२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै



अ+ अ-

घोडाघोडी । यहाँको भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनर्स्थापनाको काम सुरु भएको छ । गत वर्ष सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबीच समन्वयमा अतिक्रमण हटाइएपछि ताल पुनर्स्थापनाको काम अगाडि बढेको हो ।

यहाँ ताल वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो पर्खाल ९ड्याम० निर्माण गरिएको थियो, तर स्थानीयले पुनः अतिक्रमण गरी खेतीपाती गरेका थिए । हाल तालको सुरक्षणका लागि ठूलो पर्खाल निर्माणको काम भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तालको वरिपरि दुई मिटर उचाइ र दुई मिटर चौडाइको गाडी गुड्ने गरी डिल निर्माणको कार्यसमेत सुरु गरिएको छ ।

मोहना नदीमा विसं २०६४ मा आएको बाढीले ५६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई बगरमा परिणत गर्न सुरु गरेको थियो । त्यसपछि २०६८, २०७२ र २०७५ सालमा आएको बाढीले ताललाई पुरेर बगरमा बनायो । त्यसपछि स्थानीयले त्यसमा खेती लगाउन सुरु गरेका हुन् । ताल बालुवाले पुरिँदै गएपछि स्थानीयले दिनप्रतिदिन जग्गा बढाउँदै गएकाले ताल पूरै खेतमा परिणत भएको कँडेलले बताउनुभयो ।

“यो ताल क्षेत्र वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका दृष्टिमा महत्वपूर्ण छ । पहिले यो तालक्षेत्र जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराको बासस्थानका रूपमा थियो”, उहाँले भन्नुभयो,“बाढीले अतिक्रमण गरेपछि त्यो हटाउनुको सट्टा स्थानीयले नै थप अतिक्रमण गर्दै गएको देखिन्छ । हाल सबैको सहयोगमा यसको संरक्षणका लागि अगाडि सरेका छौँ ।”

जानकारहरूका अनुसार यस तालको ऐतिहासिक तथा सांस्कृतिक महत्व छ । पुरैना भनेको थारू भाषामा कमलको फूल हो । स्थानीय थारू समुदायमा पूजाआजा गर्दा यही तालको कमलको फूल र पातको प्रयोग अनिवार्य मानिन्थ्यो । विगतमा पुरैना तालको पर्यापर्यटकीय महत्व पनि धेरै थियो ।

यो ताल क्षेत्र बसाइँ सर्ने घुमन्ते चराहरू बासस्थान पनि हो । साइबेरिया, रुसबाट आएका चरा यहाँ बच्चा कोरलेर फर्किने गर्थे । ताल विनाश भएपछि भने त्यो चक्र खल्बलिएको छ । यस्तै ताल विनाश भएका कारणको प्रभावले पनि होला हाल घोडाघोडी ताल क्षेत्रमा पनि आगन्तुक चराहरूको सङ्ख्या घटिरहेको छ । पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौरा पुरैनालगायत प्राकृतिक ताललाई आफ्नै स्वरुपमा फर्काएर समस्या समाधान गरिनुपर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,“५६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई प्राकृतिक र सांस्कृतिक रूपमा पनि महत्वपूर्ण छ । त्यसको विनाशले सामाजिक प्रभाव मात्रै होइन, प्राकृतिक रूपमा पनि जैविक विविधता खल्बलिएको छ । अब यसको संरक्षण गरेर पुरानै अवस्थामा फर्काउन सबैले सहयोग गर्नुपर्छ ।”