१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा देखियो सलह किरा



अ+ अ-

जुम्ला । जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो । जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक बसेको बैठकले यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बैठकमा सलहको विषयमा कृषि विज्ञसँगको राय, सल्लाह, सुझावसहित क्षति कम गर्ने तयारी भइरहेको छ ।”

कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक तथा कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले सलहको परिचयसहित यसले पुर्याउने क्षतिको विषयमा कृषिविज्ञले सरोकारवालालाई जानकारी दिइने बताउनुभयो । बैठकमा सलह किरा डोल्पा हुँदै जुम्ला पुगेको जानकारी दिइयो । उहाँले फिल्डमा समेत अनुगमन भइसकेकाले किसान आफैँले बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउने काम भइरहेको जानकारी दिनुभयो । जुम्ला पुगेको सलहले भने कुनै बालीमा बसेमा पूरै सखाप पार्ने गरेको छ ।

स्याउ सुपरजोन जुम्लाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जुम्लामा आएको सलह लाखौँको नभई हजारौँको सङ्ख्यामा छ । नेपालमा यसले खासै धेरै क्षति नपु¥याएको भएपनि तयारी हुनुपर्ने बताइएको छ । उहाँका अनुसार रातभरी केही गर्दैन बिहान घाम लाग्ने बित्तिकै बाली खोज्दै जाने यसको विशेषता छ ।

नेपालमा आइरहेको सलह समूह छुट्टै आइरहेको र कमजोर हुँदै गएको छ । कृषि अनुसन्धान कार्यालय जुम्लाका निर्देशक डा तीर्थ रिजालले जुम्लामा आठदेखि १० हजार सलह आइरहेको देखिएको बताउनुभयो । उहाँले यसको उत्तम उपाए मेकानिकल उपाय रहेको जानकारी गर्नुभयो । यसका साथै यो जता जान्छ त्यहाँ किसान र सरोकारवाला निकाय सचेत हुन जरुरी रहेको उहाँले जानकारी दिनुभयो । विज्ञले समेत बाजा बजाउने, आगोको धुवाँ बाल्ने र भगाउनु नै यसको उपाय भएको जानकारी दिएका छन् ।

जिल्ला कृषि विकास कार्यालयमा सलहको सूचना आदानप्रदान गर्न सूचना केन्द्र स्थापना गरिने भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो । सलहको क्षतिबाट बच्न सञ्चारमाध्यममा सूचना प्रकाशन तथा प्रसारण गरिने, विषयगत कार्यालयले योजना बनाउने बताइएको छ ।  विशेषज्ञको सल्लाहअनुसारनै स्थानीय सुहाउँदो विधि पद्धतिअनुसार रोकथाम जनचेतनाका काम गर्नुपर्ने निर्णय गरिएको छ ।

प्रजिअ थापाले सलहबाट बाली जोगाउन एकातिर नागरिक र अर्कोतिर सरोकार निकाय समयमै सचेत हुन अनुरोध गर्नुभयो । यसका साथै स्थानीय तहलाई बढी जिम्मेवारी बनाउन आवश्यक रहेको छ । अहिले जुम्लामा आएको सलहले धान, आलु, मकै, सिमी, स्याउमा क्षति पु¥याउन शुरु गरेको छ । यहाँको पातारासी, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाको पूर्वी भेगतिर बालीमा क्षति पुर्याएको छ ।  

यहाँको पातारासी गाउँपालिकामा सलहले मकै, गहुँ र आलु बारीमा क्षति पु¥याउन थालेपछि गाउँपालिकाले सलह मारेर ल्याउनेलाई प्रतिकिलो रु २०० उपलब्ध गराउने निर्णय गरेको छ । बालीमा सलह किराबाट जोगाउन कृषक अहिले आँफै लागी परेका छन् । जुम्ला अर्गानिक जिल्ला घोषित भएकोले रासायनिक विषादी प्रयोग गर्ने गरिएको छैन । सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउन सक्ने विज्ञ बताउन्छन् । भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह जुम्लामा पनि पसेको छ ।