२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित वृन्दावन सामुदायिक (छाडा) चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभावले बायोग्यास प्लान्ट निर्माणको कार्य हुन सकेको छैन ।

व्यवस्थापन केन्द्रमा संरक्षण गरेर राखिएका ३०० गाईलगायत चौपायाबाट निस्कने मलमूत्रको प्रयोग गरी बायोग्यासको प्लान्ट निर्माण गर्ने योजना अघि सारिए पनि बजेट नहुँदा बन्न सकेको छैन । “बायोग्यास प्लान्टसँगै गँड्यौला राखेर प्राङ्गारिक मल उत्पादन गरी किसानलाई सहज मूल्यमा उपलब्ध गराउने योजना अघि सारेका थियौँ,” वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भन्नुभयो, “बजेट अभावले बन्न सकेको छैन, व्यवस्थापन केन्द्रमा रहेका चौपायाको मल एकातर्फ र मूत्र अर्कोतर्फ जम्मा हुनेगरी निर्माण हुने संरचना निर्माण गर्न सकेका छैनौँ ।”

उहाँका अनुसार व्यवस्थापन केन्द्र नजिकै किरियापुत्री घर निर्माण गर्ने योजना रहेको छ । “गाईको गोबर, गहुँत सहजै उपलब्ध हुने र नजिकै नदी भएकाले किरिया पुत्रीलाई सहजता हुन्छ, त्यही भएर किरियापुत्री घर निर्माण गर्ने योजना बनाएका छौँ, यसका लागि प्रदेश र सङ्घीय सरकारलाई गुहार्छौं”, उहाँले भन्नुभयो ।

नदीले व्यवस्थापन केन्द्रको जग्गा बर्सेनि भू–क्षय गरी बगाउँदै आएकाले भरपर्दो तटबन्धको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो । नगरपालिकाबाट प्रत्येक वर्ष विनियोजन हुने रु ३० लाख बजेट व्यवस्थापन केन्द्रमा राखिएका चौपायाको दानापानी, पराल, ब्रान, नुनसँगै गौसेवकको तलबमै बजेट सिद्धिने गरेको उहाँ बताउनुहुन्छ ।

केन्द्रमा आठजना गौसेवक कार्यरत रहेका छन् । व्यवस्थापन केन्द्रमा रु तीन करोड ५० लाखका सङ्घीय र प्रदेश सरकारको सहयोगमा भौतिक संरचना निर्माण गरिएका छन् । चारवटा पक्की गाईलगायतका चौपाया बाँध्ने गोठ, दुईवटा चारोलगायत सामग्री राख्नका लागि निर्माण गरिएका गोदाम घर, एक आवाससहितको कार्यालय भवन, समरसेल, स्यालो ट्युबेल जडान गरिएको छ । योसँगै पाँचवटा अटोजन नल्का, चारवटा सौर्यबत्ती, दुईवटा सिसी क्यामेरा र डेढ किलोमिटर क्षेत्रमा तारवार जडानको कार्य गरिएको छ ।

माछापोखरी निर्माण गरी माछापालनको कार्यसमेत गरिएको छ । चौपाया व्यवस्थापन केन्द्रलाई कृषि र पशुपालनको नमूना क्षेत्रका रूपमा विकसित गरी पर्यापर्यटनसँग जोड्नुपर्ने समाजसेवी हबलदार चौधरी बताउनुहुन्छ । “व्यवस्थापन केन्द्र नजिकै पुरैना ताल छ”, उहाँले भन्नुभयो, “व्यवस्थापन केन्द्र अवलोकन गर्न आउने आगन्तुकलाई घुमाउन सकिन्छ, यसका लागि डिपिआर निर्माण गरी योजनाबद्ध रूपमा कार्य अगाडि बढाउन आवश्यक छ ।” पालिका र प्रदेश सरकाले समन्वय गरी कार्य अगाडि बढाउनुपर्ने सुझाव उहाँको छ ।

सामुदायिक चौपाया व्यवस्थापन केन्द्र पाँच हेक्टर जग्गामा फैलिएको छ । गौशालामा रहेका चौपायालाई खुवाउनका लागि १० कट्ठा जग्गामा घाँसखेती गरिएको छ । रासस