१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीले पृथ्वीनारायण र कालु पाण्डेको शालिकमा माल्यार्पण गर्ने



अ+ अ-

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अघिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने हुनु भएको छ ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारीले भोलि मंगलबार बिहान करिब ११ बजे सिंहदरबार अघिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु हुनेछ । राष्ट्रपति भण्डारीले यसअघि दुई वर्ष अघि पनि पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरी राष्ट्र निर्माताप्रति सम्मान व्यक्त गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीले भोलि नै दहचोकस्थित कालु पाण्डेको शालिकमा पनि माल्यार्पण एवं सम्मान गर्ने कार्यक्रम छ । कालु पाण्डे पृथ्वीनारायण शाहका सेना प्रमुख हुनुहुन्थ्यो । नेपाल एकीकरणमा पाण्डेको अतुलनीय योगदान रहेको छ ।

नेपाल सरकारले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक विदा दिने वा नदिने भन्नेमा अन्यौल भइरहेको अवस्थामा राष्ट्रपतिबाट पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्नुलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

यस वर्ष ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पनि हो ।

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न नेपाली सेना सहित विभिन्न सामाजिक संघसंस्थाले भोलि बाजागाजा सहित सांस्कृतिक झाँकी प्रस्तुत गर्ने तयारी गरेका छन् । कतिपय दलले यस दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाउने गरेका छन् ।

यसै अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाह समेत पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न भोलि करिब १२.३० बजे सिंहदरबार अघि आउनु हुनेछ । उहाँ पहिलो पटक सिंहदरबार अघि पृथ्वीको शालिकमा माल्यार्पणका लागि आउन लाग्नु भएको हो ।

रविन्द्र मिश्रको अध्यक्षतामा रहेको विवेकशिल साझा पार्टीले पनि तीन बुँदे माग यसअघि नै राखेर राष्ट्रनिर्माताप्रति उच्च सम्मान गर्न आग्रह गरेको थियो । ती मागहरुमा राष्ट्रिय एकता दिवसलाई नेपाल दिवसका रुपमा मनाउनुपर्ने, राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिनुपर्ने तथा नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्ने रहेका छन् ।

अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पृथ्वीजयन्तीका दिन सार्वजनिक विदा दिन प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र यसअघि नै बुझाइसकेको छ ।

देशका विभिन्न स्थानीय निकायहरुले पनि स्थानीय तहमा सार्वजनिक विदा दिएर पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरिरहेका छन् ।

तर नेपाल सरकारले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसलाई औपचारिक रुपमा मनाउने वा नमनाउने भन्नेमा स्पष्ट हुन सकेको छैन । सत्ता साझेदार दलहरु र प्रमुख प्रतिपक्षी दलका कैयौं नेता तथा कार्यकर्ताले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन कुरा उठाइरहे पनि नेतृत्व तहले यसलाई स्वीकार गरिसकेको छैन ।