लन्डन । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गयो । सबैभन्दा धेरै युएइमा रहेका नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको निधन भएको हो । समितिका अनुसार शनिबार साँझसम्म १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमान लगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हुदै गइरहेको तथ्यांकले देखाउँछ । समितिका अनुसार शनिवार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् ।
नेपालमा १५ हजार ४ सय ९४ जनामा कोरोना संक्रमण देखिए पनि हाल सम्म ६ हजार ४ सय १५ जना कोरोना मुक्त भएका छन् । यस्तै ३४ जनाले ज्यान गुमाएका छन् । एनआरएनएका अनुसार हाल सम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् । राजधानी दैनिक










