
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्याङ मात्रै हो ? भन्दै प्रश्न गर्नुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री ओलीसँग स्पष्टिकरण माग गर्दै सांसद सुवालले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले मुलुकको सार्वजनिक ऋण २७ खर्ब, बेरुजु ६ खर्ब र १५ खर्ब व्यापार घाटा रहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले जनताको निराशा हटाउने र तिब्र आर्थिक वृद्धि यही हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले पतञ्जली, गिरिबन्धु चिया बगान, बाल मन्दिरको जग्गा हिनामिना गर्ने प्रधानमन्त्रीहरुलाई कारबाही नगरिएको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘सार्वजनिक ऋण २७ खर्ब, बेरुजु ६ खर्ब, व्यापार घाटा १५ खर्ब, राजश्व तलव नपुग्ने अवस्था नै जनताको निराशा हटाउने र तिब्र आर्थिक वृद्धि हो र ? समृद्ध नेपाल र सुखि नेपालीको लक्ष्य तीन दशकपछि बुढ्यौली समाज बनाउने, २५ प्रतिशत नागरिक अहिले पनि कुपोषणको कारण पुड्कोपन हुने यही हो र ? पतञ्जली, गिरिबन्धु चिया बगान, बाल मन्दिरको जग्गा हिनामिना गर्ने प्रधानमन्त्रीहरुलाई के कारबाही हुँदैछ?’
सांसद सुवालले सहकारी संस्थाको चार खर्ब वचत गठी गर्नेलाई कहिले कारबाही हुन्छ ?भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभयो ।