जनकपुरधाम । सरकारले धनुषाको हंसपुर नगरपालिकाका १६ वर्षीय राजु सदाको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सोमबार जिवनजल समेत नपाएर आइसोलेसनमा ज्यान गुमाएका सदाको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप ५ लाख दिइने र घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने बताएका छन् ।
प्रदेश सरकारले बिहीबार मात्र सदाको मृत्युबारे छानबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।
जेठ ३ गते भारतको अहमदावादबाट आएका सदा १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला लाग्दा टिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो । त्यही उनको स्वाब संकलन गरिएको थियो । तर समयमै रिपोर्ट नआएका कारण उनले झाडापाखालाको समेत राम्रो उपचार नपाउदा मृत्यु भएको थियो ।











