युवा तथा खेलकुद मन्त्रीको ज्यादती र मनपरी बढ्दो छ । राष्ट्रिय खेलकुद परिषद्मा बोर्डमा चयन गर्दा मनपरी गरेको आरोप लागेका उनीमाथि नेपाल ओलम्पिक कमिटीको विवादमा व्यक्तिगत लाभ र सम्पर्कको आधारमा निर्णय गर्ने गरेको आरोप छ ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघलाई बेवास्ता गर्दै मन्त्री चौधरीले राखेप बोर्डमा नियुक्त गरेका थिए । यसरी नियुक्ति गर्ने क्रममा उनले आफ्नै स्कुल नाइटिङ्गल स्कुलकी प्रिन्सिपल रजना प्रधानलाई पनि राखेपको कार्यकारी सदस्य बनाएका छन् ।
मन्त्री चौधरीले रञ्जनालाई अनावश्यक महत्व दिएको आरोप खेल क्षेत्रमा चलेको छ । यसैगरी नेपाल ओलम्पिक कमिटीको विवादमा जीवनराम श्रेष्ठ र सुनिल श्रेष्ठ बिचको विवादमा मन्त्री चौधरीले सुनिल श्रेष्ठको सल्लाहको आधारमा मात्र गरेको निर्णयका कारण थप विवादित बनेको छ ।
अहिले ओलम्पिक कमिटीको विवादमा सरकारलाई साथ नदिएको कारण केही संघ पुर्नगठन गरिएको छ । ६ संघ पुर्नगठन गर्दा सबै भन्दा विवादमा रहेका र निश्क्रिय रहेका नेपाल जिम्न्यास्टिक संघका ध्रुव बहादुर प्रधान तथा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहलाई निरन्तरता दिइएको छ ।
प्रधानको नेतृत्वको जिम्न्यास्टिक संघ नेपालको सबै भन्दा निश्क्रिय संघको रुपमा छ । सो संघले कुनै गतिविधी नै गर्ने गरेको छैन । प्रधान राप्रपाका नेता हुन् । उनीमार्फत नेपाली खेलकुदमा प्रवेश गरेका सुनिल श्रेष्ठ नेपाल फेन्सर संघका अध्यक्ष हुन् ।
उनी जीवनराम श्रेष्ठको दुई कार्यकालका सकिए पछि नेपाल ओलम्पिक कमिटीको अध्यक्ष बन्ने योजनामा थिए । ओलम्पिक कमिटीको विधान अधिवेशनले विधान परिमार्जन गर्दै तेस्रो जीवनरामलाई थप कार्यकालका लागि बाटो खोलेपछि सुनिलले सरकारी शक्तिको प्रयोग गरेका हुन् ।
ओलम्पिक कमिटीमा यस अघि मापदण्ड पुगेका संघलाई मान्यता नदिएका काराण विवाद रहे पनि अहिले ती संघले मान्यता पाइ सकेका छन् । यसरी मान्यता पाउने संघमा नेपाल बेसबल तथा सफ्टबल संघ, नेपाल स्केटिङ ताथ स्केटबोर्डिङ संघ, नेपाल रग्वी संघ र नेपाल मोर्डन पेन्टाथलन संघ छन् ।
अहिले सुनिलको सल्लाहमा ओलम्पिक कमिटीको विवाद मच्चाएको आरोप मन्त्री चौधरीलाई छ । सुनिलकै सल्लाहमा चल्ने गरेका मन्त्री चौधरीले उनकै लागि अहिले खेलकुद ऐनमा परिवर्तन गर्दै ६५ वर्ष उमेर हद बनाइएको छ । यो अहिले संसद्बाट पास हुन्छ या हुँदैन प्रतिक्षाको विषय छ ।
सुनिल ५९ वर्षका भए । नेपाली कांग्रेस निकट खेलकुदमा आवद्ध हुनेहरु भने नेपाल लोकतान्त्रिक संघको सिफारिसमा मात्र नियुक्त हुनुपर्ने अन्यथा ठूलो दुर्घटना हुने बताउछन् । फेन्सिङ संघका अध्यक्ष रहेका श्रेष्ठ राजनीतिक रुपमा पनि अष्पष्ट व्यक्ति हुन् । नेपाली काँग्रेस निकट एक व्यक्ति भन्छन्,‘गत आम निर्वाचनमा नवलपरासीमा ध्रुब बहादुरको पक्षमा उनी सक्रिय भएर साथ लागेका थिए ।’










