१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलिया–इङल्यान्ड एसेजः सिड्नी टेस्टमा रोमाञ्चक बराबरी



अ+ अ-

सिड्नीः अस्ट्रेलिया र इङ्ल्यान्डबीच सिड्नी रंगशालामा आयोजित चौथो टेस्ट खेल रोमाञ्चक रुपमा बराबरी (ड्र) भएको छ ।

खेलको पाँचौं दिनको खेल समाप्त हुँदा अस्ट्रेलियालाई जितका लागि १ विकेट आवश्यक थियो भने इङ्ल्यान्डका लागि ११० रन आवश्यक थियो ।

निकै दबाबमा परेको इङ्ल्यान्डका ब्याट्सम्यानले अस्ट्रेलियाली बलिङ आक्रमण झेल्न निकै संघर्ष गर्नु परेको थियो ।

इङ्ल्यान्डलाई जितका लागि अस्ट्रेलियाले ३८८ रनको चुनौती दिएको थियो । यस एसेज टेस्ट शृंखलामा लगातार तीन खेल हारेर शृंखला गुमाइसकेको इङ्ल्यान्डले चौथो टेस्टमा पनि खासै राम्रो प्रदर्शन गरेको थिएन ।

तथापी दोस्रो इनिङमा इङ्ल्यान्डका लागि ज्याक क्रलीले ७७, बेन स्टोक्सले ६०, जोनी बेयरस्टले ४१ रनको योगदान गरेका थिए । साथै पहिलो इनिङमा जोनी बेयरस्टले ११३ रनको आकर्षक पाली खेलेर टिमलाई सम्मानजनक अवस्थामा ल्याएका थिए ।

खेलको अन्त्यतिर आएका स्टुआर्ट ब्रोडले ३५ बलको सामना गरेर ८ रन बनाएर खेललाई बराबरीमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनका साथी जेम्स एन्डरसनले पनि ६ बल झेलेका थिए ।

र अन्त्यमा इङ्ल्यान्डले ९ विकेटको क्षतिमा २७० रन बनाएको थियो ।

अस्ट्रेलियाले पहिलो इनिङमा ४१६ तथा दोस्रो इनिङमा २६५ रन बनाएको थियो । इङ्ल्यान्डले भने पहिलो इनिङमा २९४ बनाएको थियो । एपी