काठमाडाैंः सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म रु दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको साेमबारको बैठकमा उक्त कोषबाट हालसम्म रु २८ करोड ६७ लाख ५८ हजार निकासा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिनुभयो ।
सरकारको प्रणालीबाट विनियोजिन र केन्द्रीय बजेट प्रणाली, प्रदेश सरकार र स्थानीय तहको समग्र लेखाको अद्यावधिक खर्चको विवरण भने केही दिनमा समितिसमक्ष प्रस्तुत गर्ने सो अवसरमा जानकारी दिइयो ।
सरकारले मुलुकका १७६ स्थानीय तहलाई रु १३ करोड २२ लाख ५६ हजार तथा भारत सीमा नजिक रहेका होल्डिङ सेन्टर सञ्चालन गर्दै आएका स्थानीय तहलाई रु दुई करोड ७७ लाख २३ हजार उपलब्ध गराएको छ ।
पिसिआर परीक्षण शुल्क पाँच हजार ५००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना पहिचानका लागि हुने स्वाबको पिसिआर परीक्षण शुल्क पाँच हजार ५०० कायम गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकासँग मिल्ने गरी उपचार प्रद्धति र क्वारेन्टिन नीतिमा परिवर्तन गर्न लागेका छाैं, उपचारमा लाग्ने खर्च घटाउन प्रयत्न भइरहेको छ । मुलुकमा हाल सञ्चालनमा २३ वटा प्रयोगशालाबाट प्रतिदिन सात हजार ५०० को दरले स्वाब परीक्षण भइरहेको छ ।
मन्त्रालयले कूल जनसङ्ख्याको दुई प्रतिशतलाई स्वास्थ्य परीक्षणका लागि आवश्यक समाग्रीको व्यवस्थापन गरेको छ ।
सङ्कलन गरिएको २० हजार स्वाब परीक्षण गर्न बाँकी
सरकारले कोभिड–१९ पहिचानका लागि निजी क्षेत्रलाई सङ्कलन गरिएको स्वाब परीक्षण गर्ने जिम्मेवारी दिने तयारी गरेको छ ।
अहिले कोभिड–१९ को पहिचानका लागि सङ्कलन गरिएको करिब १८ देखि २० हजार स्वाब परीक्षण गर्न बाँकी नै रहेको स्वास्थ्य मन्त्रालयका सचिव अर्यालले जानकारी दिनुभयो ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि आगामी ११५ दिनको कार्ययोजना व्यवस्थापनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । सरकारले समान खरिदमा अब सेनाले होइन स्वास्थ्य मन्त्रालयले नै गर्ने अरु विपद्, उद्धार र राहतको काम भने सेनाले गर्नेछ ।
सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अस्पतालका अतिरिक्त डडेलधुरा, प्रदेश नं ५, धौलागिरि अस्पताल, प्रदेश नं १ मा पनि कोभिड–१९ परीक्षण प्रयोगशाला राख्ने तयारी गरेको छ । उक्त स्थानमा प्रयोगशाला रहेपछि दैनिक १५ हजारसम्म परीक्षण हुनेछ । कोभिड–१९ को जोखिमको पाटोलाई दृष्टिगत गरी हाल एक हजार क्षमताको भेन्टिेलटरसहितको सघन उपचार कक्ष प्रबन्ध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
सातवटै प्रदेशमा अक्सिजन प्लान्टको व्यवस्था गरिएको छ । चीनबाट निजी क्षेत्रले खरिद गरिएको औषधि ढुवानीका लागि प्रयोग भएको नेपाल वायुसेवा निगमको भाडाबापतको रु एक करोड ४५ लाख रकम भुक्तानी हालसम्म भइनसकेको जानकारी दिइयो ।