१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की



अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्लाको कोशीपूर्व क्षेत्रको एक सडकखण्ड १५ वर्षपछि पक्की बनाइएको छ । विसं २०६६ मा बाटो खोलिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–बाफल करिब चार किलोमिटर सडक स्तरोन्नति गरी पक्की बनाइएको हो ।

ठेकेदार कम्पनीले सम्झौता अवधिभन्दा आठ महिनाअघि कालोपत्र सम्पन्न गरेको छ । गत साल मङ्सिर ३ गते जिल्लास्थित पूर्वाधार विकास कार्यालय धुलिखेल र निर्माण व्यवसायी पिएसके÷एभरेष्ट जेभीबीच ठेक्का सम्झौता गरेको थियो । आगामी मङ्सिर २ गतेसम्म ठेक्काको समयसीमा रहे पनि निर्माण कम्पनीले यही वैशाख पहिलो साता कालोपत्र सम्पन्न गरेको हो ।

उक्त सडकखण्ड बागमती प्रदेश सरकारको रु नौ करोड ३२ लाख ६५ हजार ५०० मा ठेक्का सम्झौता भएको थियो । कम्पनीका व्यवस्थापक प्रदीप गौतमका अनुसार पहिलो चरणमा तीन हजार ८०० मिटर ‘आसफाल्ट’ सम्पन्न भएको छ । अब यही ठेक्काअन्तर्गत थप ४०० मिटर ढलान भइरहेको गौतमले बताउनुभयो ।

यसैबीच सोही क्षेत्रअन्तर्गत अरनिको राजमार्गसँग जोडिएर दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे सडकअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती सडकखण्डमा स्तरोन्नति भइरहेको छ । बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना–‘ए–एफ’ आयोजना कार्यान्वयन इकाइ भक्तपुरमार्फत साढे छ किलोमिटर सडक विस्तार भइरहेको जनाएको छ । यसमध्ये गत असोजको बाढीपहिरोले करिब डेढ किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि आयोजनाले त्यस क्षेत्रमा थप नयाँ डिजाइन गर्नुपर्ने जनाएको छ । अर्को डिजाइन नहुँदासम्म यो क्षेत्रमा हाल काम नहुने आयोजनाका कार्यक्रम व्यवस्थापक उषेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तारित सडकखण्डमा हाल नाली, टेवा पर्खाल, ग्याबिन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

एसियाली विकास बैङ्क (एडिबी)को लगानीमा बन्धन–भगवती निर्माण कम्पनीले रु १२ करोड (भ्याटबाहेक)मा ठेक्का सम्झौता गरेको थियो । २०८० साल चैत १३ गते ठेक्का सम्झौता गरी दुई वर्षमा सक्ने समयसीमा छ । हालसम्म योजनाको २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।