
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटफेर गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको विषयमा सरकारसँग भएको सहमति सत्ता साझेदारी र जनयुद्धकालीन मुद्दाका विषयलाई जोडेर भइरहेको टिप्पणी असान्दर्भिक रहेको बताउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणमा सरकारसँग कुनैपनि विषय साटफेर नगरेको जिकिर गर्नुभयो । उहाँले संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी कामहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले शुरु गरिसकेको समेत उल्लेख गर्नुभयो । उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको छानविनको लािगि सरकारलाई समिति गठन गर्न समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले सरकारसँग गरेको सहमतिमा सत्ता लेनदेनको कुनै सन्दर्भ छैन । अरु कुनै विषयसँग साँठफेर गरेको कुरा पनि सत्य होइन । सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता नागरिकको छानविन आयोगले काम सुरु गरेको छ । संक्रमणकालीन न्यायसम्बन्धीका कामहरु आयोगले गर्छ । त्यसकारण जनयुद्धकालीन मुद्दाहरुसँग साटफेर गरियो कि भन्ने कुरा निकै असान्दर्भिक हो । जहाँसम्म समिति गठनको कुरा छ सरकारले अविलम्ब गठन गनुपर्छ । रास्वपा लगायतका साथिहरुले पनि धैर्यता अपनाउनुपर्छ । सरकारले कार्यादेश स्पष्ट गरेर समिति बनायो भने हामी रास्वपाका साथिहरुलाई पनि मनाउन सकिन्छ । र रास्वपाले पनि यही विषयमै आन्दोलन चलाइराख्न आवश्यक छैन ।’
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरुलाई संयमित रहन पनि आग्रह गर्नुभयो ।