कर्णाली। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जनताको माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिद्वारा आज सुुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै महासचिव गुरुङले अहिले मुलुकमा थुप्रैखाले समस्या देखिँदा जनतामा निराशा छाएको बताउनुभयो। सहकारी, मिटरब्याजी पीडित, शिक्षक, कर्मचारी, चिकित्सक स्वास्थ्यकर्मीहरुका समस्या एकैपटक बाहिर आउनुमा सरकारको कार्यशैली जिम्मेवार भएको उहाँले आरोप लगाउनुभयो ।
मुलुकको विकासका निम्ति स्थिरता र राजनीतिक स्थायित्व आवश्यक रहेको महासचिव गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “समस्याका विषयमा प्रतिपक्षीको हिसाबले माओवादी केन्द्रले सदन र सडक दुवैबाट खबरदारी गर्दै आएको छ । अझै सरकारले मुलुकमा देखिएका सबै मुद्दाका बारेमा बेलैमा पुनर्विचार गर्नुपर्दछ । रासस










