मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै थापाले सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार भइरहेको भन्दै सांसदहरुलाई कोष नभएर योजना सिफारिस गर्ने अधिकार रहेको बताउनुभएको हो ।

उहाँले समाजमा एकाथरी मानिसहरु यस कार्यलाई अलग गर्नुपर्ने भनेर वाहियात छलफल, बुद्धि विलासका साथै पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचन क्षेत्रको विकास प्रक्रियामा सांसदको भुमिकालाई प्रभावकारी, अटुट र अन्योन्याश्रित रुपमा जोड्नु अनिवार्य छ । समाजमा एकथरी मानिसहरु यस कार्यमा सांसदहरुलाई अलग गर्नुपर्ने वाहियात छलफल, बुद्धिविलास र पूर्वाग्राही एवं नकारात्मक भास्य निर्माणमा लागेका भेटिन्छन् । वास्तवमा एक सय ६५ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरु आआफ्नो क्षेत्र जिल्लाको विकासमा सक्रिय योजना दिने पार्टीको स्पष्ट घोषणापत्र र प्रतिवद्धतासहित मतदाताको विश्वास जितेर निर्वाचित भएको वस्तुगत यथार्थलाई बजेट विनियोजनका क्रममा हेक्का राख्नुपर्छ । सांसदहरुलाई कोष हैन योजना सिफारिश गर्ने अधिकार दिँदा त्यसविरुद्ध किन बकबास गरिन्छ । बजेट सुन्ने छलफल गर्ने र त्यसलाई पारित गर्ने हामी सांसदहरुको संवैधानिक र कानुनी अधिकार नै हो । जननिर्वाचित प्रतिनिधिको भूमिका कमजोर बनाउने कुरा कुनै बहानामा पनि सह्य हुनसक्दैन । यसबाट व्यवस्था विरोधी, अस्थिरतावादीहरु र अराजकतावादीहरु हौसिने तथा अनावश्यक रुपमा आम नागरिक र मतदाताहरु थप असन्तुष्ट बन्ने अवस्थाको अन्त्य हुनुपर्छ ।’

उहाँले निर्वाचन क्षेत्रका विकास प्रक्रियामा निर्वाचित सांसदको भुमिकालाई प्रभावकारी, अटुट र अन्योन्याश्रित जोड्नु अनिवार्य रहेको बताउनु भयो ।