
एजेन्सी । अहमदाबाद विमान दुर्घटनामा बाँचेका एक मात्र यात्रु रमेश विश्वास कुमारले भने कि आफू कसरी जीवित बाहिर निस्किए भन्ने कुरामा आफूलाई विश्वास नै लाग्दैन ।
उनी भन्छन् ‘सायद ढोका फुट्यो र म सिटसँगै लडेँ । मलाई केही याद छैन ।’
रमेश कुमार अहमदाबाद सिभिल अस्पतालमा भर्ना छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उनलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरे । दुई जनाले लगभग १० मिनेट कुराकानी गरे ।
यसपछि रमेशले डीडी न्यूजलाई भने कि प्रधानमन्त्रीले उनको स्वास्थ्य अवस्थाको बारेमा सोधपुछ गरे र दुर्घटना कसरी भयो भनेर सोधे । रमेश विमानको सिट ११ ए मा बसिरहेका थिए । दुर्घटनापछि उनी आफैं दुर्घटनास्थलबाट बाहिर निस्किए ।
रमेशले भनेः म विश्वास गर्न सक्दिनँ, म कसरी बाँचेँ ?
प्रश्नः दुर्घटना कसरी भयो ?
उत्तरः सबै कुरा मेरो अगाडि भयो । मलाई थाहा छैन यो कसरी भयो । म कसरी जीवित बाहिर निस्किएँ भन्ने कुरा मलाई विश्वासै लाग्दैन । केही समयको लागि मलाई लाग्यो कि म मर्नेछु । जब मैले मेरो आँखा खोलेँ मलाई लाग्यो कि म जीवित छु । मैले सोचेँ कि म यहाँबाट निस्कन सक्छु र म निस्किएँ ।
प्रश्नः विमान उड्ने बित्तिकै के भयो ?
उत्तरः विमान उडान भर्ने बित्तिकै, पाँच देखि दस सेकेन्ड भित्रै यो रोकिएको जस्तो महसुस भयो । पछि हरियो र सेतो बत्तीहरू बल्न थाले । त्यसपछि गति बढाउने बित्तिकै, यो एकै समयमा खस्यो र विस्फोट भयो ।
प्रश्नः विमान होस्टेलमा खस्दा तपाईं बाहिर निस्कनुभयो ?
उत्तरः मेरो सिट भएको विमानको भाग भवनको तल्लो भागमा ठोक्किएको हुनुपर्छ । माथिल्लो भागमा आगो लागेको थियो, धेरै मानिसहरू त्यहाँ फसेका थिए । सायद म सिटसँगै तल खसेको थिएँ ।
म कसो–कसो बाहिर निस्कन सफल भएँ । ढोका फुटेको थियो र अगाडि केही खाली ठाउँ देखेँ, त्यसैले बाहिर निस्कने प्रयास गरेँ । अर्कोपट्टि पर्खाल थियो, सायद त्यहाँबाट कोही पनि निस्कन सक्दैनथे । दुई जना एयर होस्टेज, एक जना काका–काकी र सबै कुरा मेरो आँखा अगाडि जलिरहेको थियो ।
प्रश्नः तपाईं त्यहाँबाट पैदल आउनुभयो ?
उत्तरः हजुर
विमानमा २४२ जना सवार थिए, २४१ जनाको मृत्यु भयो
एयर इन्डियाको उडान नम्बर एआई(–१७१ (बोइङ ७८७ ड्रीमलाइनर विमान) अहमदाबादबाट लन्डन जाँदै थियो । बिहीबार दिउँसो १ः५५ बजे दुर्घटनाग्रस्त भयो । विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिक सहित जम्मा २३० यात्रु थिए । बाँकी १२ जना चालक दलका सदस्य थिए । एक यात्रु बाँचे । २४० जनाको मृत्यु भएको छ ।
विमान ठोक्किएको भवनमा अहमदाबाद सिभिल अस्पतालका डाक्टरहरू बस्छन् । जानकारी अनुसार दुर्घटनाको समयमा भवनमा ५० देखि ६० डाक्टरहरू उपस्थित थिए, जसमध्ये १५ भन्दा बढी घाइते भएका छन् । दुर्घटना स्थलमा भेटिएका अधिकांश शवहरू पूर्ण रूपमा जलेका थिए ।