
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो आग्रह गर्नुभएको हो । प्राधिकरणका निवर्तमान र वर्तमान प्रवन्ध निर्देशकहरुले जानकारी गराएको खर्च र आम्दानीको विवरणले आम जनतामा अन्यौलता सिर्जना गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रवन्ध निर्देशक र वर्तमान प्रवन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनु भएका प्राधिकरणको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्यौल सिर्जना गरेको छ ।’
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ६१ करोड रुपैयाँ नाफामा रहेको दाबी गर्नुभएको थियो । प्राधिकरणलाई नाफामा देखाउँदै घिसिङले सर्वसाधारणमा आईपीओ जारी गर्ने उद्घोष समेत गर्नुभएको थियो । तर प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दैै प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गर्नुभयो ।
उहाँकाअनुसार प्राधिकरण अहिलेपनि ५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ ।