काठमाडौं। स्कटल्यान्डको ग्लासगोमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई ९७ रनमै समेट्दै ९८ रनको लक्ष्य पाएको छ।
नेपालका स्पिनर सन्दीप लामिछानेले घातक प्रदर्शन गर्दै ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए। करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए।
स्कटल्यान्डका माइकल लियस्कले ४६ रन बनाएका थिए भने कप्तान म्याथ्यु क्रसले १५ रन जोडे। स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा समेटिएको हो।
यो शृंखलामा नेपाल र स्कटल्यान्ड दुवैको दोस्रो खेल हो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग तीन सुपर ओभरसम्म लडेर पराजित भएको थियो। प्रतियोगितामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्।










