
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको छोरा जयवीरको फोटो राखेर हिल्टन होटलबारे स्टाटस लेखेका राप्रपा युवा संगठनका संयोजक सुजित केसीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंले केसीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरेको हो । केसीले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा हिल्टन होटल जयवीरले किनेको सन्दर्भमा स्टाटस लेखेका थिए ।
उनले लेखेका थिए– ‘भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडौं नक्सालस्थित हिल्टन होटल खरिद गरेका छन् ।’ तर पछि केसीले त्यो स्टाटस हराएका थिए ।
यही विषयलाई लिएर प्रहरीको साइबर ब्यूरोमा जाहेरी परेपछि केसीलाई जेठ २ गते पक्राउ गरिएको थियो । तर एक साता हिरासतमा बसेपछि बन्दीप्रत्यक्षीकरणको रिटबाट हुने छुटेका थिए ।
यही मुद्दामा सरकारी वकिलले काठमाडौंमा मुद्दा दायर गरेको हो ।