२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

जहाँ डाँडा डाँडामा पर्यटनको सम्भावना छ…

जहाँ डाँडा डाँडामा पर्यटनको सम्भावना छ…
अ अ+ अ-

आइएमई हस्पिटालिटिले आजदेखि सञ्चालनमा आएको यस होटल सँगै पाँचवटा होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइसकेको छ । केही महिना अघिमात्र माननीय मन्त्रीज्यूले नै बागलुङमा इला होटलको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

यसका साथै हामीले काठमाडौँको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट तथा लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट सञ्चालन गरिरहेका छौँ ।

हामीलाई विश्वास छ मुलुकको विकास र सम्मृद्धिको प्रमुख आधार पर्यटन नै हो । त्यसैअनुसारका पर्यटन पूर्वाधारहरु निर्माण गर्ने क्रममा हामीले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण आयोजनाको सुरुवात गरेका हौँ ।

हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् । आजको यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ । त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् ।

त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम भइरहेको छ ।

मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाई अहिले निकै कम छ र यो प्रतिदिन झन घट्दोक्रममा देखिन्छ । विदेशी पर्यटकहरु औषत १२ दिन नेपाल बस्ने र दैनिक औषत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क हामीसँग छ ।

हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ । नेपालको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक विशेषतायुक्त भूगोल र अवस्थितिको अवलोकनका लागि नेपालमा पर्यटक आउने गर्छन ।

त्यसैले त्यस्ता पर्यटकीय पूर्वाधारको विकास गर्नुपर्छ भन्ने मेरो सुझाव हो । यी कार्यहरुमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुन्छ भन्नेमा हाम्रो पूर्ण विश्वास छ ।

हामीसँग अलौकिक प्राकृतिक सम्पदाहरु छन्, जुन हामीले प्राप्त गरेका बरदान हुन । यसकारण पनि पर्यटन, प्रकृति र पर्यावरणका क्षेत्रमा हामीले गर्नसक्ने सम्भावनाहरु असंख्य छन भन्दा फरक पर्दैन । त्यसमा हामीले हाम्रो भिजन सहितको इच्छाशक्ति मिसाउनुपर्छ अनि प्रविधि र पुँजी जोड्न सक्नुपर्छ । यसबाट साँच्चिकै मिराकल हुन्छ भन्ने मेरो आत्मविश्वास छ ।

यो मुलुकको निजी क्षेत्र नै विकास र परिवर्तनमा मिराकल ल्याउन सक्षम छ भन्ने कुराको पुष्टि त हामीले पटकपटक गर्दै आएकै छौं । उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो ।

निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरुले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर यसका लागि हामीकहाँ भने लगानीकर्ताहरुलाई आह्वान गर्ने मात्र काम गरिएको छ भन्ने मलाई लाग्दछ । अब मौखिक रुपमा गरिने यस प्रकारका आह्वानहरुले मात्र पुग्दैन, निजी क्षेत्रलाई वास्तविक साझेदार ठानेर ठोस र व्यवहारिक नीति मार्फत अर्थपूर्ण रुपमा सहजीकरण गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।

सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी यस्ता संरचनाहरु बनाउन जरुरी छ । म पुन: दोहोर्‍याउन चाहन्छु कि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ ।

पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्य अनुसार पर्यटक भित्र्याउन सकिन्छ ।

पर्यटकको बसाई लम्बाउन सकिन्छ, थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ ।

पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ ।

यसले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ । गरिबी घटाउने छ । मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि आउने छ ।
आखिर हामी सबैका अपेक्षा पनि यिनै होइनन र ?

सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने ? सरकारले बिना लगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाइने भएकाले नै मैले समय समयमा सरकारलाई बिना लगानीको पार्टनर भन्ने गरेको हुँ । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले संघीय तथा स्थानीय सरकारहरुलाई मेरो यो आग्रह तथा सुझाव छ ।

चितवन, तनहूँ र नवलपुरको यो संगम नेपालको एक धार्मिक तथा सांस्कृतिक महत्वको पवित्र भूमी हो । यतिखेर हाम्रा सामुन्ने रहेको मौलाकालिका मन्दिरको करिब साढे चार सय वर्ष पुरानो इतिहास छ । हाम्रो दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्मावलम्बीहरुको पवित्र धाम हो ।

यतिखेरै हाम्रै वरिपरिका नारायणी, देवघाट, त्रिवेणीजस्ता देवभूमि र तपोभूमिको महत्वको बयान गर्न म असमर्थ छु, मेरो क्षमताले पुग्दैन ।

तर पनि हाम्रा यी सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्‍याउनका लागि केबलकार र यो नयाँ पर्यटकीय संरचनाले सघाउ पुराउने छ भन्ने अपेक्षा भने गर्न सक्छु ।

किनभने ऐतिहासिक एवं आध्यात्मिक महत्व बोकेका यी सम्पदाहरुलाई जति धेरै मानिसको पहुँच पुग्नेगरी संरचना निर्माण गरिदियौँ, त्यति नै यिनको मान र महत्व पनि धेरै भन्दा धेरै फैलिन पुग्दछ ।

मलाई लाग्छ, आध्यात्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व रहेको यस्तो पुण्यभूमिमा जति धेरै पर्यटकीय संरचनाहरु निर्माण गरे पनि पुग्दैन ।

यसकारण पनि हामीले यो क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगम स्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न गरेका हौँ र आजको यो संरचना सम्भव भएको हो ।

प्राकृतिक सौन्दर्यले आफैँ सजिएको यस सुन्दर भूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत देशको समृद्धि हासिल गर्ने काममा हामी लाग्ने छौं, यो हाम्रो प्रतिबद्धता हो ।

मलाई लाग्छ यस्ता संरचनाहरु राष्ट्र र जनताका साझा सम्पत्ति हुन । नवलपुरको गहनाका रुपमा निर्मित यो संरचनालाई हामीले स्थानीय जनताको आफ्नै सम्पत्तिका रुपमा विकास गर्ने मोडल अघि सारेका छौँ र उहाँहरुको अधिकतम् सहभागीता गराइरहेका पनि छौँ ।

केबलकार परियोजनाको प्रारम्भिक प्रयासका रुपमा रहेको चन्द्रागिरि छोटो समयमै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनिसकेको कुरा त्यहाँ पुग्ने पर्यटकबाट हामीले सुन्ने गरेका छौँ । यसबाट देशको अर्थतन्त्र र स्थानीयको जीवनस्तर उकास्न पुगेको योगदानका बारेमा पनि मैले यहाँ भनिरहनु पर्दैन, सबै अवगत नै छ ।

आज उद्घाटन भएको यस आयोजना निर्माणमा हामीलाई सहयोग गर्नुहुने संघ, प्रदेश तथा स्थानीय सरकार, राजनैतिक दल, स्थानीयवासी, मन्दिर व्यवस्थापन समिति, वन उपभोक्ता समिति लगायत अन्य सबै सरोकारवालाहरु प्रति धन्यवाद व्यक्त गर्दछु ।

म आफू पनि गण्डकी प्रदेशको बासिन्दाको हैसियतले यस पवित्र जन्मभूमिमा यस प्रकारको सेवा गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।

जाँदाजाँदै जहाँ ढुंगा ढुंगामा देवताको बास छ भन्ने एउटा नेपाली गीत मेरो मनभित्र गुञ्जिएको छ । मलाई लाग्छ, देवताको बास रहेका ती हरेक ढुंगासम्म हरेक मानिसको सहज पहुँच पुर्‍याउनका लागि हरेक ठाउँमा कुनै न कुनै प्रकारको पर्यटन पूर्वाधारको आवश्यकता छ ।

त्यसैले यो गीतजस्तै मलाई पनि हर समय जहाँ डाँडा डाँडामा पर्यटनको सम्भावना छ भनेर गुनगुनाउन मन लाग्दछ ।

नवलपुरको मौलाकालीमा निर्मित इला होटलको समुद्घाटन कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गर्नुभएको मन्तब्य