
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको माग अनावश्यक भएको टिप्पणी गर्नुभएको छ ।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले यस्तो टिप्पणी गर्नुभएको हो । रास्वपाले उठाएको विषय सैद्धान्तिक रूपमा उचित नभएको उल्लेख गर्दै उहाँले रास्वपाले प्रतिष्ठाको विषय बनाएको जिकिर गर्नुभयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल २२ वटै मन्त्रालयका कुनै न कुनै कर्मचारीमाथि छानविन गरिरहेको उल्लेख गर्दै सबै मन्त्रीहरूले राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस कुनैपनि शक्तिलाई निषेध गर्ने काम र लखेट्ने काम गर्दैन । ससम्मान सबैको अस्तित्वलाई स्वीकार गर्छ । त्यसकारण हामीले रास्वपालाई लखेट्ने, भित्तैमा पुर्याउने काम हुदैन । तर रास्वपाले अहिले जुन इस्यु उठाउनुभएको छ त्यो नउठाउनुपथ्र्यो । अब अहिले आएर उहाँहरुले प्रतिष्ठाको विषय बनाउनु भयो होला । तर उहाँहरुको यो इस्यु नै होइन । नेपालमा अहिले २२ वटा मन्त्रालय छन् । सबै मन्त्रालयका कुनै न कुनै कर्मचारीमाथि अख्तियारले छानविन गरिरहेको छ । के सबै मन्त्रालयले राजीनामा गर्ने ?’
भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको उल्लेख गर्दै उहाँले मुद्दा अभियोजनपछि संलग्नताबारे थाहा हुने समेत बताउनु भयो ।