४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्याफेमा ‘कृषि हाटबजार’



अ+ अ-

काठमाडौं । क्याफे भनेपछि धेरैको मनमा आउँछ कफीको सुवास । म:म, बर्गर, पिज्जा, आधुनिक खाद्य परिकार । काठमाडौँको दरबारमार्गस्थित क्याफे सुनेपछि त मनसपटलमा अरू चित्र पनि आउँछन् । महँगा परिकार र पेयपदार्थको चुस्कीसँगै गफिइरहेका देशीविदेशी ग्राहक, आधुनिक गीतसङ्गीतको गुनगुनाहट ।

दरबारमार्गको ओरियन्ट क्याफेमा पनि अरूबेला यस्तै माहोल हुन्छ, तर शनिबार भने नितान्त फरक । यस दिन बिहान यहाँको माहोल किसानका उत्पादनको सुगन्ध र ग्राहकको उपस्थितिले गुञ्जायमान हुन्छ । यहाँ तरकारी, फलफूल, गेडागुडी, पीठो एवं सातु, अचार, मस्यौरा, दुग्ध र मासुजन्य उत्पादन, हस्तकला र रैथाने परिकार गरी नौ समूहका सामग्री सुगन्ध फैलिन्छ । काठमाडौँ उपत्यकामा उत्पादन हुने कृषिउपज मात्र होइन, सोलुको बकुमा आलु, रातो च्याउ र नेचा, सल्यानको दूधे मार्सी र बिरमफुले तथा नुवाकोटमा मात्र उत्पादन हुने समुन्द्रफिनीको चामल । यसबाहेक देशका विभिन्न भूभागबाट आएका कोदो, मकै, फापर, गहुँ, चिनो र कागुनोको पिठो, घरेलु अचार, घ्यू, नौनी, चिज, पनिर, सिताके च्याउ, हस्तकला सामग्री आदिआदि ।

परिकारतर्फ फापर र कोदोको म:म, चिनो, कागुनोको सेलरोटी, भुटेको स्थानीय मकै, सिरौँला, खट्टे, पिनट बटर, लप्सी केण्डी, जडबुटी एवं औषधीय गुण भएका यार्सागुम्बा, सिलाजित, ओखरको तेल, भिरमह, जङ्गली बेललगायतको उपलब्धताले यहाँको माहोललाई थप आकर्षक बनाउँछ । यहाँ पेयपदार्थ पनि पाइन्छ, तर मही, मर्चा प्रविधिबाट बनाइएको कोदोको रक्सी ।

विसं २०८० साउन १ गतेदेखि हरेक शनिबार यहाँ लाग्ने ‘रैथाने कृषि हाटबजार’मा यस्तै स्थानीय उत्पादनको सुगन्ध लिँदै ग्राहकहरू रोजीरोजी सामान किन्न पाउँछन् । यहाँको विशेषता छ– न चर्को मूल्य, न त ग्राहक र बिक्रेताले मोलमोलाइ गर्नुपर्ने झन्झट । ग्राहकले स्वच्छ र पौष्टिक सामान पाउने, विक्रेताले मेहनतअनुसारको मूल्य । ग्राहकहरूले मही पिउँदै, सिस्नुको सुपको चुस्की लिँदै उपलब्ध सामग्रीको प्रयोग र फाइदाबारे किसानसँग सिधा कुराकानी गर्दै सामान किन्ने ।

यसले उपभोक्ता र साना किसानको दूरीमात्र घटाएको छैन, साना उद्यमीका उत्पादनको बजारीकरण, त्यसको महत्वबारे प्रचार र आधुनिक खानपानमा रमाएर बिर्सिँदै गएका रैथाने कृषिउपजको पुनर्जागरणमा योगदान पुगेको यहाँ पुग्नेहरूले बताउने गरेका छन् ।

यस अभियानलाई प्रवर्द्धन गरिरहेको छ रैथाने एग्री प्रडक्ट प्रालिले । उत्पादक किसानसँग सम्पर्क, समन्वय, बजार व्यवस्थापन, प्रचारप्रसार, परामर्श सेवा र अभिमुखीकरणलगायतमा यस संस्थाले सहजीकरण गरिरहेको छभने ओरियन्ट क्याफेले नि:शुल्क रूपमा स्थान, बैठक हललगायत सुविधा दिएको छ । यसैगरी डेरी एसोसिएसन नेपालले आगन्तुकलाई महीका निम्ति नि:शुल्क दहीको व्यवस्थापन गरिरहेको छ । अभियन्ता एवं एग्री प्रडक्ट प्रालिका अध्यक्ष तिलक ढकाल रैथाने बाली, परम्परागत सीप र ज्ञानको संरक्षण, प्रवर्द्धन तथा बजारीकरण गरी रोजगारी सृजना, मौलिक सांस्कृतिक खानाको प्रचार तथा उत्पादित कृषिउपजको उचित बजारीकरणका लागि अभियान सुरु गरिएको बताउनुहुन्छ ।

यहाँ विषादीरहित रैथाने कृषि उत्पादनहरूको मात्र बजारीकरण गरिने भएकाले जैविक उत्पादन प्रवर्द्धन भई स्वच्छ वातावरण र स्वास्थ्य जीवन जिउने अभियानमा मद्दत पुगेको उहाँको भनाइ छ । “सहरबजारमा पैसा भयो भने जे पनि, जति पनि सामान पाइन्छ, तर ताजा, स्वस्थ, पौष्टिक र विषादीरहित सामान पाउन निकै कठिन छ । पछिल्लो समय उपभोक्ताले ताजा र विषादीरहित उत्पादन र किसानले बिचौलियाविहीन बजार खोजिरहेका छन् । यी दुवै समस्या समाधान गर्न हामीले यो अभियान सुरु गरेका हौँ”, ढकाल भन्नुहुन्छ, “यस्तो मोडलले किसान र उपभोक्ताबीचको दूरी र अविश्वास दुवै घटाएको छ । बिचौलियाबिना बिक्री गर्दा किसानलाई उचित मूल्य मिलेको छ, उपभोक्ताले पनि ताजा, स्वस्थ उत्पादन सस्तोमा पाएका छन् ।”

यसरी भइरहेको छ लाभ

नुवाकोट दुप्चेश्वर–१ का कृष्ण स्याङ्तान तीन वर्ष बेलायत बसेर स्वदेश फर्किएपछि मौलिक नेपाली कृषिउपज प्रवर्द्धनमा लाग्नुभएको छ । उहाँ मकै, कोदो, सेरेना प्रजातिको मह, मौसमअनुसार जङ्गलमा पाइने खानेकुरा, नेपालका पाँच जिल्लामा मात्र पाउने घ्यू, आलु प्रवर्द्धन गरी आयआर्जनमा लाग्नुभएको छ । पछिल्लो दुई वर्षयता उहाँको मुख्य व्यापार हो, सिस्नु । यसको प्रवर्द्धनका लागि रैथाने कृषि हाटबजार उपयोगी भएको उहाँले सुनाउनुभयो ।

“हाटबजार लाग्न थालेपछि हरेक शनिबार क्याफमै गएर सिस्नुलगायत सामग्री बेचिरहेको छु । यहाँबाट मेरो व्यवसायको प्रचारमा उल्लेख्य टेवा पुगेको छ । प्रचार भएपछि अनलाइनमार्फत पनि कारोबारमा वृद्धि भएको छ”, स्याङ्तानले भन्नुभयो, “आम्दानी त भइरहेको छ नै, हिजो गरिबले खाने परिकार भनेर हेला गरिने सिस्नुबारे अचेल सम्भ्रान्त मान्छे बस्ने दरबारमार्गमै प्रचार गर्न पाएको छु । हजारौँलाई यसको फाइदाबारे जानकारी दिन पाएको छु ।” सबैभन्दा गज्जब त लाखौँको गाडी चढेर एकडेढ सयको सिस्नुको प्याकेट लिन आउनेको सङ्ख्या बढ्दै गएकामा उहाँलाई अझ बढी आनन्द लाग्न थालेको छ ।

भक्तपुर गोठाटारकी लक्ष्मी पोखरेलले अन्य दिदीबिहीनीसँग मिलेर कोदो, कागुनो, फापर, जौँ, आलसलगायत नेपाली परम्परागत खाद्य सामग्रीको आधुनिक प्रयोगमार्फत व्यवसाय गरिरहनुभएको छ । उहाँले हर्लिक्स र बर्नबिटाजस्ता प्रशोधित सामग्रीको विकल्पमा कोदोजन्य बालीबाट सामग्री, कागुनो, आलस र जौँबाट प्यानकेक, जौँ र फापर टुसाएपछि त्यसलाई पिसेर ‘चोखो पीठो’, मुङ र तिलको प्रयोगबाट विभिन्न उपभोग्य वस्तु बनाएर कारोबार गरिरहनुभएको छ । “पहिले हामी स्थानीय पसलमै सीमित थियो, बजारीकरण गर्न सकिएको थिएन । पछिल्लो समय हाटबजारमा जान थालेपछि बजार प्रवर्द्धनमा एकदमै सघाउ पुगेको छ । त्यहीबाट आफ्नो उत्पादनलाई चिनाउन थालेका छौँ । यसले घरमा बसेर केही गर्ने चाहना भएका साना उद्यमी महिला तथा युवालाई सघाउ पुगेको छ ।”

काठमाडौँ महाराजगञ्जकी वसुन्धरा श्रेष्ठ पेसाले ‘इन्टेरियर डिजाइनर’ ९घर तथा कार्यालयको भित्री सजावट० भए पनि विगत १२–१३ वर्षदेखि बदामको बटर, आलस, कोदोको पीठोबाट चार किसिमका बिस्कुट, टिमुर र मेथीको अचार तथा चिया मसलालगायत सामग्री बनाउँदै आउनुभएको छ । हाटबजारबाट वर्षौँदेखिको व्यापारको छुट्टै पहिचान स्थापित गर्न सहज भएको उहाँले बताउनुभयो । “हाटबजारमा आफ्ना समान बेच्नेमात्र होइन, त्यहीबाट कच्चा पदार्थ किन्न नि पाइन्छ । पहिले यसैका लागि धेरै ठाउँ धाउनुपथ्र्यो, अहिले त्यसको चिन्ता छैन । त्यसैमार्फत प्रचार हुँदा स्वदेशमा कारोबार बढेको छ । विदेशमा समेत सामान पठाउने आधार बनिरहेको छ”, श्रेष्ठले भन्नुभयो ।

यहाँ हरेक हप्ता ३५ वटा फरकफरक सामग्रीका स्टल लाग्छन् । यसबाट हरेक हप्ता तीन सयदेखि चार सय उपभोक्ता लाभान्वित भइरहेका संस्थाले जनाएको छ । गत शनिबार यस अभियानले १००औँ हप्ता पूरा गरेको छ ।

यसरी जन्मियो अभियान

यो अभियान २०७६ साल साउन २२ गतेदेखि सुरु भएको हो । चितवनको तोरीको तेल र चिउरीको रसबाट बनेको सेरेना प्रजातिको मह गरी दुईवटा उपजबाट अभियान सुरु भएको थियो । हाल ५५ जिल्लाका तीन सयभन्दा बढी कृषिउपज र वस्तुको बजारीकरण गर्ने अवस्थामा पुगेको अभियन्ता ढकालले जानकारी दिनुभयो । “यो अभियान रैथाने कृषिलाई माया गर्ने चारपाँच जनाको सल्लाहबाट सुरु भएको हो । हाल देशभर विस्तार भइरहेको छ, संस्थामा ४९ जना जोडिएका छौँ । तीन सयभन्दा बढी कृषिउपज आफैँ किन्ने र बेच्ने तथा किसानलाई सिधै उपभोक्ता वा बजारसँग जोड्न सहजीकरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यसक्रममा ९८ वटा समूह, सहकारी, व्यक्तिसँग सम्झौता गरेर उत्पादनमा प्रोत्साहन र लागत मूल्यअनुसार किन्ने सुनिश्चिता गरेका छौँ । छवटा स्थानीय तहसँग रैथाने उत्पादन गर्ने र त्यसको बजार खोज्नेगरी सम्झौता भएर काम अगाडि बढेको छ ।”

अभियानको मुख्य ध्येय साना किसानलाई रैथाने बाली, सीप तथा प्रविधिसँग जोडिरहने र त्यसलाई अर्थोपार्जनको बलियो आधार बनाउनु हो । “भूगोल, हावापानीलगायत कारणले हामीकहाँ प्रचुर कृषि विविधता छ, तर विविध कारणले परम्परागत कृषिकर्म छोड्दै गयौँ, सीप हराउँदै गयो । यसले समग्र कृषि प्रणाली नै बिग्रिएको छ । यसर्थ रैथाने कृषि, प्रविधि र सीप जोगाउँदै उद्यमशीलता विकास र उपभोक्तालाई उचित मूल्यमा स्वस्थ, विषादीरहित कृषिउपज उपलब्ध गराउनु हाम्रो ध्येय हो”, ढकाल भन्नुहुन्छ ।

यो कार्यक्रम हाल काठमाडौँको दरबारमार्ग, नागार्जुन नगरपालिकाको स्युचाटार, बूढानीलकण्ठको धापासी र टोखा नगरपालिकाको धापासीहाइटमा साप्ताहिक रूपमा सञ्चालन भइरहेको छ । आयोजकले रैथाने कृषिउपज तथा त्यसको प्रयोगका लागि उपभोक्तालाई सचेत गराउन अभियानलाई थप विस्तार गर्ने जनाएको छ ।

अभियानका सदस्य एवं ओरियन्ट क्याफेका सञ्चालक उद्धव ढकाल हाटबजार तरकारी किनबेचको ठाउँमात्र नभई सहरिया मानिसको सोच, सामाजिक र आर्थिक पक्ष बुझ्ने आधार पनि हो भन्नुहुन्छ । यसले सहरिया उपभोक्तालाई देशका विभिन्न भूभागमा उत्पादन हुने परम्परागत स्वस्थ, पौष्टिक, विषादीरहित गुणस्तरीय कृषिउपज उपलब्ध गराउने प्रभावकारी ‘प्लेटफर्म’को काम गरेको उहाँको भनाइ छ ।

“हाटबजार हाम्रो पहिचान पनि हो । यो आर्थिक कारोबारमात्र होइन, सांस्कृतिक र सामाजिक अन्तरघुलनको आधार पनि हो”, उहाँ भन्नुहुन्छ, “यसका माध्यमबाट साना किसानको उद्यमशीलता प्रवर्द्धन, रैथाने कृषिउपज प्रयोगको संस्कृति विकास र उपभोक्ताको स्वास्थ्यलाई उपयोगी वस्तु उपलब्ध गराउने अभियानमा हाम्रो क्याफेले सहकार्य गरेको हो ।”
टिकाराम सुनार/रासस