३० बैशाख २०८२, मंगलवार
,
Latest
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँः वनमन्त्री शाही बीसबुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट सम्पन्न स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर ‘कांग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील छ’ अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई ‘के घर के डेरा : घर नं २’मा धेरै पात्र भए पनि कथाको उठान र… नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरित अर्थतन्त्रमा नेपाल रोल मोडल देश बन्नसक्छ



अ+ अ-

जलवायुजन्य विपद्का घटना बढ्दै जाँदा विश्वभर नै विकासको मोडललाई जलवायुमैत्री बनाउनुपर्ने विषयमा हुने बहस तिब्र हुन थालेका छन् । हरित अर्थतन्त्र सम्बन्धी कुनै विशेष बाध्यकारी अन्तर्राष्ट्रिय सन्धी नभए पनि यससँग सम्बन्धित धेरै स्वेच्छिक अन्तर्राष्ट्रिय सम्झौता र घोषणाहरू छन् । जसले देशहरूलाई दिगो विकास र वातावरण संरक्षणतर्फ प्रेरित गर्छन् ।

यस्ता दस्तावेजहरु हरित अर्थतन्त्रको अवधारणा औपचारिक रूपमा पहिलो पटक सन् २०१२ को रियो+२० सम्मेलनमा प्रश्तुत गरिएको थियो । यस सम्मेलनबाट जारी गरिएको “द फ्युचर वी वान्ट” नामक दस्तावेजले हरित अर्थतन्त्रलाई गरिबी न्युनिकरण, सामाजिक समावेशिता र दिगो विकासमा टेवा पुर्‍याउने उपायका रूपमा अघि सारेको हो । सन् १९९२ को पहिलो पृथ्वी सम्मेलन र त्यसबाट स्थापित एजेण्डा २१ ले पनि हरित अर्थतन्त्रको बारेमा बोलेको पाइन्छ । तर यो अवधारणा सन् २००८ पछि थप चर्चामा आएको हो । त्यसपछि, विभिन्न देशहरूले आफ्ना नीति तथा योजनामा हरित अर्थतन्त्रका सिद्धान्त समावेश गर्न थालेका छन् । यद्यपि यसबारे कुनै बाध्यकारी सन्धी हालसम्म स्थापित छैन ।

नेपाल सरकारले आगामी जेठमा ‘जलवायु परिवर्तन : हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित गर्न लागेको सगरमाथा संवादको एउटा मुख्य विषय हो– हरित अर्थतन्त्र (ग्रिन इकोनोमी) । वातावरण संरक्षण, सामाजिक समावेशिता र दिगो आर्थिक विकासबीचको सन्तुलित आर्थिक प्रणाली नै हरित अर्थतन्त्र हो । संवादको नाराले जलवायु परिवर्तन र हिमाललाई जोड्न खोजेपनि थुप्रै अन्तरसम्बन्धीत विषयहरु छन् । जलवायु परिवर्तनको असरले परेको हानी तथा नोक्शानी, जलवायु न्यायसहित जलवायु कार्यका लागि अन्तर्राष्ट्रिय सहकार्य लगायत विषयलाई संवादमा प्राथमिकता दिने तयारी गरिएको छ । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्रीसँग नेपालका लागि हरित अर्थतन्त्रको आवश्यकता र चुनौतिका सम्बन्धमा विस्तृत कुराकानी गरेको छ । प्रश्तुत छ: कुराकानीको आधारमा तयार गरिएको सामग्री ।

हरित अर्थतन्त्रमा नेपाल रोेलमोडल बन्नसक्छ

जलवायु क्षेत्रमा काम गर्दै आएका विज्ञहरुले विकास प्रणालीलाई ग्रीन इकोनोमीमा लैजानसक्ने हो भने नेपाल विश्वमै उदारहणीय मुलुक बन्नसक्ने तर्क गर्दै आएका छन् । सरकारी तथ्यांकले अहिले पनि नेपालको ६० प्रतिशत जनसंख्या कृषिमा आधारित देखाउँछ । कृषिलाई वातावरण एवं जलवायुमैत्री बनाउनुपर्ने र त्यसका लागि हरित अर्थतन्त्रको मोडल सहयोगी बन्नसक्ने तर्क पनि गरिन्छ । जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री नेपालले विकासको विद्यमान मोडलमा केही नीतिगत परिवर्तन गर्नसक्ने हो भने कम्तिमा डेढ दशकभित्र हरित अर्थतन्त्रको उत्कृष्ट मोडलको रुपमा विश्वभर पहिचान बनाउनसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘पछिल्लो समय हरित अर्थतन्त्र भन्ने बित्तिकै हच्किने अवस्था छ । यसले हामीलाई विकास हुनबाट रोक्ने पो हो कि भन्ने संशय देखिन्छ । तर हरित अर्थतन्त्रलाई अत्यन्त सकारात्मक हिसावले सोचिएको छ । यो हाम्रो दीर्घकालीन विकाससँग जोडिने सवाल हो । यसो भनिरहँदा यसका दुई/तीनवटा आधारलाई हामीले हेर्नुपर्ने हुन्छ । हरित अर्थतन्त्र भन्ने वित्तिकै सामाजिक र आर्थिक विकासलाई हेरिन्छ । किनभने यो हाम्रो अर्थतन्त्रसँग जोडिन्छ । हामीले आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्‍याइराख्दाखेरि वातावरण र जलवायु परिवर्तनलाई नबिगार्ने गरी विकास गर्नुपर्छ भन्ने यसको मुल मन्त्र हो । तर पछिल्लो समय हामीले गर्ने विकास हाम्रै लागि विनाश बनेर आएको देखिन्छ । हामी पूर्वाधार विकासमा हामी धेरै लगानी गर्छौं तर त्यो एकचोटि आएको बाढीले विनाश गरेको अवस्था छ । अहिले हरित अर्थतन्त्रको अवधारणा बिना विकास हुन सक्दैन भन्ने संसारले बुझेको छ । हामीले विकास गर्दा जलवायु परिवर्तनलाई केन्द्रमा राखि हरितगृह ग्याँस उत्सर्जन नहुने गरी विकास गर्नुपर्‍यो । विकासले स्थायित्व, दीर्घकालीन र समावेशी अवधारणा अंगिकार गरेको हुनुपर्‍यो ।

हरित अर्थतन्त्रले सरकारले मात्र नभई निजी क्षेत्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई समेत सँगसँगै लिएर विकास गर्नुपर्छ भन्ने कुरा चाहीँ यसले जोडेको हुनाले यो अत्यन्तै महत्वपूर्ण छ । जलवायुमैत्री विकास प्रणाली अलिकति महंगो हुन जान्छ । अहिलेको विकास खनिज इन्धनको उर्जाबाट भइरहेको छ । त्यसकारण त्यसबाट हरित उर्जामा जानको लागि केही समय लाग्छ । अझै पनि हामीले पौराणिक विकास प्रणालीमा आनन्द लिइरहेका छौँ । यसलाई परिवर्तन गर्न गाह्रो चाहीँ हुन्छ । अहिले नेपालले वार्षिक साढे ३ खर्बको खनिज इन्धन भारतबाट किनिरहेको छ । करिब १ खर्ब ४० अर्बको डिजेल र ७० अर्ब जतिको पेट्रोल किन्छौं । लगभग ६५ अर्बको ग्याँस किन्छौं । हामीले यसलाई देशभित्रै उत्पादित स्वच्छ उर्जाबाट बिस्तारै विस्थापित गर्दै जाने हो भने वार्षिक अर्बौं रुपैयाँ बचाउन सक्छौं । त्यो पैसाले हरित पूर्वाधारको अवधारणामा आधारित विकास गर्नसक्छौं । त्यसकारण त्यो त हाम्रो हितमै छ नि भन्ने एउटा पाटो रह्यो । अर्को उदाहरण, यदि हामीले डिजेल, पेट्रोलबाट चल्ने गाडीहरु विस्थापित गर्दै जाँदा र सार्वजनिक यातायातलाई प्राथमिकिकरण गर्दा हाम्रै काठमाडौं पनि सफा हुन्छ । यसका फाइदाहरु धेरै छन् त्यसैले यसलाई गाह्रो छ भनेर होइन फाइदा छ भनेर बुझ्नुपर्ने हुन्छ । यसलाई बुझाउन सरकारले पनि भरपुर प्रयास गर्नुपर्छ । शुरुका वर्षमा सरकारले यसका मूल्य चुकाउनुपरेमा पनि सरकारले त्यो व्योहर्नुपर्छ र यसको जानकारी अझै बढाउनु पर्छ । निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न शुरुका वर्षहरुमा राज्यले आवश्यक सहयोग गर्नुपर्छ । विकासमा अघि बढ्न यसले मुख्य भुमिका खेल्छ । हामीले यसलाई भित्रैदेखि आत्मसाथ गर्यौ भने प्राकृतिक स्रोत साधनमा धनी र भौगोलिक विविधतायुक्त नेपाल हरित अर्थतन्त्रमा रोलमोडल देश बन्नसक्छ ।’

जलवायु वित्तको वहस केन्द्रिकृत भयो

सरकार र गैरसरकारी संस्थाका दस्तावेजहरुमा जलवायुकार्य माथिको बुझाई र गतिविधिलाई ‘स्थानीयकरण’ गर्नुपर्ने विषयलाई प्राथमिकता दिएपनि यि कार्य केन्द्रमा मात्रै सिमिति हुँदै आएका छन् । जलवायु न्यायसंग जोडिएको जलवायु वित्तको रकम तल्लो तहमा पुग्न सकेको छैन भने यस सम्बन्ध ज्ञानको पनि कमि देखिन्छ । सरकार र संघसंस्थाका कामहरु केन्द्रमा सिमित हुँदा खास जलवायु अनुकुलन कार्यमा भुमिका निर्वाह गर्ने स्थानीय तह बेखबर जस्तै छ । जलवायु जबसम्म जलवायु वित्त र अनुकुलनमाथिको वहस र बजेट स्थानीय तहमा पुग्दैन तबसम्म जलवायु अनुकुलन कार्यमा अनुभुति हुनेगरी काम हुन नसक्ने तर्क जलवायु वित्त विज्ञ क्षेत्रीको छ । त्यसैले जलवायु कार्यको लागि जलवायु वित्तको अवस्था सँगै सही सदुपयोग भएको विश्वास दिलाउँदै खर्च गर्ने क्षमता बिस्तार गर्नुपर्नेमा उहाँले जोडदिनु भयो ।

उहाँले भन्नुभयो ‘हामीले गरेको प्रयास र अनुमानको तुलनामा नेपालमा आइरहेको जलवायु वित्तको रकम अत्यन्तै न्युन छ । जलवायु वित्त जलवायु न्यायसँग जोडिन्छ । अन्तर्राष्ट्रिय समुदायले हामीलाई दिने अुनदानसँगै न्युन ब्याजदरमा ऋण दिएको छ । पछिल्लो समय केही निजी बैंकहरुले जलवायु वित्त ल्याएका छन् र त्यसलाई फोहोरमैलाबाट उर्जा निकाल्ने काममा लगानी गर्न थालेका छन् । नेपालमा जलवायु वित्त द्विपक्षीय, बहुपक्षीय र पेरिस सम्झौता अन्तर्गतका संयन्त्रहरुबाट आएको छ । तर ती संयन्त्रहरुबाट अधिकतम फाइदा लिन नेपालले अझै पहल गर्नुपर्छ । प्राप्त रकमको सही सदुपयोग गर्न बाँकी छ । जुन परियोजनाको लागि रकम ल्याएका छौं,त्यसलाई समयभित्र सम्पन्न गर्न सकेका छैनौ । समयभित्र लगानी गर्न नसक्नु भनेको प्रभावित समुदायमा सहयोग नपुग्नु हो । त्यसकारण अन्तर्राष्ट्रिय क्षेत्रको वित्तमा पहुँच बढाउनुको सँगै देशभित्र ल्याइसकेको रकमको सही सदुपयोग गर्न आवश्यक छ ।

अहिले जलवायु वित्तको वहस केन्द्रिकृत छ । प्रदेशहरुले यो विषय बुझ्न जरुरी छ । बजेट बनाउँदा सबै तहका सरकारले जलवायु वित्तलाई पनि आधार बनाएका छन् । जलवित्तको अवस्था नबुझिकन खर्चको प्रक्रिया बुझिँदैन । सरकारी संयन्त्रबाट हुने प्रक्रिया अत्यन्त ढिलो र झन्भटिलो छ । विकास खर्च नहुनु भनेको जलवायु वित्त पनि खर्च नहुनु हो । के कारणले खर्च भएन भनेर आफ्नै प्रणालीलाई हेर्न जरुरी छ । सबै खालका खर्चहरु सरकारले मात्रै नगरि साझेदार संघ संस्थामार्फत तल्लो तहसम्म लैजान जरुरी छ । त्यसको लागि सरकारले त्यस्ता सामाजिक संघसस्थाहरुलाई विश्वासमा लिई समन्वय गर्नुपर्छ । प्रभावकारी समन्वय अभावमा प्रदेश, स्थानीय तह र केन्द्र सरकारको बुझाई फरक हुँदा प्रक्रिया अघि बढ्न सक्दैन । ’

सगरमाथा संवाद जलवायु कुटनीतिमा नेपालको पहिलो खुड्किलो हो

नेपालले सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको असरप्रति चासो देखाएको छ । साथै यसका लागि सहकार्य आवश्यक छ भन्ने संदेश पनि दिन खोजिएको छ । छिमेकी लगायत विभिन्न देशका सरकारका प्रतिनिधि र विज्ञहरुलाई बोलाएर जलवायुको विषयमा मन्थन गर्ने फोरमको आयोजना गर्नुले नेपाल हिमालको मुद्दामा गम्भीर छ भन्ने संदेश विश्वलाई दिएको छ । तर यसलाई एउटा कार्यक्रममा सिमिति नगरि दिर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने सुझाव विज्ञ क्षेत्रीको छ । उहाँले यस्ता कार्यक्रम र न्यायको खबरदारीमा नेपाल तथ्यांकसहित निरन्तर लागि रहनुपर्ने बताउनु भयो । उहाँले सही स्थानमा सही मुद्दा उठानमा सरकार र सरकारका निकायले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘सगरमाथा संवाद अन्तर्राष्ट्रिय रुपमा नेपालले जलवायु कुटनीतिमा लिन खोजेको पहिलो खुड्किलोको रुपमा देखिएको छ । यो कुटनीतिक पाइला हो । नेपालले यो संवादलाई निरन्तरता दिनसक्यो भने नेपालले आफ्नो मुद्दालाई गम्भीरताका साथ उठान गर्न खोजियो भन्ने सन्देश समेत बाहिर जान्छ । विदेशी मुलुकहरुजस्तै नेपालले सगरमाथा संवादलाई फोरम बनाएर विभिन्न विषयहरु उठान गर्दै जाने र अरुलाई पनि सँगै लिएर हिँड्ने हो भने यसले हाम्रो कुटनीतिलाई फाईदा पुर्‍याउँछ । वैदेशिक निजी लगानीलाई प्रोत्साहनको साथै अन्तर्राष्ट्रिय विकासका साझेदारहरु पनि सहकार्यका लागि आउन सक्छन् । सगरमाथा संवादलाई एउटा कार्यक्रममा मात्र सिमित गरिदियौ भने हामी धेरै टाढा जाँदैनौं । यसले नेपाल हिमालको मुद्दामा गम्भिर हुँदैछ भन्ने सन्देश दिन्छ । तर एकदुई वटा कार्यक्रम गर्दैमा हिमालका मुद्दाहरु अन्तराष्ट्रियस्तरमा स्थापित भइहाल्छ भन्ने हुँदैन । यस मुद्दामा निरन्तरता छ कि छैन ? राज्य गम्भिर छ कि छैन ? र यस कार्यक्रमले हिमालका मुद्दाहरुलाई सही ठाउँमा उठान गर्छ कि गर्दैन भन्ने कुराले ठूलो भुमिका खेल्छ ।

सगरमाथा संवादबाट आउने निष्कर्षलाई हामीले अन्तराष्ट्रिय फोरमहरुमा प्रवेश गराउनका लागि राम्ररी गृहकार्य गर्न जरुरी छ । जलवायु विश्व सम्मेलन (कोप), फाइनान्सिङ फोरम अथवा विश्व बैंकका मिटिङहरुमा तथ्यांकको आधारमा जलवायु परिवर्तनले हिमालमा पारेको असरको विषय उठान गर्न जरुरी छ । त्यसैगरी राजदुतहरुमार्फत ती देशमा हुने जलवायु सम्बन्धी सम्मेलनहरुमा सगरमाथा संवादको निष्कर्ष राख्नु जरुरी छ । किनभने हरित अर्थतन्त्रमा लगानीका कुराहरु आउँछन् । नेपाल आफैंले आयोजना गर्ने लगानी सम्मेलनहरुमा पनि अहिलेसम्मको लगानीको प्रतिफल पेस गर्न जरुरी छ । हामीले अन्तर्राष्ट्रिय इभेन्टहरुमा उठाएका विषयलाई स्वदेशी सम्मेलनहरुमा राम्रोसँग उठाउन सकेनौं भने त्यसको गाम्भिरयर्ता कम हुनसक्छ । हामीले भन्ने र गर्ने कुराको सन्तुलन मिलेन भने विषयवस्तुको उठान सहि तरिकाले नहुनसक्छ ।’

जलवायु न्यायका लागि नेपाल जलवायुमैत्री हरित अर्थतन्त्रमा जानैपर्छ

पेरिस सम्झौता र आईपिसीसीबाट बाहिर निस्कने अमेरिकाको निर्णयले जलवायु न्यायमा प्रश्न उठेको छ । बेलायतदेखि युरोपसम्मले सहयोग कटौति गर्दा जलवायु न्यायको मेरुदण्ड जलवायु वित्तमा नकारात्मक प्रभाव पर्ने स्पष्ट छ । यसले कम कार्बन उत्र्सजन गरी हरित अर्थतन्त्रको लयमा जान चाहनो नेपालजस्ता देशलाई कठिन हुने देखिन्छ । जलवायु विज्ञहरु आन्तरिक स्रोत व्यवस्थापन, नीति परिर्वतन र विकासको शैलीलाई परिमार्जन गर्दै नेपालले आफ्नो विकासलाई जलवायुमैत्री र हरित अर्थतन्त्रमा रुपमान्तरण गर्नुपर्ने सुझाव दिने गरेका छन् । विज्ञ क्षेत्रीले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु वित्त अथवा अरु लगानीको नाममा पाउने रकममा पहुँच बढाएर त्यसलाई सहि तरिकाले लगानी गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो ‘जलवायु न्याय भनेको जलवायु परिवर्तनको असरबाट पीडित समुदाय अथवा देशहरुहरुलाई बचाउने हो । उनीहरुले थप क्षति भोग्न नपरोस् भनेर हरित विकास अथवा जलवायुमैत्री विकासलाई टेवा पुर्‍याउने भन्ने हो । विडम्वना भन्नुपर्छ पेरिस सम्झौता र आईपिसीसीबाट बाहिर निस्कने अमेरिकाको निर्णयले जलवायु न्यायमै प्रश्न उठेको छ । बेलायतदेखि युरोपसम्मले अनुदान सहयोग कटौती गर्दा जलवायु न्यायको मेरुदण्ड जलवायुवित्तमा अलिकति तुषारापात भएको छ । त्यसकारण कम कार्बन उत्र्सजन गरि हरित अर्थतन्त्रको लयमा जान खोजिरहेका नेपालजस्ता देशहरुलाई गाह्रो हुने देखिन्छ । तर त्यति हुँदाहुँदै पनि हामीले विकासलाई जलवायुमैत्री र हरित अर्थतन्त्रमा ढाल्दै लैजानुपर्छ । यो हाम्रो आफ्नै हितमा छ । हामीले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु वित्त अथवा अरु लगानीको नाममा पाउने रकममा पहुँच बढाएर त्यसलाई सही तरिकाले लगानी गर्नुपर्छ । त्यसो गर्न सकेको अवस्थामा पीडित समुदायले पनि राहत पाउने र सँगसँगै कृषि र पूर्वाधारमा गर्ने लगानीमा समेत त्यसले टेवा पुर्‍याउँछ । हामीले कृषिमा लगानी बढाउन पर्छ । खेतहरु सबै बाँझो बस्ने र हामीले आयातित खानामा मात्रै लाग्यौ भने त्यसले गर्दैन । त्यसैले अन्तर्राष्ट्रिय स्रोत सँगै आन्तरिक विकासलाई पनि जलवायु न्यायसंँग जोड्नुपर्छ ।’

बिना तथ्यांक भाषणमा सिमित

जलवायुजन्य घटना र क्षतिको तथ्यांक विना नै वक्तव्यमा मात्रै केन्द्रित हुँदा सगरमाथा संवादले खासै प्रभावकारी नतिजा नदिने तर्क हुँदै आएको छ । तर विज्ञहरु भने यो संवादलाई सिकाईको रुपमा लिएर आगामी दिनमा जलवायु जन्य घटनालाई विज्ञानमा आधारित भएर तथ्यांक संकलन गर्नुपर्ने सुझाव दिन्छन् । तथ्यांक संकलन पछि मात्रै कार्यक्रम गरौ भन्ने कुरा पनि सान्दर्भिक नहुने भएकाले बिस्तारै अध्ययन अनुसन्धानलाई पनि बढाउने र मुद्दामा चासो पनि देखाउँदै जानुपर्ने तर्क गर्छन् ।

जलवायुवित्त विज्ञ क्षेत्री भन्नुहुन्छ ‘जलवायु परिवर्तनको असर सम्बन्धी तथ्यांकहरुमा सुधार हुँदै आएको छ । विगत ५ वर्ष अथवा विगत १० वर्षको तुलना गर्दा तथ्यांक संकलनमा धेरै सुधार आएको छ । तर हामीले विज्ञानमा आधारित भएर जति गर्नसक्थ्यौं अथवा गर्नुपथ्र्यो त्यो हुन नसकेको र धेरै सुधार ल्याउनुपर्छ भन्नेमा दुई मत भएन । कस्तो खालको विज्ञानमा आधारित रहेर हामीले काम गर्ने ? जलवायु परिवर्तनले पारेको असरको प्रमाणहरुलाई कसरी संकलन गरेर दस्तावेजिकरण गर्ने भन्ने कुरामा हामीले क्षमता विकास गर्दे लैजानुपर्छ ।

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी र फोरमहरुमा प्रमाणहरुले ठूलो भुमिका खेल्छ । हामी गरिब छौं, जलवायु परिवर्तनको असरमा पर्‍यौं, हामी केही नसक्ने भयौं, भनेकै आधारमा सहयोग आउँछ भन्ने लाग्दैन । अहिले पनि हामी परम्परागत रुपमा नै जलवायु परिवर्तनको तथ्यांक संकलन गरिरहेका छौ । घर, पुलपुलेसा, व्यक्तिको मृत्यु जस्ता तथ्यांक संकलनमा मात्रै हामी सिमित छौ । जलवायु न्यायका लागि हामीले गैर आर्थिक हानी नोक्शानीको पनि हिसाव राख्नुपर्छ । कति मान्छे विस्थापित भए ? त्यहाँको सामाजिक सद्भावमा कस्तो खालको खललहरु हुन आयो ? सांस्कृतिक रुपमा त्यहाँका मान्छेहरुले कस्तो खालको विभेदहरु भोग्नुपर्‍यो ? महिला तथा बालबालिमा कस्ता खालका असरहरु परे ? यी सबै कुराहरुलाई हेर्न जरुरी छ । यस्ता समग्र विषयमा पुगेको क्षतिका विषयमा अहिले बहस हुन थालेको छ तर अहिलेसम्म तथ्यांक नै संकलन भएको छैन ।’

राजु पण्डित क्षेत्री जलवायु वित्त विज्ञ हुनुहुन्छ