२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा प्राङ्गारिक मल उद्योग सञ्चालन



अ+ अ-

लुम्बिनी। रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

भैरहवाका उद्योगी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको रु ३० करोडको लगानीमा ‘ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालि’ मार्फत गत वर्षदेखि मल उत्पादन सुरु भएको थियो ।

उद्योगले प्रतिदिन दुई सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको र हाल ‘रत्नम्’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको उद्योग सञ्चालक अग्रवालले जानकारी दिनुभयो । उद्योगको आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवर्द्धनमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

रासायनिक मलको प्रयोगबाट उत्पादन हुने खाद्यान्नका कारण नागरिक रोगी बन्ने, नयाँ नयाँ रोग देखिने गम्भीर समस्या रहेको बताउनुभयो । उहाँले प्रदेशमा मात्र हरेक वर्ष एक हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचारमा खर्च गर्नुपरेको उल्लेख गर्दै उहाँले रासायनिक मल र विषादीयुक्त खानेकुरा क्यान्सरको प्रमुख कारणका रूपमा प्रमाणित भइसकेकाले १५ वर्षभित्र लुम्बिनीलाई अग्र्यानिक प्रदेश बनाउने सङ्कल्प गरिएको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्राङ्गारिक मलबाट उत्पादन हुने खाद्यवस्तु तथा फलफूल विदेश निर्यात गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रदेशका केही पालिकालाई प्राङ्गारिक पालिकाका रूपमा घोषणा भइसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वसांसद घनश्याम यादव, प्रमोद यादव, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या यादवलगायतले मुलुकको ठूलो प्राङ्गारिक मल उद्योग लुम्बिनी प्रदेशमा सञ्चालनमा आउँदा किसानले मलको अभाव झेल्न नपर्ने धारणा राख्नुभयो ।

उद्योगका सञ्चालक सिद्धार्थ अग्रवालले कच्चा पदार्थ आयातमा कर छुटको व्यवस्था गरिनुपर्नेमा जोड दिँदै स्वदेशी प्राङ्गारिक मलको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो ।

उद्योगकी प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले कोरोना सङ्क्रमणका कारण आफ्नै बुबालाई गुमाउनुपरेको स्मरण गर्दै श्रीमान् पनि सङ्क्रमित भएर अस्पताल भर्ना भएको अवस्थामा मानव स्वास्थ्य र माटोको उर्वराशक्ति जोगाउन प्राङ्गारिक मल उद्योग सञ्चालन गर्ने निर्णय लिइएको उल्लेख गर्नुभयो । रासस