६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन राष्ट्रिय निकुञ्‍जमा सैनिकले पिटेका युवकको मृत्यु



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् ।

राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो । ‘छुटेर आएदेखि नै सन्चो भएन भन्न थाल्यो, मैले गाउँकै मेडिकलहरूमा उपचार गराइरहेको थिएँ,’ विष्णुलालले भने, ‘हिजो (बुधबार) त अति नै आत्तियो, त्यसपछि भरतपुर अस्पताल ल्याएको थिएँ ।’ अस्पतालमै छोराको मृत्यु भएपछि विष्णुलाल अहिले विक्षिप्तजस्तै भएका छन् ।

राजकुमारसँगै गिरफ्तार भएका उनका एक साथी सन्तलाल प्रजाले आफूहरूलाई नियन्त्रणमा लिएपछि सेनाले कुटपिट गरेको बताए । सेनाले नियन्त्रणमा लिएकामा दुई जना महिला पनि थिए । उनका अनुसार महिलालाई केही नगरे पनि पुरुषहरूलाई कुट्ने, मुढा ओसार्न लगाउने र सय–सय पटक पुसअप गराउने सजाय सेनाले दिएको थियो । ती युवा गाउँ नजिकैको राप्ती नदी तरेर चितवन राष्ट्रिय निकुञ्जमा पुगेका थिए ।

निकुञ्जभित्रको ज्युँडी खोलामा घोंगी बटुल्दै गर्दा सैनिकले उनीहरूलाई समातेको थियो । सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको स्वीकारे पनि कुटपिट नगरेको दाबी गरेको छ । ‘निकुञ्जकै एरियामा आएपछि समाएर निकुञ्ज प्रशासनलाई जिम्मा लगाएको हो, कुटपिट भएकै छैन,’ निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको बटुक दल गणका प्रमुख अरुण श्रेष्ठले भने, ‘उहाँहरूले यतिका दिनपछि किन यस्तो आरोप लगाउनुभएको हो, थाहा भएन ’

मृतकका परिवारले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमक्ष घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले पीडितको मागअनुसार शवको पोस्टमार्टम गर्ने जनाएको छ । ‘कुटपिट भएको छैन, त्यो पोस्टमार्टम रिपोर्टले नै बताउला,’ गणपति श्रेष्ठले भने, ‘हामीलाई लगाएको आरोप निराधार हो, महिनामा चार सय जना मान्छे समाएका छौं तर कसैलाई कहिल्यै कुटपिट हुने गरेको छैन ।’ कान्तिपुर दैनिक