । जे जस्तो अवस्थामा पनि सधै चिटिक्क पर्ने । मिलाएर कपडा लगाउने । मृदु मुस्कानमा सधैँ विनयी, सधैँ आत्मिय ।
पञ्चायत कालदेखि नै उनी सधैँ सक्रिय । गीत संगीत र लेखन सबतिर चर्चित । धेरैका प्रिय । चर्चा र प्रशंशाको उत्कर्षमा रहेकै बेला उनी इलाम फर्किएका । र, गाउँमा घर बनाएर ग्रामीण जीवनयापन सुरु गरेका । घर गज्जबको थियो । भुँइकुहिरोले बेला बेलामा छोपिएर पनि मसिनो घामको किरणमा छ्याङग भइहाल्ने । हरियो चियावारीको बीचमा आकर्षक घरमा उनको परिचित मुस्कान र विनयी व्यवहार ।
‘दाजु किन त इलाम ? काठमाडौं कहिले फर्कने ??’ चिया पिउँदै गर्दा मैले सोधेँ ।
‘कहिले काँही जीवनलाई उसकै इच्छाअनुसार छाडिदिनु पर्छ । चाहेर पनि हामीले आफ्ना हरेक रहर पुरा गर्न सक्दैनौ ।’ उनी मुस्कुराए । मलाई जवाफ दार्शनिक लाग्यो । त्यसो त युवावयका हामीसबैले उनको जवाफलाई ध्यानपूर्वक सुन्यौ ।
‘जीवन भनेको सपनाजस्तै हो । जति सपना देखिन्छ, त्यतिन्जेल जीवन रहन्छ । जुन दिन सपना देख्न छोड्छ मान्छेले, त्यस दिन जीवन पनि सकिन्छ । म सपना देख्न यता आएको ।’
‘हेरौं सपनाले कहिलेसम्म यहाँ बस भन्छ ?’ शिरिषको फूलकी बरीको जस्तो जवाफ ।
गणेश रसिक (वि स २००४–२०८२) मात्र एक त्यस्ता स्रष्टा हुन्, जसलाई साहित्यप्रेमीले जति मन पराउँछन्, त्यति नै संगीतका पारखीले पनि मनमा राख्दै आएका छन् । पाठक र श्रोतामाझ उत्तिकै रुचाइने स्रष्टा नेपालमा अरू सायदै होलान् ।
भोजपुरमा जन्मेका रसिक काठमाडौँ र इलामतिर बाँडिइरहे । जीवनको अन्त्यमा काठमाडौँ खाल्डोलाई नै उनले मुकाम बनाए । यहीबाट नै उनले सधैँका लागि सबैलाई ‘अलबिदा’ भने ।
जताजता पुगे पनि उनले साहित्य र संगीतको सिर्जन–कर्मलाई छाडेनन् । दुइटै विधामा निरन्तर समान रूपले सक्रिय बनिरहे ।
२०७० सालपछि केही वर्ष उनी र म एउटै संस्थामा रह्यौ – बासुशशी स्मृति परिसरमा । कवि प्रद्युम्न जोशीको सदायसतामा मासिक रुपमा जस्तै हाम्रो भेट हुन थाल्यो । गफिने र संसर्ग गर्ने अवसरहरु मात्र मिलेनन्, उनका जीवनमा एकपछि अर्को गर्दै आएका धेरै पीडा र ट्रेजेडीहरुको साक्षी बन्न पनि अभिषप्त भएँ ।
उनले बुवाआमा मात्र होइन, तीन जना भाइ र युवा वयको छोराको असमयको वियोग भोगे । मलाई त उनी वियोगान्त सम्बन्धहरूको पहाडले थिचिएझै लाग्थ्यो सधैँ । तर पनि उनले आफ्नो सिक्नेचरजस्तो बनेको मुस्कान र विनयी स्वभावलाई कहिल्यै गुम्न दिएनन् । जस्तो अवस्थामा पनि उनी मुस्कुराई रहे । धेरैलाई प्रेरणा र उत्साह भरिरहे ।
जिन्दगीको अन्तिम समयमा त उनी भन्थे, ‘म हिँड्दाहिँड्दै, बोल्दाबोल्दै, खाँदाखाँदै आनन्दले जान पाऊँ ।’
उनी त्यसै गरि जान पाए त ? प्रष्ट छैन मा । तर मलाई लाग्छ उनी त्यसैगरि गए । दु:ख नदेखाउने उनको बानीले पीडालाई पनि गहनाजस्तो सजाउन सक्ने कला दियो उनीलाई । सायद उनी दु:खाइहरुमा पनि मुस्कुराइ रहे । भक्कानिनु पर्ने पीडाहरुमा पनि हामीसँग सहज बन्ने प्रयास गरिरहे ।
पीडा त कति भयो भयो नि । तर अहँ उनले आफुभित्रको पीडा र एक्लोपनलाई उदाङगो बन्न दिएनन् । इलामको चियाबारीको बीचमा रहेको उनको आकर्षक घरलाई बेलाबेलामा भूँइकुहिरोले छोपेको देखेको हुँ मैले । तर उनले मुस्कानले सधैँ आफ्ना पीडा र एक्लोपनलाई छोपिरहेँ । भूँइकुहिरोजस्तो उनको मुस्कान बेलाबेलामा जाने आउने गरेन । सधैँ उनको अनुहारमा रहिरह्यो । र छोपिरह्यो उनीभित्रका हजार दु:ख र पीडाहरु ।
म उनको लेखन र गायनमा वेदना भेट्छु । भोजपुरे टेम्के डाँडाको उचाइ र पिखुवा खोलाको कलकल सुन्छु । अनि उनको आत्मिय व्यवहार इलामेली चियाबारीको हरियालीकै तहमा सधैँ ताजा ।
‘धेरै सम्झे धेरै हुन्छ
थोरै सम्झे थोरै हुन्छ
नसम्झेमा केही पनि छैन
तिमीलाई दिएको मेरो माया’
अक्सर सपनामा रमाउन रुचाउँछ मान्छे । सपनाले नै हो मान्छेलाई केही काम गर्न सक्छु भन्ने लाग्ने । शारिरिक रुपमा अशक्त मान्छेसँग पनि सपनाहरु हुन्छन् । त्यो मानसिक स्वास्थ्य राम्रो भएको प्रमाण हो । मनभरि सपना भएको मानिसले शारिरीक रुपमा केही गर्न नसक्ने अवस्थामा पनि आफुलाई दंग राख्न सक्छ । क्यान्सरले थलिएको बेला उनलाई भेट्दा मलाई यस्तै लाग्थ्यो ।
उनी भन्थे पनि, ‘मलाई थाहा छ अहिले म केही गर्न सक्दिन तर मसँग सपनाहरु छन् ।’
त्यसो त उनी सपनामै देख्थे मरेका भाइहरुलाई पटक पटक । सपनामै कुरा गर्थे क्यान्सरलाई जितेर कोरोनासँग हारेकी आफ्नी श्रीमती नीरासँग । कुनैबेला हरेक रातजस्तै उनी नीरा भाउजुसँग सपनामा कुरा गरिरहन्थे । सँगै कतै गइरहेका हुन्थे । कतै सँगै खाना खाइरहेका हुन्थे ।
नीरा भाउजुले बनाएका खाजा र खानाहरु खाएको छु मैल । थकालीकी छोरी उनी निकै मीठो परिकार बनाउँथिन् । गणेश दाजु श्रीमतीको प्रशंशा गरेर कहिल्यै थाक्दैनथे – ‘मैले श्रीमती एकदम बुज्झकी पाएँ । उनले समझदारी नदेखाएको भए हाम्रो घरपरिवार उहिल्यै उजाडिइसक्थ्यो । मैले अनेकन त्यस्ता गल्तीहरू गरेको छु ।’
उनले पटक पटक हामीलाई प्रष्ट पारेका छन् –
घरबाहिरको सम्बन्धमा नीरा भाउजुसँग आफु इमानदार नरहेको कुरा । सब थाहा पाएर पनि नीरा भाउजुले परिवार जोगाएको कुरा । घर भाँडिन नदिएको कुरा ।
उनको जीवनको निचोड धेरैका लागि शिक्षा हुन सक्छ – ‘जीवनमा श्रीमतीभन्दा नजिकको साथी अर्को नहुने रैछ ।’
गणेश दाजु असमयमै गएका छोरासँग पनि सपनामै गफिन्थे ।
भन्थे, ‘त्यसले अंश माग्यो । मैले दिएँ । तर उ नै रहेन । पछि सपनामा पनि उ मसँग त्यही कुरामा सन्तुष्ट थियो ।’
२०७६ सालतिर उनलाई प्रोस्टेटमा क्यान्सर देखियो । प्रोस्टेटको समस्या पुरानै हो । तर एकदमै गाह्रो हुन थालेपछि मात्र उनी जचाउन गए । सायद निकै ढिलो पुगे अस्पताल । थर्ड स्टेजको क्यान्सर भइसकेको रैछ । त्यहीबेलादेखि हो उनको निद्रा हराएको । ‘म त मरिहाल्छु’ भन्ने पिरलोले उनलाई गाँज्यो । नीरा भाउजु पहिलेदेखि नै शारिरीक रुपमा कमजोर । त्यसमा उनी आफैलाई क्यान्सर । त्यसपछि नै हो हतार हतार इलामको जग्गा बेचेर भक्तपुरको बालकोटमा घर बनाएको । आफु मरिहाले पनि श्रीमतीलाई बस्ने बास हुन्छ उनले सोचेका थिए । तर त्यो घरमा नीरा भाउजु धेरै बस्न पाउनु भएन ।
नीरा भाउजु नभएपनि जीवनको उत्तरार्धमा उनी एउटै कुरामा खुशी थिए, ‘ऋणमुक्त भइयो, मेरो नाममा घर छ, बैंक ब्यालेन्स छ’ भनेर नीरा ढुक्कले मर्न पाइन् । त्यो आत्मसन्तुष्टि पनि ठूलो कुरो हो ।’
जिन्दगी जिउन गार्हो छ भन्थे मानिसहरु । तर जिन्दगी त थाहै नपाइ सकिने रहेछ । मृत्युबारे पनि मज्जाले गफिन सकिने रहेछ । जव थाहा हुन्छ मर्दैछु भन्ने त्यसपछि के को मोह ? के हो आग्रह ? अनि के को भय ?
त्यसो त मृत्यु सत्य हो । जति नै सत्य भएपनि यो प्रिय विषय होइन । मर्न डर लाग्छ नै । तर बिरामी भएर जव बिकल्प सकिन्छ त्यसपछि केही पनि बाँकी रहँदैन मृत्यु कुर्नु सिबाय ।
‘म हिँड्दाहिँड्दै, बोल्दाबोल्दै, खाँदाखाँदै आनन्दले जान पाऊँ ।’ यो उनको जीवनप्रतिको वैराग्य थिएन । हरकोहीले भोग्नुपर्ने नियति हो । यथार्थ हो । सत्य हो ।










