१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

कालीञ्चोकमा हिउँ खेल्नेको भीड
अ अ+ अ-

कालीञ्चोक : दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे छ ।

केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ । सोही कारण कुरी बजारले पर्यटक धान्नै सकेको छैन । हिउँ खेल्न साथै अग्लो पहाडमा उभिएकी कालीञ्चोक भगवतीको दर्शन गर्न आउने पर्यटक बाक्लिएका छन् । कालीञ्चोक कुरी बजारमा रहेको डिकी होटेलका सञ्चालक राम तामाङ भन्नुहुन्छ, “हिमपात पूर्वभन्दा हिमपातपछि पर्यटकको चाप धेरै हुने गरेको छ । हिउँ पर्नुभन्दा अघि यतिको सङ्ख्यामा पर्यटक आउने गरेका थिएनन् । आएका पर्यटकलाई सजिलैसँग सेवा दिन सकिन्थ्यो । अहिले पर्यटकको चाप बढेसँगै धेरै खट्नुपरेको छ । शुक्रबार त झन् थामिसक्नु हुँदैन ।”

कालीञ्चोक भगवती मन्दिर परिसर साथै वरपरबाट आँखै अगाडि देखिने गौरीशङ्कर, दोर्जेलाक्पा, रोल्वालिङ, जुगल, लाङटाङलगायतका हिमशृङ्खलाको कारण पनि कालीञ्चोकको सुन्दरतामा सुनमा सुगन्ध थपिदिएको छ । हिमालै हिमालको बीच र हिउँनै हिउँको पहाडमा रहेकी कालीञ्चोक भगवतीको दर्शनमा भने युवाभन्दा बढी पाको उमेरका भक्तजन आउने गरेका छन् ।  

काठमाडौँबाट कालीञ्चोक आएकी रमिता रेग्मी भन्नुहुन्छ, “नजिकैबाट आजसम्म हिउँ देखेको थिइन् । हिमपात भयो भन्ने समाचार आउने बित्तिकै साथीहरु मिलेर घुम्न आएका हौँ । हिउँसँग खेलेर अघाएपछि कालीञ्चोक भवगतीको दर्शन गर्ने र फर्कर्ने योजना छ ।”
     
यस्तै रामेछापबाट कालीञ्चोक आएका पदम कार्की भन्नुहुन्छ, “हिउँनै हिउँको पहाड हेर्न र खेल्नकोे लागि कालीञ्चोक आएको बताउँछन् । उहाँ भन्नुहुन्छ आँखै अगाडि यतिधेरै हिउँमा रमाउन पाएको पहिलोपटक हो ।” कालीञ्चोकमा भगवतीको दर्शन गर्न आउनेको सङ्ख्याभन्दा हिउँ खेल्न र रमाइलो गर्न आउने धेरै हुने गरेका छन् । त्यसमध्ये पनि जोेडीसहित आउने युवायुवती बढी देखिन्छन् । कुरी बजार नपुग्दै हिउँ परेका पहाडमा सयौँको सङ्ख्यामा युवायुवती झुम्मिएको देख्न सकिन्छ । जेठ असारमा हरियालीको मनोरम दृश्य देखिने कालीञ्चोक हिउँदमा हिउँले ढपक्क ढाक्ने गरेको छ । अधिकांश युवा हिउँ खेल्नका लागि कालीञ्चोक आउने गरेको स्थानीय होटल व्यवसायी बताउँछन् ।

विगतको भन्दा अहिले कुरी बजारमा दर्जनौँ सुविधायुक्त होटल खुलेका छन् । जसले गर्दा कालीञ्चोक आउने पर्यटकको लागि विगतको जस्तो आवासको चिन्ता गर्नुपर्ने छैन । अनलाइनमार्फत कालीञ्चोकको होटल पनि बुकिङ गर्न सकिने स्थानीय होटल व्यवसायी बताउँछन् । हिउँ परेपछि आउने पर्यटकका गाडीले तीन किलोमिटरसम्म ट्राफिक जाम हुने गरेको छ । बिदामा परिवार र साथीभाइसहित कालीञ्चोकमा पर्यटक आउँछन् । मन्दिर पनि दर्शन गर्ने र रमाइलोसँग मनोरम दृश्यावलोकनसमेत गर्न पाइने हुँदा कालीञ्चोकमा पर्यटक क्रमशः वृद्धि भइरहेका छन् ।
    
विशेष गरी जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने यस क्षेत्रमा बडादसैँमा देवीको दर्शन गर्न निकै भीड हुन्छ । कुरीदेखि कालीञ्चोक मन्दिरसम्म केबुलकारमार्फत सजिलै पुग्न सकिने भएको हुँदा ज्येष्ठ नागरिक तथा बालबालिकालाई समेत सहज भएको छ । कालीञ्चोक भगवतीको दर्शनले मनोकांक्षा पूरा हुने, परिवारमा सुख–समृद्धि हुने, शत्रु पराजित हुने, निरोगी हुने, विश्वास रही आएको छ ।

कसरी पुग्ने कालीञ्चोक ?

काठमाडौँबाट करिब १३८ किलोमिटरको यात्रा पछि कालीञ्चोक कुरी बजार पुगिन्छ । सो यात्रा गर्न पाँचदेखि छ घण्टासम्म लाग्ने गर्छ । भक्तपुर, काभ्रेको बनेपा, पाँचखाल, दोलालघाट, सिन्धुपाल्चोकको सुकुटे, खाँडीचौर, मुडे र दोलखाको  खरिढुङ्गा, चोथाङ देउराली हुँदै कालीञ्चोक पुगिन्छ ।

चरिकोटबाट १७ किलोमिटरको यात्रा पछि कालीञ्चोकको कुरी बजार पुग्न सकिन्छ । हिउँ परेको समयमा देउरालीसम्म मात्रै गाडी पुग्दछ । त्यसपछि पैदल वा त्यहाँको स्थानीयले सञ्चालन गरेको टायरमा चेन लगाएको बोलेरो जिपको सहायताले कुरी बजार पुग्न सकिन्छ ।

कुरीबाट केबुलकारमार्फत भगवतीको मन्दिरमा पुग्न सकिने व्यवस्था पनि छ । यसको लागि नेपालीले प्रतिटिकट रु ५०० तिर्नुपर्ने हुन्छ । विद्यार्थी र ज्येष्ठ नागरिकको लागि भने २५ प्रतिशत छुट छ । कुरीबाट कालीञ्चोक मन्दिरसम्म हिँडेर जानको लागि एक घण्टाभन्दा बढी समय लाग्दछ ।