१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सिमसार सङ्कुचनले घटे जलपन्छी

सिमसार सङ्कुचनले घटे जलपन्छी
अ अ+ अ-

काठमाडौँ । मुलुकका विभिन्न सिमसार क्षेत्रमा यतिखेर चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्या अद्यावधिक गर्न जलपन्छीको गणना जारी छ ।  

सन् १९८७ देखि हरेक वर्ष जनवरी १ देखि दुई हप्तासम्म गरिने जलपन्छी गणनामा स्वयंसेवी, पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय र संरक्षण सङ्घसंस्थाको सहभागिता हुने गर्छ । सिमसारको संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरनेशनल’ले विश्वव्यापीरूपमा यसको नेतृत्व गर्छ भने नेपालमा ‘हिमाली प्रकृति’ले समन्वय गर्छ ।

चरा संरक्षणकर्मीका अनुसार विगतको तुलनामा चराको प्रजातिमा कमी नदेखिए पनि सङ्ख्यामा भने कमी आएको छ । ताल, तलाउ, पोखरी, नदीनाला, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदान जस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने आश्रित चरालाई जलपन्छी वा पानी चरा भनिन्छ ।

राप्ती नदी र चितवन आसपास क्षेत्रमा जलपन्छी गणनामा संलग्न ‘बर्ड एजुकेशन सोसाइटी’का अध्यक्ष रमेश चौधरीले यसपालि सो क्षेत्रमा केही नयाँ प्रजाति चरा देखिए पनि सङ्ख्या भने घट्दो अवस्थामा रहेको बताउनुभयो । 

सो क्षेत्रमा गत वर्ष ५५ प्रजातिका नौ हजार ५६५ फेला परेका थिए । उहाँका अनुसार बासस्थानमा बढ्दो मानवीय गतिविधि, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणले पनि जलपन्छी विस्थापित हुँदै गएका छन् । उहाँले यकिन तथ्याङ्क भने सबै गणना सम्पन्न भएपछि मात्रै भन्न सकिने बताउनुभयो ।

संरक्षित क्षेत्र र आसपासका मध्यवर्ती क्षेत्रमा गरिने गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि मातहातका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रमार्फत गणनामा सहयोग गर्दै आएको छ । दुई हप्तासम्म चल्ने यस गणनामा ३०० भन्दाबढी अवलोकनकर्ता सहभागी छन् ।

नेपालमा अभिलेख भएका ८८९ प्रजातिका चरामा २०० हाराहारी जलपन्छी छन् । तिनमा पनि झण्डै १०० प्रजाति हिउँदे आगन्तुक चरा हुन् । रुस, काजकिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मङ्गोलियालगायत तिब्बती क्षेत्रबाट नेपाल आउने पाहुना चरा यहाँका सिमसारमा अनकूल मौसम, सुरक्षित वासस्थान र चरन क्षेत्रमा हिउँद बिताउँछन् ।

यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चराले प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पोखराका ताल, बीसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा समय बिताउँछन् । यी चरा नेपाल आउनेक्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी हुन्छ । चैतसम्ममा प्रायः चरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कन्छन् ।

मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित भएको गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिनुभयो । स्वयंसेवीरूपमा गरिने यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ । गत वर्षको गणनामा नेपालमा ६० हजार हाराहारीमा पानी चरा भेटिएको तथ्याङ्क छ ।

कैलाली र कञ्चनपुर क्षेत्रमा गणनामा संलग्न संरक्षणकर्मी हिरुलाल डङ्गौराले ताल सुक्दै जानु, बासस्थानको विनाश, तालमा माछापालन गर्दा त्यहाँ आउने चरालाई माछा खान्छ भनेर धपाउने तथा बासस्थानमा बढ्दो मानवीय गतिविधिका कारण चराको सङ्ख्यामा कमी देखिएको बताउनुभयो । 

यस्तै चरा संरक्षण नेटवर्कका अध्यक्ष डिआर चौधरीले घोडाघाडी क्षेत्रमा बकुल्ला प्रजातिका चराको सङ्ख्या केही धेरै देखिए पनि जम्मा सङ्ख्या भने गत वर्षको हाराहारीमा नै देखिएको बताउनुभयो । गत वर्ष घोडाडोडी क्षेत्रमा ३२ प्रजातिका दुई हजार ५८ सङ्ख्यामा देखिएका थिए ।
यस गणनामा चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीको सहयोगले चरा पहिचान गरी गणना गरिन्छ । नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियालगायतका चरा बढी देखिन्छन् । गणनामा जलपन्छीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र बासस्थानमा देखिएका समस्याजस्ता जानकारी अभिलेख गरिँदै आएको छ ।

‘कोशी पन्छी समाज’का पूर्वअध्यक्ष अनिश तिम्सिना पनि कोशी क्षेत्रमा यसपाली चराको सङ्ख्यामा कमी देखिएको बताउनुभयो । सिमसार क्षेत्रको सङ्कुचन, जलकुम्भी र मिचाहा प्रजातिको वृद्धि, अनियन्त्रित माछा मार्नेलगायतका मानवीय गतिविधिका कारण चराको सङ्ख्यामा कमी आएको हुनसक्ने उहाँको भनाइ छ ।  

अर्का संरक्षणकर्मी कृष्णप्रसाद भुसालले दशकअघि कोशी नदी आसपासमा मात्रै पचासौँ हजार पानीचरा भेटिने गरेकामा हाल देशभरको गणनामा मुस्किलले ५० हजार भेटिने गरेको बताउनुभयो । उहाँले सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावट, ढल तथा मेलापर्वका सामान विसर्जन, बाह्य तथा मिचाहा प्रजातिको सङ्क्रमणले सिमसारको गुणस्तर र आयु छोट्याइदिएको बताउनुभयो । 

पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवद्र्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोज जस्ता पर्यावरण प्रतिकूलतासमेत थपिएका छन् ।

गणनाका राष्ट्रिय संयोजक बरालले भने जलपन्छीको बासस्थानमा थुप्रै चुनौती थपिएको भएपनि जलपन्छीको प्रजाति र सङ्ख्या बारेमा देशभरिको सबै विवरण आएपछि मात्र यकिन तथ्याङ्क भन्न सकिने बताउनुभयो । संरक्षण क्षेत्र बाहिरका सिमसार र वरपरको क्षेत्र तीव्र मानवीय दोहनका कारण जोखिममा परेका छन् । तसर्थ जलपन्छी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने जरुरी रहेको पन्छी संरक्षणकर्मीको भनाइ छ । –भीष्मराज ओझा