काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई प्रभावकारी बनाउने विषयमा सांसदहरू र सरकार दुवै गम्भिर बन्नुपर्नेमा जोड दिनुभएको छ ।
संसद दिवस, २०८२ को अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले संसदमा सांसदहरुले नागरिकका समस्या उठाएपछि मन्त्रीहरुले जवाफ दिने तर कार्यान्वयन नहुने प्रवृत्तिले संसदको प्रभावकारीतामिाथि प्रश्न उठिरहेको बताउनु भयो । अध्यक्ष दाहालले सांसदहरूलाई जनताको प्रतिनिधिका रूपमा बजेट आफ्ना निर्वाचन क्षेत्रमा लैजाने मात्र नभई नीतिगत बहस र कार्यान्वयनमा सक्रिय भुमिका निर्वाह गर्न जरुरी रहेको बताउनु भयो । जनतासँग गरेका वाचा, वर्तमान राजनीतिक परिस्थिति, देशको अर्थतन्त्र र जनजीविकाको सवालमा गम्भीर भएर सबैले आफ्नो भुमिका खोज्न सकेमात्र संसदको प्रभावकारीता बढाउन सकिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘संसदमा माननीय सदस्यहरुले उठाएका जनताका समस्याहरुलाई समयमै सम्बोधन गर्ने र संसदप्रति उत्तरदायी हुने सवालमा सरकार गम्भिर हुन आवश्यक छ । सांसदले संसदमा समस्या उठाएपछि सम्बन्धित मन्त्रीले उत्तर दिने तर कार्यान्वयनमा ढिलासुस्ति र उदासिनता देखिने विषय विगतदेखि नै समस्या बनेको हामी सबैले महशुस गरेका छौँ । यसमा सबैको ध्यान जान उत्तिकै जरुरी छ । संसदलाई थप प्रभावकारी बनाउन सांसदहरुको भूमिका के हुन्छ ? हामीले जनतासँग गरेका वाचा नेपालको वर्तमान राजनीतिक परिस्थिति, देशको सिंगो अर्थतन्त्रलाई कसरी अगाडि बढाउने र नेपाली जनताको जिविकाको सवालमा हामी कति गम्भिर र संवेदनशील छौँ भन्ने सवाल जोडेर आफ्नो भुमिका खोज्यौँ भने ठिक निष्कर्षमा पुगिन्छ भन्ने मलाई लाग्छ । होइन भने जनताको बीचमा गएर भाषण गर्ने, आफ्नो क्षेत्रमा दुईचार करोड बजेट लैजानेमा नै हाम्रो भूमिका सिमित रह्यो भने वास्तविक सांसदको भूमिकामा असफल हुनेछौँ ।’
अध्यक्ष दाहालले संसदप्रति जनताको विश्वास अभिवृद्धि गर्न सांसदहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सबैले गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।









