काठमाडौँ । ग्रेस महर्जनले ‘मिस्टर महानगर’ को उपाधि जितेका छन् । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले शनिवार राष्ट्रिय सभा गृहमा आयोजना गरेको शारीरिक सुगठन प्रतियोगितामा ओभरअल विजेता भएपछि महर्जनले ‘मिस्टर महानगर’ को उपाधिसहित ट्रफी, मेडल, प्रमाण पत्र र नगद ५ लाख ७५ हजार रुपैयाँ पाएका हुन् ।
महर्जनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका हुन् । त्यस अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु नै अमूल्य सम्पत्ति रहेको बताउँदै, निरोगी जीवन प्रवर्धनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको बताए । उनले भने, ‘आरोग्य जीवनका लागि सरकारदेखि समुदायसम्म सबैका आफ्नाआफ्नै भूमिका छन् । सबैले आफ्नाआफ्ना भूमिका निभाउनुपर्छ । नागरिकले स्वस्थ्य आचरण पालनामा ध्यान दिनुपर्छ ।’
यस्तै, महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले यसप्रकारका प्रतियोगिताले सहरी जनस्वास्थ्यमा सकारात्मक सन्देश प्रवाह हुने बताईन् ।

प्रतियोगितामा ६ तौल समूहमा ३८ जना खेलाडीबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको पहिलो दिन असार ६ गते तौल मापन गरिएको थियो । ७५ के. जी. माथिको तौल समूहमा ६ जना खेलाडी थिए । यस समूहमा नेपाल व्यायाम मन्दिर, ज्याठाबाट भाग लिएका महर्जन क्याटागोरी विजेताका रुपमा अन्तिम प्रतिस्पर्धामा गएका थिए ।
७५ केजी सम्म तौल समूहका ५ जना खेलाडीमा नेपाल व्यायाम मन्दिर, ज्याठाका सुरेश मुनिकार, ७० केजी सम्म तौल समूहका ६ जना खेलाडीमा पावर फिजिकल फिटनेस, पेप्सीकोलाबाट सुसन श्रेष्ठ, ६५ केजी सम्म तौल समूहका ८ जना खेलाडीमा फिटनेस ग्यारेज, थापाथलीका युवराज बस्नेत, ६० केजी सम्मको तौल समूह भएका ७ जना खेलाडीमा फिटनेस ग्यारेज, न्युरोडका सुमित गिरी र ५५ केजी सम्मको तौल समूहका ६ जना खेलाडीमा फिटनेस ग्यारेज, थापाथलीका नेवबहादुर राना क्याटागोरी विजेता भए।
क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगद ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । यस्तै चौथो स्थान हासिल गर्नेलाई १५ हजार नगद र पाँचौ स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।











