२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा विवाद : कुरा नमिलेपछि बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै डिनर बैठक



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले आज शुक्रबार झन् उग्र रुप लिएको पाइएको छ । आज दिउँसो बालुवाटारमा तीन नेता प्रचण्ड, केपी ओली र माधव नेपालबीच डेढ घन्टा छलफल भएको थियो । तर सो छलफलमा झन् यसअघिका बसाईहरुमा भन्दा विवाद चर्किएको बालुवाटार स्रोतले जनाएको छ ।

समाचार स्रोतका अनुसार यसअघि प्रचण्ड र ओली बैठकमा बस्दै आएकोमा आज माधव नेपाललाई पनि लगिएको थियो । नेता नेपालले शुरुमै प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन सुझाएका थिए । तर प्रधानमन्त्रीले भने नेपालसँग मैले राजीनामा दिनुपर्ने कारण के के हुन् भनेर प्रश्न गरेका थिए । 

माधव नेपालले तपाईंले राजीनामा नदिने हो भने पार्टीमा पनि विग्रह आउन सक्ने र देशमा सरकारले नेकपाकै बदनाम गर्नेगरी काम गरेकोले भोलिको चुनावहरुमा नेकपाले ठूलो हार व्यहोर्ने भन्दै कारण दिएका थिए । नेपालको सो तर्कपछि ओलीले त्यो भए अहिले नेकपालाई स्पष्ट बहुमत दिने गरी कस्ले निर्वाचनको नेतृत्व गरेको थियो भनेर प्रतिपश्न गरेका थिए । 

अरु कुरा गर्न तर राजीनामा माग्ने कुरा नगर्न प्रधानमन्त्री ओलीले भनेपछि आज पनि कुरा सहमतितर्फ अघि बढ्न नसकेको बताइएको छ । आजको वार्ताले झन् पार्टीमा सहमति भन्दा पनि परिस्थिति थप जटिल बन्दै गएको समाचार स्रोतको दाबी छ । बिहीबार बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा पनि नेताहरुले पुरानै अडान राखेर सहमति नहुँदा विवाद जटिलतातर्फ धकेलिएपछि अब के गर्ने भन्ने विषयमा झन् अन्यौल बढेको बताइएको छ । 

यसैबीच बिहीबारको बालुवाटार बैठक सकारात्मक नभएपछि बालुवाटार र प्रचण्ड निवास खुमलटारमा नेताहरु आफु निकटका नेताहरुसँग आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका छन् । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु र ओली पक्षका नेताहरु बालुवाटारमा छलफलमा जुटेका हुन् । समाचार स्रोतकाअनुसार खुमलटारमा आज साँझको बैठकले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने र ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्ने निष्कर्ष निकालेको थियो ।

त्यस विषयमा खुमलटारमा सचिवालयका नेताहरु समेतगरी छलफल भएको थियो । त्यसैगरी खुमलटारमा बरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शक्य, भीम रावल, जनार्दन शर्मा, रामबहादुर थापा,बादल लगायतका नेताहरुबीच छलफल भएको हो । खुमलटारमा आज रात्रिभोजसहितको बैठक भएको समाचारमा जनाइएको छ ।  

यता बालुवाटारमा पनि प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ लगायत नेताहरु सहभागी भएर अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेको बताइएको छ । बालुवाटार बैठकमा महासचिव विष्णु पौडेलले कुनै पनि हालतमा पार्टीमा सहमति गरेर अघि बढ्नुपर्ने भनेपछि प्रधानमन्त्री झर्किएको समाचार स्रोतले बतायो । स्रोत भन्छन्– पौडेलले जसरी हुन्छ पार्टीमा सहमति गरेर अघि बढ्नुपर्छ भन्नुभयो तर प्रधानमन्त्रीले झर्किएर भन्नुभयो ‘तिमी सधैँ जसरी पनि मिल्ने भन्छौ ल भन नत कसरी मिल्ने ? मैले राजीनामा दिन्न ल कसरी मिलाउने हो मिलाउ ।’  

यसअघि एक्लाएक्लै वार्ता गरेका ओली प्रचण्डले बिहीबार वरिष्ठ नेता नेपाललाई पनि वार्तामा सहभागी गराएका थिए । प्रचण्डले आफूलाई ओलीले नटरेको भन्दै नेपाललाई पनि लगेका थिए । त। आजको त्रिपक्षीय वार्तामा समेत नेताहरुले आआफ्नै अडान दोहोराएका थिए । यद्यपि यसअघि नै तय भएको शुक्रबारको स्थायी कमिटी बैठक भने नरोक्ने सहमति भएको छ ।

तर खुमलटारका कतिपय नेताहरुले भने यो निकासै ननिकाल्ने स्थायी समिति बैठक भन्दा केन्द्रीय समिति बैठक बोलाएर ओलीलाई सरकारबाट फिर्ता गर्ने निर्णय गर्नुपर्ने सुझाव दिएका थिए । 
बिहीबार पनि प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए भने ओलीले आफु राजीनामा नगर्ने बरु स्थायी समिति बैठक फेस गर्ने बताएका थिए । 

प्रचण्डसहितका नेताहरु ओलीलाई प्रधानमन्त्री या अध्यक्षमध्ये एकबाट राजीनामा गराउने अडानमा छन् । यसमा खासगरी नेपाल समूहले एउटा पद छाड्नै पर्ने अडान लिएको छ । उता दाहाल समूहले पार्टी एकताका क्रममा सरकार र पार्टी सञ्चालनका लागि भएको आलोपालोको सहमति कार्यान्वयन हुनै पर्ने अडान राख्दै आएको छ । तर यो विवाद सुरु भएको पहिलो दिनजस्तै ओली भने आफ्नो अडानबाट टसको मस भएका छैनन् ।