१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

आजबाट लकडाउन हट्योः के-के खुल्दै, के-के खुल्न बाँकी ?

आजबाट लकडाउन हट्योः के-के खुल्दै, के-के खुल्न बाँकी ?
अ अ+ अ-

काठमाडौँ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउन झन्डै चार महिनापछि मंगलबार राति अन्त्य गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णयअनुसार मंगलबार लकडाउन अन्त्यको जानकारी दिएका हुन् । ‘हामीले अब लकडाउन छ भन्नुपरेन । लकडाउनले मनोवैज्ञानिक त्रास दिएको छ,’ उनले भने ।

मन्त्री खतिवडाले स्वास्थ्य सुरक्षा र संक्रमणको जोखिम भने कायमै रहेको बताए । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन, सामाजिक दूरी कायम राख्न, मास्क र सेनिटाइजर प्रयोग गर्न सबैमा आग्रह गरेका छन् । सरकारले लकडाउन लागू गर्दा मुलुकमा दुई जना मात्र कोभिड–१९ संक्रमित थिए । मंगलबार बेलुकीसम्म संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । यसबीचमा संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । १२ हजार ४ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा कोरोना संक्रमण बढी देखिएर घट्दै गए पनि भारतमा संक्रमित भेटिने क्रम बढिरहेको छ । खुला सीमा भएकाले नेपाल जोखिममै रहने देखिएको छ । त्यसैले सरकारले नेपाल प्रवेश गर्ने सबै बिन्दुमा यात्रुको आवागमनलाई साउन ३२ गतेसम्मै रोक लगाउने निर्णय गरेको छ । तर मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार असहज परिस्थितिमा पनि स्वदेश आउनैपर्ने अवस्थाका नेपाली नागरिकलाई भित्र्याउन सहजीकरण गर्ने र मालसामानको ढुवानी व्यवस्था यथावत् रहने छ ।

यातायातमा जोरबिजोर प्रणाली र सरकारी कार्यालयमा दुई सिफ्ट सेवा बुधबारबाट नहुने भएको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । चैत ७ गतेदेखि आन्तरिक र चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द छ । जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेर साउन १५ देखि होटल र रेस्टुरेन्ट सञ्चालन गर्न पाइने छ । सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला गर्न भने पाइने छैन । साउन १५ गतेबाट ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय सञ्चालन गर्न पाइने छ ।

भदौ १ गतेदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी तोकिएका आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान गर्न पाइने छ । अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल पनि भदौ १ गतेबाट सञ्चालन गर्न पाइने भएको छ । त्यही दिनबाट विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ । कोभिड–१९ को जोखिम अझै बाँकी रहेकाले सरकारले विभिन्न सेवा र कार्यमा भने अर्को सूचना नभएसम्म सञ्चालन गर्न नपाउने निर्णय गरेको छ । शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, मनोरन्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल र पुस्तकालय, संग्रहालय र चिडियाखाना अर्को सूचना नभएसम्म सञ्चालन गर्न नपाइने भएको हो ।

सरकारले सबै प्रकारका सेवा तथा कार्य सञ्चालन गर्दा दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटक–पटक साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नेलगायत जनस्वास्थ्यका सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गरी सेवा र कार्य सञ्चालन गर्न पनि सुझाव दिएको छ । मन्त्रिपरिषद्ले व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय गर्दै अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने निर्णय गरेको छ । त्यस्ता सामग्री जफत गरी रोगको रोकथाम र उपचारमा उपयोग गर्ने सरकारले जनाएको छ ।

‘सेवा तथा कार्य सञ्चालन गर्दा सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आ–आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयका सम्बन्धमा आवश्यक प्रोटोकल जारी गरी लागू गर्नुपर्नेछ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘परिस्थितिको समीक्षा एवं संक्रमणको जोखिम विश्लेषणका आधारमा उल्लेखित व्यवस्थामा आवश्यक हेरफेर एवं थपघट गर्न सकिनेछ ।’ कान्तिपुर दैनिक