काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालगायत संसदमा साझा धारणा बनाउने विषयमा छलफल गर्न अहिले विपक्षी दलको बैठक बसिरहेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा लगायत संसदमा साझा धारणा बनाउने विषयमा छलफल गर्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा संसदको पाँचौ ठूलो दल राप्रपालाई भने बोलाइएको छैन । बैठकमा माओवादीबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल, संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, नेकपा एसबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेसपाबाट महेन्द्रराय यादवलगायत सहभागी छन् ।
सोमबार संसद सञ्चालन गर्न विपक्षी प्रमुख प्रतिपक्षी नेता प्रचण्डसँग प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि छलफल गरेका थिए । तर, प्रचण्डले अडान नछोड्दा बैठक बिनानिष्कर्ष सकिएको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा माग गर्दै संसद बैठक अवरोध गर्दै आएका छन् ।










