
काठमाडौँ: गर्मी सिजन आइक्रिम खाने मन त सबैलाई हुन्छ नै । तर मन भएर मात्र पनि कहाँ पुग्छ र अनाथ आश्रमका बालबालिकालाई । तर, जसोतसो ती बालबालिकाको मन मार्न भने दिन्नन् सरु आमा ।
ललितपुरको नख्खुमा सञ्चालित तुलसालय आश्रमकी सञ्चालिका सरु सुवेदी (सरु आमा) भन्छिन्‐ सबै सधैँ पुर्याउन त सकेकी छैन, तर पनि सहयोगी मनहरु र भगवानको कृपाले आश्रमका छोराछोरीलाई कुनै पनि कुरामा मन मार्न दिएकी छैन । शनिबार दिउँसो ३ बजेतिर हामी अकस्मात पुग्दा आश्रमका बालबालिका आइक्रिम खाँदै रमाउँदै थिए ।
एकजना सहयोगीले शनिबार बिहानको खाना र त्यो आइक्रिम सहयोग गरेका रहेछन् । को हुनुहुन्छ त उहाँ सहयोग गर्ने ? सरु आमा भन्छिन्‐ उहाँले नाम सार्वजनिक नगर्नु भन्नुहुन्छ । तर समयम समयमा बालबालिकालाई खाना तथा अरु यस्तै खान मन लागेको कुरा खुवाउनु भनेर अनलाइनबाटै पैसा पठाइदिनुहुन्छ । आज उहाँले आइसक्रिम खुवाइदिने भन्नुभएको थियो र किनेर ल्याएको हौँ ।
हाल आश्रममा छ महिनाकी शिशुदेखि १६ बर्षसम्मका ४१ बालबालिका र १० जना बाआमा छन् । यस्तै सहयोगी मनहरुको सहयोगबाट सो आश्रम चलिरहेको सरुको भनाई छ ।