
ओसामा बिन लादेन । अमेरिकी सरकारको सर्वाधिक खोजीको सूचीमा रहेका अल–कायदा आतंकवादी संगठनका संस्थापक बिन लादेन अमेरिकी कारबाहीमा आजकै दिन अर्थात् सन् २०११ मे २ तारिखका दिन पाकिस्तानमा मारिएका थिए ।
खासगरी अमेरिकामा २००१ सेप्टेम्बर ११ मा ट्वीन टावरमा आतंकवादी हमलाको योजनाकार ( मास्टरमाइन्ड) का रुपमा लादेनको भूमिका रहेको मानिन्छ । अमेरिकी भूमिबाटै अपहरण गरिएका दुई वटा विमान अमेरिकाको प्रतिष्ठासँग जोडिएका न्यूयोर्कका दुई वटा टावर (ट्वीन टावर) मा ठोक्काइएको थियो । दुबै भवन ध्वस्त भएको त्यस भयानक हमलाबाट भवनभित्र रहेका चार हजार भन्दा बढी मानिस मारिएको अनुमान गरिएको छ । अर्को एक विमान भने ह्वाइट हाउस तर्फ लैजादै गर्दा दुर्घटनाग्रस्त भएको थियो ।
अमेरिकाले त्यस घटनालगत्तै बिन लादेनको खोजी थालेको थियो । उनी त्यसबखत अफगानिस्तानमा लुकेर बसेको आशंकामा तत्कालीन तालिबान सरकारसँग लादेनलाई अमेरिका समक्ष सुम्पन भनेको थियो, तर तालिबान सरकार तयार भएन ।
अमेरिकी सरकारको अनुरोध अस्वीकार गरेलगत्तै अमेरिकाले अफगानिस्तानमा भिषण आक्रमण गरेको थियो । यो आक्रमण झेल्न नसकेको अफगानिस्तानको तालिबान सरकार पतन भयो, र हमिद कारजाईको नेतृत्वमा त्यहाँ नयाँ सरकार गठन भयो ।
अफगानिस्तानका विभिन्न आतंकवादी ठेगानामा अमेरिकी सेनाले व्यापक खोजतलास र कारबाई गरे पनि बिन लादेन फेला परेनन् । त्यसबखत उनी भागेर पाकिस्तान प्रवेश गरेको भन्ने अडकलबाजी गरिए पनि पुष्टी हुने आधार फेला परेका थिएनन् ।
अन्तत: उनी पाकिस्तानको अबोटावादमा लुकेर झण्डै नौ वर्ष रहेबसेको सूचना अमेरिकी अधिकारीहरुले प्राप्त गरिछाडे । अमेरिकी सेनाले अपरेसन नेप्च्युन स्पियर नामको गोप्य योजना बनाएर अफगानिस्तानको जलालाबादबाट नेभी सिल (विशेष कमान्डो सैनिक) को टिम हेलिकप्टर मार्फत २०११ मे २ को मध्यराति बिन लादेन रहेको अबोटाबादको घरमै पुगेको थियो । नेभी सिलको कारबाहीमा बिन लादेन, उनका एक छोरा र एक महिला मारिएका थिए । भनिन्छ, अमेरिकी सेनाले उनको मृत शरीर सुरुमा जलालाबाद लग्यो, र पछि अरेबियन सागर आसपास बिसर्जन गरिदियो ।
बिन लादेन मारिएको घटनालाई लिएर अमेरिकी जनता, राष्ट्रसंघ र पश्चिमा जगतले स्वागत गरे पनि पाकिस्तान भित्र चाहिँ बिरोध भएको थियो । खासगरी पाकिस्तानी भूमिभित्र बिना पूर्व सूचना, जानकारी र अनुमति बेगर नै अमेरिकी फौज पाकिस्तानको अबोटाबाद कसरी आइपुग्यो भन्ने प्रश्न उठेको थियो । अबोटाबादमा भएको अमेरिकी सैनिक कारबाहीको घटनालाई पाकिस्तानको सार्वभौमसत्ता माथिको अतिक्रमण ठानिएको थियो । यद्यपी, यस कारबाईमा पाकिस्तानी सेनाले कुनै प्रतिक्रिया नजनाएका कारण यो घटना त्यतिकै सेलाएर गएको थियो ।