११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी

तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी
कुपण्डोल युएन पार्कनजिक वागमती नदि किनारमा भत्केको बार ।
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका वाग्मती र यसका सहायक नदी नालालाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले सरकारी निकाय खडा भएको ३२ वर्ष पूरा हुँदा नदी स्वच्छ हुन सकेको छैन ।

नदीनालालाई स्वच्छ बनाएर यसका किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्वका धरोहरको जगेर्ना गर्न विसं २०५१ चैत २८ गते तत्कालीन सरकारले पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरेको थियो । सरकारले यस्तो संरचना बनाएको तीन दशक बढी भएपनि वाग्मती किनारमा ढल मिसाउने कार्य भने रोकिएको छैन । ढलका कारण वाग्मती कालो देखिँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

समितिको अधिकार एवं कार्यक्षेत्र सीमित भएको भन्दै एक वर्ष पनि नपुग्दै विसं २०५२ मङ्सिर ६ गते अधिकार सम्पन्न वागमती ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिका रूपमा यसको क्षेत्र विस्तार गरिएको थियोे । गठन भएको १६ वर्षपछि २०६५ साल जेष्ठ २६ गते अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति भनी यसको नाममा परिवर्तन गरियो ।

समितिले वाग्मती नदीको किनारामा बहाव क्षेत्र कायम हुनेगरी पूर्वाधार निर्माणका कामजस्तै ढल, सडक, हरित क्षेत्र, तटबन्ध तथा चेक ड्याम निर्माण तथा ढल प्रशोधन केन्द्रको निर्माण तथा सञ्चालन गर्दै जाने उद्देश्य रहेको समितिका सूचना अधिकारी उद्धव नेपालले बताउनुभयो । सचेतनामूलक कार्यक्रमको माध्यमबाट आम सरोकारवालामा नदीको बढ्दो प्रदूषणप्रति चासो र चिन्ता जगाउनु पनि समितिको उद्देश्य रहेको उहाँले सुनाउनुभयो ।

हिन्दुको पवित्र तीर्थस्थल एवं सभ्यताको प्रतीकको रूपमा रहेको वाग्मती नदी पछिल्लो चार दशकयता मानवीय अतिक्रमणको कारणले प्रदुषणको चपेटामा परेको छ । मुलुकको अमूल्य निधिको अस्तित्व नै सङ्कटमा परेपछि सचेत नागरिक समाजको चर्को दबाबका साथै सरकारी क्षेत्रबाट उच्च प्राथमिकताका साथ नदी प्रदूषणमुक्त गर्ने कार्यको थालनी गर्नु नै वर्तमान समितिको अस्तित्वको आधारशिला हो भन्नुहुन्छ सूचना अधिकारी नेपाल ।

राजधानीको बढ्दो जनसङ्ख्या, अनियन्त्रित शहरीकरण, अव्यवस्थित ढल निकास र औद्योगिक एवं अन्य फोहरमैला निस्कासनको सम्पूर्ण विकृति व्यहोर्न बाध्य बनाइएको वाग्मती नदीको शुद्धीकरणको लागि समिति बनेको तीन दशक पूरा भए पनि अझै लक्ष्य भने नभेटिएको बताउनुहुन्छ काठमाडौँ महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसी । महानगरपालिकाले नदी स्वच्च बनाउन सहयोग गर्न खोजे पनि सम्बन्धित निकायले भने कम चासो दिने गरेको उहाँको भनाइ छ ।

समितिको नाम परिवर्तनसँगै कार्यक्षेत्र पनि वाग्मती नदीको उद्गमथलो शिवपुरी जलाधारदेखि चोभारसम्मको नदीलाई स्वच्छ र सफा राख्न काम गर्ने भनी थपिएको पनि दशकौँ भइसकेको छ । वाग्मती नदीमा कुनै प्रकारको दूषित (ठोस वा तरल) पदार्थ मिसाउन नपाउने र कुनै तरल पदार्थ मिसाउनै परेमा पानी प्रशोधन गरेर मात्र मिसाउन पाउने व्यवस्था गर्नको निमित्त नदी किनारामा ढल निर्माण गर्ने जिम्मेवारी पनि समितिलाई नै दिइएको छ । तर समितिको कार्यालय रहेको ५० मिटरकै दूरीमा रहेको गौरीघाटमा ढल मिसिँदा पनि समिति मूकदर्शक बनेको छ ।

काठमाडौँ उपत्यकाका नदीमा फोहर पानी प्रशोधन केन्द्रको निर्माण, सञ्चालन तथा संभार गर्ने, नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने, नदी किनारामा आवश्यकताअनुसार सडक निर्माण र वृक्षरोपण गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ तर विगत एक वर्षअघिदेखि नै समितिको नेतृत्व रिक्त रहेको पनि सूचना अधिकारी नेपालले सुनाउनुभयो ।

काठमाडौँ उपत्यकाका अन्य नदीको वहावक्षेत्र र हरितक्षेत्र अतिक्रमण भइरहेकाले त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी पनि नाममा विभिन्न मितिमा गरिएको परिवर्तनसँगै समितिलाई नै दिइएको छ । तर समितिले सुरू गरेका काम पनि सम्पन्न हुन नसकेको भनी संसद्मै आवाज उठ्न थालेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद रमा कोइराला पौडेलले भक्तपुरको हनुमन्ते नदी किनारमा ढल बिच्छ्याउन सुरू गरे पनि अलपत्र छोडेको भन्दै छिटो पूरा गर्न सरकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।

वाग्मती सफाइ महाअभियान १३औँ वर्षमा, ढल सिधै वाग्मतीमा

वाग्मती सफाइ महाअभियान सुरू भएको १३ औँ वर्ष प्रवेश गरेको छ । सफाइ महाअभियान हिँड्दैछ पाइला मेट्दैछ भनेजस्तै जति सफा गरे पनि नसकिने अवस्थामा पुगेको छ । काठमाडौँ महानगरपालिकाको बजेटमा चावहिल पीपलबोटबाट झारिएको ढल सिधै पशुपति क्षेत्रस्थित गौरीघाटमा ढल मिसाइएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरू भएको सफाइ महाअभियान सोमबारदेखि १३औँ वर्षमा प्रवेश गरेको हो । बाह्र वर्षसम्म सफाइ गर्दा पनि वाग्मती भने कालो देखिन्छ । अझ पशुपतिनाथ मन्दिरको माथि गौरीघाटमै ढल मिसिँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । यहाँबाट अधिकार सम्पन्न वाग्मती समितिको कार्यालय करिब ५० मिटरको मात्र दूरीमा रहेको छ ।

माता पार्वतीको तपस्थली गौरीघाटसँगैको वाग्मती नदीमा सिधै ढल मिसाइएको आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछानेले राससलाई जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–७ द्वारा चावहिल गौरीघाट हुँदै पिपलबोट सडक ढलानको क्रममा कम क्षमताको ढल बिछ्याउँछदा ढलको ओभरफ्लो साइड ड्रेनमा जोडेर सिधै वाग्मतीमा पठाइएको उहाँले सुनाउनुभयो ।

पशुपतिनाथ मन्दिरभन्दामाथिको वाग्मती नदीमा ढल मिसाएपछि सम्पदाप्रेमी, वाग्मती सफाइका अभियानकर्मी सरोकारबालाले यसको बिरोध गरेका छन् । ढलको साइज सानो र नियमित सरसफाइ नभएपछि गौरीघाट चोकबाट गुह्येश्वरीको फोहर पानी प्रशोधन केन्द्रतर्फ पठाइएको ढलको फोहर पानी सिधै गौरीघाटमा झर्न थालेको छ ।

यसअघि कामपा–७ का वडा अध्यक्ष विमलकुमार होडाले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा ७२ इन्चको ढल बिच्छ्याउन माग राखी निवेदन दिनुभएको थियो । यसलाई कार्यान्वयनको निम्ति ताकेता नगरी ढल मिसाइएको भन्दै सम्पदाप्रेमीले आपत्ति जनाएका छन् ।

वडा अध्यक्ष होडा भने ढलमा ओभर फ्लो भएर र आकाशेपानी बढी भएर वाग्मतीमा ढल मिसिएको स्वीकार गर्नुहुन्छ । यसका लागि जिम्मेवारी तोकिएको अधिकार सम्पन्न वाग्मती समितिले केही नगर्दा यस्तो अवस्था आएको उहाँको भनाइ छ ।

पशुपतिनाथ मन्दिरमा शुद्ध जल चढाउने व्यवस्थाका लागि विसं २०५१ मा अधिकार सम्पन्न वाग्मती समितिको स्थापना गरिएको थियो । समितिको स्थापना भएर काम सुरू भएको तीन दशक वर्ष पूरा भइसक्दा पनि वाग्मती भने अझै प्रदुषित बन्दै गएको देखिन्छ । समितिका सूचना अधिकारी नेपाल वडा अध्यक्ष होडाले ठूलो ढल राख्न निवेदन दिएको स्वीकार गर्दै त्यसका लागि नापजाँचको काम भइरहेको बताउनुहुन्छ । आवश्यक हो, होइन पहिचान गरेर मात्र ठूलो ढल राखिने उहाँको भनाइ छ । रासस