
मन्दिरको सामान्य अर्थ मनको कुनै दुर स्थान हुन्छ। निराकार ईश्वरको आराधना या ध्यान गर्ने स्थानलाई मन्दिर भनिन्छ। जहाँ देवी – देवताको पूजा हुन्छ, उही स्थानलाई ‘ देवस्थल ‘ मानिन्छ। जहाँ पूजा गरिन्छ उही पूजास्थल, जहाँ प्रार्थना हुन्छ उही प्रार्थनालय मानिन्छ। मन्दिरको शाब्दिक अर्थ घर हुन्छ र मन्दिरलाई द्वार या आलय पनि भन्ने गरिन्छ जस्तै – शिवालय।
प्राचीन कालदेखि नै कुनै न कुनै धर्ममा संलग्न मनुष्य सामुहिक रूपमा एक यस्तो स्थानमा प्रार्थना गर्थे, जहाँ पूर्णरूपमा ध्यान लगाउन, मन एकाग्र बनाई ईश्वरप्रति समर्पण भाव व्यक्त गर्न सक्थे जुन स्थान ऊर्जा र प्रार्थनाको केन्द्र प्राचीन मन्दिर हुन्थ्यो र त्यही कारण मन्दिर निर्माणमा वास्तु मुख्य रूपमा ध्यान राखिन्थ्यो। मन्दिरको मुख्य उद्देश्य लौकिक र अलौकिक या पराभौतिक सिद्धि, साधना, पूजा – अर्चना, भगवत्भक्ति हो। पञ्च महाभूत – आकाश, वायु, अग्नि, जल तथा पृथ्वी जो विकारी र विनाशी, स्थूल – साकार , सूक्ष्म – आणविक यी दुवै रुपमा उपस्तिथि भएजस्तै परमात्मा साकार र निराकार, सगुण र निर्गुण, व्यक्त र अव्यक्त, लौकिक र अलौकिक दुवै रुपमा उपस्थित मानिन्छ। यही सिद्धान्त बमोजिम वैदिक परम्परामा ईश्वरको पूजन दुई तरिका बाट गरिन्छ।
परमात्माका साकार स्वरुप र निराकार स्वरुप – चैतन्यशक्तिसत्ताको अंत:करणमा अनुभव गर्न सक्छौं, आँखाले देख्न सक्दैनौं, उहि परमात्मालाई निराकार भन्छौं। भावनाको क्षेत्रमा उदात्त मनोवृत्तिको रूपमा उहिलाई अनुभूती गर्छौं। निखिल ब्रह्माण्डका सृजनकर्ता – ” संचालक, महातत्व, दृश्यमान छैनन् , यहि प्रकार सद्भावना पनि देख्न सकिन्न।”
परमात्माको साकार रूपमा देख्न मुर्ति या प्रतिमा ध्यान साधनाका निमित्त एकाग्रताको लागी मनुष्यले देवताका मुर्ति / अवतार / प्रतिमामा मानवीय कल्पना द्वारा जहाँ श्रद्धा र सद्भावनाको समन्वय रहन्छ। उही कल्पनाकृति एक प्रतीक / मूर्ति या प्रतिमालाई मनुष्यको आध्यात्मिक चिन्तन, भक्तिभावना द्वारा पूजन कार्य, ध्यान, उपासना, प्रयोजन सिद्धिका निमित्त समर्पित भगवानका एक प्रकट प्रतिनिधित्वको उपयुुक्त माध्यम ईश्वरको साकार स्वरुप मान्दछौँ। निश्चितरूपमा निराकार परमात्मा पनि साकार रूपमा दृश्यमान स्वरूपमा निर्माण गरिएको देवी – देवताको विग्रह (मुर्ति ) लाई भगवानको साकार रुप मान्दछौँ। वस्तुतः उही स्वरुलाई राखिने घरलाई मन्दिर भन्दछौँ।
मन्दिरलाई देवालय, देवतनय, देवगृह, शिवालय, देवकुल आदि नामले सम्बोधित गरिन्छ। मन्दिरको भित्र एक गर्भगृह हुन्छ, जसको निर्माण वैदिक विधि शास्त्र संगत देवीदेवताका मूर्ति स्थापित गरिएको हुन्छ। सामान्यतया गर्भगृह आयतकार हुनेहुन्छ। मन्दिरको सबैभन्दा पवित्र स्थान गर्भगृहमा स्वच्छता र पवित्राको विशेष ध्यान राखिन्छ।
गर्भगृहको विज्ञान या आध्यात्मिक ” विश्वकर्मा वास्तु शास्त्र ” अनुसार मन्दिरका प्रत्येक हिस्सा मानव तनका विभिन्न अंग सम्मान हुने वर्णन शास्त्रमा पाइन्छ। मन्दिर मनुष्यको मनदेखि लिएर देहसम्म सम्बन्ध रहन्छ। गर्भगृह मानव मस्तक भृकुटी स्थानसँग जोडिएको पाइन्छ, जहाँ तिलक या टीका लगाइन्छ, उहि स्थानलाई ” आज्ञा चक्र ” पनि भनिन्छ। यही स्थानमा ईश्वरको सुक्ष्म रुप निवास गर्ने र परब्रह्म परमात्माका संतान आत्माका निवास स्थान शारीरको ऊपर भाग केन्द्र मानिएको पाइन्छ। यसै सन्दर्भमा भगवान श्रीकृष्णले गीतमा भन्नुभएको छ:
ईश्वर: सर्वभूतानां ह्रुद्देशेऽर्जुन तीष्ठति।
भ्रामयन्सर्वभूतानि यान्त्रारुढानि मायया।।
– श्रीमद्भागवत गीता अ. १८/ ६१
अर्थात् ईश्वर हरेकका हृदयमा विराजमान हुनुहुन्छ। यहाँ हृदयको आशय भौतिक देह या यन्त्र जस्तो शरीरमा आध्यात्मिक हृदय हुनु, यहीँ दिव्य नेत्रका भित्र ईश्वर निवास हुनेहुदा वास्तविकतामा पनि आन्तरिक मन्दिर र वाहिरी मन्दिर ले गर्भगृहको नै इशारा गर्दछ। मन्दिरको गर्वगृहको यहीँ वैज्ञानिक – आध्यात्मिक रहस्य भएको हुनाले मनुष्यका मनको अर्को स्थान मानिन्छ। मन्दिरको गर्भगृहमा भगवानको मूर्ति स्थापना गरिएको हुन्छ, जहाँ मनुष्यका मनसँग समन्वय र सामज्यस्य वातावरण स्थापित गर्दछ।
पूर्व वैदिक कालदेखिनै समाज धर्म शास्त्रमा खडा भइ ईश्वर प्रति आफ्नो समर्पण भाव व्यक्त गर्दै आजसम्म पनि त्यही संस्कार निरन्तर चलिरहेको छ। वास्तवमा मूर्ति / विग्रह या प्रतिमा हाम्रो विचलित मनको दिव्य स्वरुपसँग ध्यान केन्द्रित गर्न सहायक बन्दछ, यही व्यक्तिको भक्ति र सेवाको प्रारम्भिक आधार बन्छ। ईश्वरको निराकार स्वरूपलाई साकार स्वरुपमा देख्न, उनिलाई स्नान गराउन, उनिलाई भोजन अर्पित गराउन, फूल एवं आभूषणले सजाउन इच्छाले मनुष्यले कल्पनाकृति उनिको विग्रह अवतार पाएर भक्त भगवानको साथी, मार्गदर्शक, मित्र, रक्षक एवं प्रेम र स्नेह दाताका रूपमा अनुभव गर्न सक्ने एक आध्यात्मिक र धार्मिक ज्ञान प्राप्त गर्न आदर्श जीवनको एक हिस्सा मानिन्छ। जीवनलाई समुन्नत बनाउन, स्वाध्याय, मनको शुद्ध गर्न, ईश्वरीय संगति बनाई भक्ति एवं आत्मिक विकासको लागी एक मार्ग प्रदान गर्ने विद्यालय मन्दिर हो।
आध्यात्मिक जीवन होस् या भौतिक जीवन होस् , यी दुवै तत्वलाई संतुलन बनाइ राख्नका निमित्त व्यक्तिका लागि योग, ध्यान, साधना नै जीवन दर्पणको एक भक्ति मार्ग हो। भक्ति एक हृदयमा उत्पन्न भाव हो, जहाँ श्रद्धा र प्रेम उत्पन्न पृतिको दोश्रो नाम हो। जहाँ श्रद्धा र आदर्शले भाव जागृत हुन्छ, उही भावनालाई भक्तिको एक स्वतन्त्र मार्ग भनिन्छ।
प्रसिद्ध उदाहरण: भक्ति जो मीराले देखाएको थिइन् , एक मूर्तिसँग प्रेम गरि पुरा जीवन उनिको भक्तिमा व्यतीत गरिन। मीराले आफ्नो विवाह पश्चात् पनि माधुर्य भाव आफ्नो आराध्य कृष्ण ( गिरिधर गोपाल ) प्रति बन्निरहयो। माधुर्य भावमा रहि परमात्माको प्रेममा अटुट सम्बन्धको अनुगामिनी भक्ति भावनामा जीवन व्यतीत गरेकि मीराको प्रेममयी विरह, वेदना र व्याकुलता स्पष्ट दर्शित पाइन्छ। मनको निर्मल हुनुनै सबैभन्दा ठुलो भक्ति मानिन्छ। त्यसै कारणले मन्दिर जानु, विभिन्न देवी देवताका विग्रहको पूजन गर्नु सदियौँ देखि चलि आएको हाम्रा संस्कृति र सभ्यता अविच्छिन्न चलिरहेको छ।
मन्दिर प्रवेश समय सिँढीलाई झुकेर स्पर्श किन गर्छौं ?
मन्दिर प्रवेश गर्न पहिले केहि नियम पालना गर्छौं। मन्दिर प्रवेश समय सबैभन्दा पहिले मन्दिरको पहिलो सिँढीलाई झुकेर प्रणाम गर्दै स्पर्श गर्छौं, यो एउटा आस्था या प्रथा निभाउनुका पछि महत्त्वपूर्ण कारण छन्।
समर्पण र सम्मान – जब कसैलाई सम्मान दिन्छौं भने उनी सामुन्ने झुकेर नमस्कार / प्रणाम गर्छौं र फेरि पाउ स्पर्श गर्दै आशीर्वाद लिन्छौं। मान्यता यो छ कि: मन्दिर प्रवेश समय हामी झुकेर सीढि स्पर्श गर्छौ किनकि यो हाम्रो पहिलो चरण हुन्छ, ईश्वर प्रति सम्मान गर्नेको। ईश्वर प्रति भक्ति भाव व्यक्त गर्दै नकारात्मक चिन्तन छोडेर सकारात्मक आत्मचिन्तन गर्दै पवित्र मनले प्रवेश गर्दछौं।
व्यक्ति भित्र रहेको राग, द्वेष, अहंकार र घमण्ड समाप्त गर्दै मन्दिर प्रवेश द्वारको सीढि स्पर्श गर्दै ईश्वर समक्ष आरम्भमा झुकेर विकार नाश गर्दै कुनै पनि मनोकामना पूर्तिको प्रार्थना या निस्वार्थ भावले ईश्वर प्रतिको आत्मसमर्पण संकेत बुझ्न सकिन्छ। भावर्थ प्रवेश पहिले आत्मा एवं मनको निर्मल हुनु नै उत्तम भक्ति हुनेहुदा निर्मल मन नै ईश्वरीय तत्वको अनुभुति गर्न सक्दछ। शास्त्रीय मान्यता बमोजिम मन्दिरको द्वारको सीढि नै व्यक्तिको मुख्य मन्दिर या मुर्तिसँग समन्वयात्मक भुमिका रहन्छ। शास्त्रीय मान्यता यो छ कि मन्दिरको सीढिमा पनि देवी देवताको वास हुने, यसैले गर्दा पूजन कार्यको प्रथम चरण मानिन्छ।मन्दिर दर्शन पश्चात् सिँढीमा बस्ने
मन्दिर दर्शन पश्चात् सीढिमा बस्ने प्राचीन परम्परा एक विशेष उद्देश्यले बनाइएको हुन्छ। एक प्रसिद्ध शास्त्रीय श्लोक यस प्रकार छ-
अनायासेन मरणम् , बिना देन्येन जीवनम् ।
देहान्त तब सानिध्यम् , देहि मे परमेश्वरम् ।।
यस श्लोकका अर्थ :
– अनायासेन मरणम् अर्थात् कुनै शारीरिक समस्या या बिमारी भइ कष्टकर मृत्यु नभई सहज अवस्थामै हिड्डुल गर्दै व्यक्तिका प्राण त्याग गरेमा।
– बिना देन्येन जीवनम् अर्थात् परवशता या पराश्रयका जीवन नहोस् । कहिल्यै कसैको सहारा बन्न नपरोस् , व्यक्ति शारीरिक रूपमा कमजोर या पक्षाघात अर्थात् पूर्णत: असमर्थ भएर पर व्यक्तिमा आश्रित हुन नपरोस् भनी मनुष्य आफ्नो स्वास्थ एवं जीवनको प्रार्थना गर्न सीढिमा बस्छन्।
– देहांते तब सानिध्यम अर्थात् जब मृत्यु हुन्छ, तब भगवान सम्मुख हुन्छन्, जस्तै भीष्म पितामहको मृत्युको समय भगवान श्रीकृष्ण उनका सम्मुख खडा हुनुहुन्थ्यो र भीष्म पितामहले उनै भगवान कृष्णको दर्शन गर्दै प्राण त्याग गर्नुभयो, यही शास्त्रीय मान्यता छ।
– देहि मे परमेश्वरम् अर्थात् हे ! परमेश्वर यस्तो वरदान दिनुहोस् , सांसारिक भोग विलास देखि टाढा रहि राग – द्वेषबाट मुक्त रहि क्षुद्र एवं तुच्छ कामनाको परित्याग गरि आध्यात्मिक जीवनका लागि ईश्वर प्रति अत्यन्तै श्रद्धा, प्रेम, हृदयपूर्वक प्रार्थना गर्दछौं। भन्ने अर्को तर्फ सांसारिक पदार्थका निमित्त जस्तै :- घर, व्यापार, नोकरी, पुत्र, पुत्री, धन यानि सांसारिक सुख अर्थात् तृप्तिका एक संक्षिप्त र अस्थायी अनुभूतिका निमित्त गरिएको माग याचना हुन्छ, यसलाई प्रार्थना भनिदैन।प्रार्थना शब्दमा ‘ प्र ‘ को अर्थ विशेष अर्थात् श्रेष्ठ र ‘ याचना ‘ अर्थात् निवेदन हुन्छ, त्यसैले प्रार्थनाको अर्थ विशेष निवेदन भन्ने जनाउँछ। प्रार्थना एक धार्मिक एवं आध्यात्मिक क्रिया हो।
हामीले मन्दिर दायाँ बनाएर परिक्रमा गर्दा नकारात्मक एनर्जी अवशोषित हुनुका साथै मानसिक र शारीरिक स्वास्थ्य लाभ हुने हुदा यो एक धीमी प्रक्रिया मानिन्छ, जसले मस्तिष्कमा सकारात्मक ऊर्जाको विकास हुन्छ। मन्दिरमा प्रार्थना, ध्यान, कीर्तन, यज्ञ, आरती, शंख र घण्टीका ध्वनि एवं मन्त्र उच्चारणले एक ब्रह्माण्डीय नाद बन्ने हुनाले मन र मस्तिष्क नियन्त्रण भइ ध्यानपूर्ण बनादिनुका साथै यी ध्वनिको परावर्तित किरणका तरंगले मानव शरीरमा आवृति बनाउन सहायक हुने र बिस्तारै – बिस्तारै मन्दिरको वातावरणसँग सामञ्जस्य स्थापित हुन्छ।
कतिपय मन्दिरका भूमि धनात्मक ऊर्जाको केन्द्र बढी हुने र यस्तो किसिमको मन्दिरमा आकाशीय ऊर्जाको केन्द्रसँग स्थित हुनेहुदा व्यक्ति नाङ्गो खुट्टा हिड्नु पर्छ। जब व्यक्ति सिर झुक्याएर प्रणाम गर्दछ तब मूर्तिबाट परावर्तित हुने पृथ्वी र आकाशीय तरंग मस्तकमा पर्दछ , जस् कार्यले आज्ञा चक्रमा असर गर्ने हुनाले आत्मिक शान्ति र आन्तरिक शुद्धीकरणको सहायक हुन्छ। त्यसैले गर्दा व्यक्ति ईश्वरको सान्निध्य या सामीप्यमा रहिरहन श्रद्धा भावले आत्मसन्तुष्टिका निमित्त मन्दिर दर्शन गर्न जान्छन्।