काठमाडौँ । भ्रष्टाचार मुद्दा दायर भएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको यो पहिलोपटक हो ।
अख्तियारको अनुसार माधव नेपालसहितले पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्न स्वीकृति गरेको थियो ।
२०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरेको थियो । जसमध्ये ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ ।










